• होमपेज
  • राजनीति
  • रामचन्द्र पौडेलले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुहुन्नः एमाले नेता

रामचन्द्र पौडेलले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुहुन्नः एमाले नेता

  • शुक्रबार, फाल्गुन १९, २०७९
रामचन्द्र पौडेलले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुहुन्नः एमाले नेता

काठमाडौं  –   नेकपा एमालेका नेता एवं पूर्वमन्त्री केशव बडालले राष्ट्रपतिमा संविधान निर्माता सुवासचन्द्र नेम्बाङलाई स्वविवेकीय मत आउने दाबी गरेका छन् ।
‘वर्तमान संविधान निर्माणमा हाम्रो पार्टीका उम्मेदवार सुवासचन्द्र नेम्बाङले मूल भूमिका निर्वाह गर्नुभएको छ । उहाँले संविधानको मर्म बुझ्नुभएको छ । त्यसैले जुनसुकै दलको भए पनि ८८१ मतदाताले राष्ट्रपतिमा स्वविवेक प्रयोग गर्ने अवस्था छ । राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुन्छ । पार्टीको ह्वीप लाग्दैन । उहाँलाई मतदान गर्दा विभिन्न जात, जाति, भाषा, धर्म, संस्कृतिको पनि सम्मान हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै बडालले भने ।
राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेल विगतमा निष्पक्ष भूमिका निर्वाह गर्न चुकेको आरोप पनि उनले लगाए । बडालले भने, ‘रामचन्द्रजीप्रति व्यक्तिगत रुपमा मेरो सम्मान छ । उहाँ लामो संघर्ष गरेको र त्याग तपस्या भएको व्यक्तित्व हो । तर निष्पक्षताको सवालमा उहाँ चुक्नुभएको छ । २०५४ सालमा सभामुख हुँदा उहाँले हाम्रो पार्टी विभाजन गर्न ४० प्रतिशत सांसद नपुग्ने भएपछि चारपाँच घन्टासम्म लम्बाएर दोलखाको लादुकमा हेलिकप्टर पठाएर वाङ्छे शेर्पालाई ल्याउनुभयो, म्याग्दीमा हेलिकप्टर पठाएर अर्का सांसद ल्याउनुभयो । सभामुख राजनीतिक दलको हुँदैन, यो तटस्थ पद हो । त्यस घटनाले उहाँलाई निष्पक्ष भूमिका निर्वाह गर्न नसक्ने व्यक्तिका रुपमा प्रमाणित गरिसकेको छ ।’
एमाले नेता बडालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्थिर नेता भएको आरोप पनि लगाए । उनले थपे, ‘दुई वर्षयता उहाँले बोल्नुभएका कुरा एक ठाउँमा राखेर हेरे सबै कुरा छर्लंग भइहाल्छ । त्यसैले उहाँले के भन्नुभयो भन्ने तिर जानु आवश्यक छैन । वर्तमन संविधानको मूल रक्षक र विकास र समृद्धिका निम्ति योगदान गर्ने पार्टी एमाले मात्रै हो ।’

चर्चामा

सम्बन्धित समाचार