बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ३२ महिनापछि काठमाडौं-बेइजिङ उडान सुरु

३२ महिनापछि काठमाडौं-बेइजिङ उडान सुरु

  • बुधबार, माघ ४, २०७९
३२ महिनापछि काठमाडौं-बेइजिङ उडान सुरु

काठमाडौँ — कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएको काठमाडौं–बेइजिङ सिधा उडान ३२ महिनापछि पुन: सुरु भएको छ । चीनले आफ्नो मुलुकमा लगाएको यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि हिमालय एयरलायन्सले बेइजिङ उडान सुरु गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

नेपालको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालि र तिब्बत एभिएसन डेभलपमेन्ट एज्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको संयुक्त लगानीमा ८ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा माघ २८ देखि हरेक शनिबार नियमित उडान गर्ने भएको छ ।

काठमाडौंबाट चीनको राजधानीका लागि सिधा उडान गर्ने हिमालय एक मात्र वायुसेवा हो । साढे ४ घण्टाहाराहारीको यो रुटमा पर्यटक, व्यापारी र विद्यार्थीहरूको आवागमन हुने गरेको छ । चीनको कुन्मिङ र ग्वाङझाउबाट काठमाडौं जोड्ने चिनियाँ वायुसेवाले राजधानी जोड्ने सिधा उडान हालसम्म गरेका छैनन् ।

‘मंगलबार रिअपरेसन उडान भयो, नियमित उडान फेब्रुअरीदेखि हरेक शनिबार काठमाडौं–बेइजिङ–काठमाडौं उडान हुने छ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘यो रुटमा १ सय ४४ यात्रु क्षमताको एयरबस ३१९ जहाज उडाउछौं ।’

यो विमान नेपालको उत्तरी भेगबाट तिब्बत हुँदै डिजाइन गरिएको नेपाल र चीन जोड्ने ट्रान्स हिमालय रुट हुँदै उड्छ । ल्हासा हुँदै बेइजिङ पुग्ने यो रुट बंगलादेश हुँदै जाने घुमाउरो रुटको दाँजोमा करिब २ घण्टा छोटो पर्छ ।

यो रुटमा उड्ने एयरबस ए३१९ विमानमा एयरबस ए३२० को दाँजोमा अक्सिजनको उपलब्धता बढी आवश्यक पर्ने भएकाले योबाहेक अरु विमान यो रुटमा उडानयोग्य मानिँदैन । हिमालयका १ सय ८० सिट क्षमताका एयरबस ए३२० मलेसिया, कतार, यूएईलगायतका गन्तव्यमामात्रै उड्छन् ।

कोरोना महामारीका कारण नेपाल उडान बन्द गरेका ६ वटा चिनियाँ वायुसेवामध्ये यसअघि मंसिर १३ बाट साइना साउर्दनले ग्वाङझाउबाट र पुस २४ देखि एयर चाइनाले छेन्दुबाट उडान सुरु गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार