• होमपेज
  • राजनीति
  • सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादी केन्द्रको निर्णय

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादी केन्द्रको निर्णय

  • शनिबार, फाल्गुन २०, २०७९
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादी केन्द्रको निर्णय

धनगढी    –   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत नदिने भएको छ। माओवादीको प्रदेश संसदीय दलको बैठकले नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहलाई विश्वासको मत नदिन निर्णय गरेको हो।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले यथास्थितीमा विश्वासको मत दिने अवस्थामा हामी छैनौँ, लिखित प्रतिबद्धता नभएसम्म अहिलेका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने गरी स्पष्ट रुपमा निर्णय भएको हो।’

आज बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने दाबी गरेको छ। तर यसका लागि कांग्रेसले संवादको वातावरण नबनाएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको हो।

शाहले माओवादीको मत पाएनन् भने विश्वासको मत जुटाउन समस्या हुने छ। नागरिक उन्मुक्तिले समेत लिखित प्रतिबद्धता मागेपछि विश्वासको मत पाउन मुख्यमन्त्री शाहलाई झनै सकस पर्ने देखिएको हो। उनलाई नेकपा एमाले या नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिएनन् भने पद नै खारेज हुन सक्छ।

यसअघि विश्वासको मत जुटाउन नसक्दा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले महिनादिनमै कुर्सी छाड्नुपरेको थियो। एमाले अहिले प्रतिपक्षी कित्तामा छ। रावलपछि गत माघ २६ गते मुख्यमन्त्री बनेका शाहले भोलि (आइतबार) विश्वासको मत लिने तयारी गरेका छन्। तर यथास्थितीमा माओवादी केन्द्र र नागरिक उन्मुक्तिले कुनै पनि हालतमा विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन्।

चर्चामा

सम्बन्धित समाचार