बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • दार्चुलाका बाढीपहिरो पीडितले सरकारी पक्षबाट पाएनन् सहयोग

दार्चुलाका बाढीपहिरो पीडितले सरकारी पक्षबाट पाएनन् सहयोग

  • बुधबार, भदौ २९, २०७९
दार्चुलाका बाढीपहिरो पीडितले सरकारी पक्षबाट पाएनन् सहयोग

धनगढी– गत शुक्रबार रातिको अविरल वर्षापछिको बाढीपहिरोले विस्थापित भएका दार्चुलाका स्थानीयले सरकारी पक्षबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन्। महाकाली नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का बाढीपहिरो पीडितले सरकारी सहयोग नपाएको बताएका हुन्।
महाकाली नगरपालिका वडा नम्बर ४ मा १७ परिवारको घर लास्कु खोलाले बगाएको थियो। तर सरकारी निकायबाट कुनै सहयोग नपाएको बाङ्गाबगरका पहिरो पीडित अमर महराले बताए। ‘बाङ्गाबगरका पीडितले आफन्तसँग खाना मागेर खानुपरेको छ। बस्न पनि निकै समस्या भएको छ’ उनले भने।
अविरल वर्षाले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा भौतिक तथा मानवीय क्षति गरेको थियो। बाढीपहिरोमा महाकाली नगरपालिकामा ६२ तथा नौगाड गाउँपालिकामा २९ घरमा पूर्ण क्षति पुगेको थियो। यस्तै मानवीय क्षतितर्फ ५ जनाको मृत्यु, १० जना बेपत्ता र ८ जना घाइते भएका थिए।
तर, घटना घटेको ५ दिनसम्म पनि आर्थिक तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्न सकिएको छैन। महाकाली नगरपालिकाको मल्लासेला, मैखोली, मुल्ला, घट्टेखोला, बडाली गाउँ डुङरी र बाङ्गाबगरमा धेरै क्षति भएको स्थानीयले बताएका छन्। नगरपालिका र रेडक्रसका अधिकारी मंगलबार मात्रै क्षतिको विवरण लिन आएको मल्लासेलामा पसल गर्दै आएका झुस्कुका स्थानीय पदमराज भट्टले बताए।‘मंगलबार मात्रै नगरपालिकाको मेयरको टिम र रेडक्रसका मान्छे क्षतिको विवरण लिन आएका छन्,’ उनले भने, ‘क्षति त निकै धेरै भएको छ। सडक र बिजुली छैन भने घर, पसल र गाडी बगेका छन्।’
बाढीको कारण लास्कु खोलाले थुनेको महाकाली नदी अझै पूर्णरुपले खुलाउन नसकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। बाङ्गाबगर क्षेत्रमा अस्थायी तटबन्ध बनाउने र काठे पुल निर्माण गरी आवतजावत सहज बनाउने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

बाढी पीडित परिवारले भने राहत तथा खानेबस्ने प्रवन्ध नगरिएको गुनासो गरेका छन्। तर महाकाली नगरपालिका मुल्ला र मैखोली गाउँमा राहत वितरण गर्न मंगलबार पुगेको बताइएको छ। बजार क्षेत्रका पीडितलाई तत्काल बस्न र खान राहत उपलब्ध गराएको महाकाली नगरपालिकाकी उपप्रमुख दुर्गाकुमारी खत्रीले बताइन्। ‘हामीले बजारमा त्यहीँ दिन बस्ने र खाने प्रवन्ध मिलाएका थियौँ,’ उनले भने, ‘बरु मुल्ला र मैखोली हिजो मात्रै पुगेका छौँ। हामी तथ्याङ्क लिने र सहयोग गर्न लागिपरेका छौँ।’

अविरल वर्षाको कारण महाकाली नगरपालिकाको मुल्ला, मैखोली, बाङ्गाबगर, मल्लो सेला, दल्लेक, घट्टेखोला, डुङरी र बडाली गाउँमा क्षति पुगेको छ। नौगाड गाउँपालिकाको भने वडा नम्बर १ र २ मा पहिरो गएर क्षति भएको गाउँपालिकाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्थानीय तहबाट क्षतिको पूर्ण विवरण आएपछि थप राहत दिन सकिने जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार