
काठमाडौं : नेकपा एकीकृत समाजवादीले सरकारमा जाने वा नजानेबारे आज निर्णय गर्ने भएको छ। पार्टीको शनिबार भएको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्नेक्रम सुरु भएको र सरकारबारे आइतबार निर्णय हुने नेताहरूले बताएका छन्।
सरकारबारे ‘पर्ख र हेर’को नीति लिएको समाजवादीले स्थायी कमिटी बैठकबाट सरकारमा सहभागिताबारे निर्णय गर्ने जनाइएको छ। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागिताबारे अहिलेसम्म निर्णय भइनसकेको बताए। ‘केही दिनमै सरकारमा जाने नजानेबारे धारणा बनाउँछौं’, खतिवडाले भने।’
सरकारमा जानेबारे पार्टीमा दुई थरी मत छन्। एकीकृत समाजवादीका सांसद तथा नेताहरुले नयाँ सत्ता गठबन्धनमा सामेल हुनुपर्ने भन्दै अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाललाई दबाब दिइरहेका छन्। सांसदहरू सरकारमा गएर पार्टीलाई बलियो बनाउनुपर्ने मत राख्दै आएका छन्। तर, चुनाव हारेका र सांसद नरहेका नेताहरू भने सरकारमा नगई पार्टी निर्माणमा लाग्नुपर्ने मत राख्दै आएका छन्।
स्थायी कमिटी बैठकमा अध्यक्ष माधव नेपालले समयमा विचार नगर्दा राष्ट्रिय राजनीतिमा अप्रत्यासित घटना भएको भन्दै पार्टीले ठोस निर्णय गर्नुपर्ने बताएका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि सरकारलाई दिने समर्थन र सहभागिताको विषयलाई टुंगो लगाउन बैठक बोलाइएको हो। एकीकृत समाजवादीभित्र गठबन्धनमा आबद्ध हुन नसके सांसदहरु जोगाउन नसकिने चिन्ता देखिएको पार्टीभित्र नेताहरु बताउन थालेका छन्। नेताहरुले एमालेसँग मिलेर नगए यस अगाडि पाएका धेरै पदपनि गुमाउनुपर्ने भन्दै नेतृत्वसँग चिन्ता व्यक्त गरेका छन्।
एकीकृत समाजवादी पार्टी गत मंसिर ४ गते भएको निर्वाचनमा राष्ट्रिय पार्टी बन्न सकेको छैन। कतिपयले एकीकृत समाजवादीका नेतृत्वले पार्टी विघटनको औचित्य पुष्टि गर्न नसकेकाले यस्तो अवस्था आएको बताएका छन्। एमाले नेतृत्वमा नयाँ सत्ता गठबन्धनमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी रहेका छन्।
यता माधव नेपाललाई राष्ट्रपतिसहित नेकपा एससँग पार्टी एकताबारे भइरहेको चर्चालाई भने उपमहासचिव प्रदीप ज्ञवालीले खारेज गरेका छन्। एकीकृत समाजवादी नेकपा एमाले समाहित हुने र नेपालले राष्ट्रपतिको आकांक्षा राखेकाले उनलाई बनाउने चर्चा भएपछि ज्ञवालीले चर्चा अनुमान, अतिरञ्जना र हल्ला मात्र भएको प्रष्ट पारेका छन्। उनले सरकारको समर्थनको दायरा विस्तार गर्नमा मात्र छलफल चलिरहेको धारणा राखेका हुन्। पार्टीभित्र कार्यकर्ताले विरोध गर्न थालेपछि ज्ञवालीले सङ्कटका बेला सतिसाल झैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय नहुने प्रष्ट पारे।
