शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश २
  • राजनीतिक समितिको बैठकपछि मात्र जसपा मधेस प्रदेशमा संसदीय दलको नेता

राजनीतिक समितिको बैठकपछि मात्र जसपा मधेस प्रदेशमा संसदीय दलको नेता

  • शनिबार, पुस १६, २०७९
राजनीतिक समितिको बैठकपछि मात्र जसपा मधेस प्रदेशमा संसदीय दलको नेता

जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठकपछि मात्र मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको छ । पार्टीको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते काठमाडौँमा बस्नेछ । मधेस प्रदेशका प्रदेश सभाका सदस्यहरू पार्टी बैठकमा सहभागी हुने भएकाले २०–२१ गते मात्र संसदीय दलको नेता चयन हुने बताइएको हो ।

आजदेखि जसपाको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । यो बैठकपछि राजनीतिक समितिको बैठक सुरु हुनेछ । प्रदेश सभामा सदस्य रहेका लालबाबु राउत र मनिष सुमन कार्यकारिणी समिति सदस्य हुन् । उनीहरू बैठकमा व्यस्त रहने भएका कारणले नेता चयन प्रक्रिया लम्बिने भएको छ ।

संसदीय दलको नेता चयन गर्नका लागि लालकिशोर साहको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरिएको छ । सो समितिले आफ्नो चुनावी प्रक्रिया सुरु गरिसकेको छ । संसदीय दलको नेता सर्वसम्मतिले चयन हुने सम्भावना छ । सहमति नभए मात्र चुनावमा जाने जसपाका प्रदेश सभा सदस्य सञ्जय यादवले बताए ।

उनले भने, ‘संसदीय दलको नेता २०–२१ चयन हुने सम्भावना छ त्यसअघि नेताहरूको बीचमा सहमति बनाउने प्रयास हुनेछ, सहमति नभए चुनावबाट टुङ्गो लगाइनेछ ।’ पार्टी अध्यक्ष उपेन्द्र यादव जनकपुर गएर प्रदेश सभाका सदस्यहरूसँग छलफलसमेत गरेका थिए । छलफलमा उनले प्रदेश सभाका सदस्य सबैजना संसदीय दलका नेताका लागि योग्य रहेको तर त्यसमध्ये एकजना मात्र नेता हुने प्रावधान रहेकाले सहमतिमा चयन गर्न सुझाव दिएका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘तपाईंहरु सबैजना संसदीय दलका नेताका लागि सक्षम हुनुहुन्छ । तर एकजना मात्र चयन गर्ने प्रावधान भएकाले सहमतिमा तपाईंहरुले नै टुङ्ग्याउनुस् । यसमा केन्द्रबाट कुनै हस्तक्षेप हुनेछैन ।’

प्रदेश सभाका सदस्य राजकुमार गुप्ताले प्रदेशका केही सांसद केन्द्रमा सुरु भएको बैठकमा सहभागी हुनुभएको कारणले उनीहरूको अनुपस्थितिमा सहमतिका लागि छलफल हुने सम्भावना कम रहेको बताए । नेताहरू आन्तरिक छलफलमा रहेकाले सहमतिमै टुङ्गो लाग्नेमा आफू विश्वस्त रहेको बताउँदै उनले अन्तिममा सहमति नभए चुनाव प्रक्रियाबाट टुङ्गो लगाउने बताए ।

यता, काठमाडौँमा सुरु भएको कार्यकारिणी समितिको बैठक र त्यसपछि हुने राजनीतिक समितिको बैठकमा पनि मधेस प्रदेशको बारेमा छलफल हुने बताइएको छ । मधेस प्रदेश सरकारको नेतृत्व जसपाको भागमा पर्ने सम्भावना रहेकाले संसदीय दलको नेता बन्नेहरूको दौडधुप बाक्लिएको छ । लालबाबु राउत, रामअषिश यादव, सरोज यादव, राजकुमार गुप्ता, नवलकिशोर साह, मनिष सुमनलगायतले संसदीय दलका नेताको आकाङ्क्षी हुन् ।

चर्चामा

सम्बन्धित समाचार