बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका आमा बाटोमै बच्चा जन्माउदै

बाजुराका आमा बाटोमै बच्चा जन्माउदै

  • सोमवार, भदौ २०, २०७९
बाजुराका आमा बाटोमै बच्चा जन्माउदै

लक्ष्मीराज पाध्याय — बाजुराको हिमाली गाउँपालिका १ को बामु बस्ने नानी रोकायाले शुक्रवार बाटोमै बच्चा जन्माईन् । सुत्केरी ब्यथा लागेपछी ३ घण्टा टाढा रहेको बामु आधारभुत स्वास्थ्य सेवा केन्द्रमा लग्दै गर्दा बाटामै बच्चा जन्माईन् ।
स्वास्थ्य संस्था टाढा भएकाले लिदै गर्दा उनले बाटोमा बच्चा जन्माउनु परेको हो । बामु स्वास्थ्य सेवा केन्द्रमा लगेपनि एक जना अहेव मात्र कार्यरत छन् । अहेव बाट प्रसुतिका का सेवाहरु नहुने भएकाले गाउँमा नानी रोकाया जस्तै गर्भवती महिलाहरू बाटो, जंगल, खेतवारि घरमा बच्चा जन्माउने गरेको वडा अध्यक्ष जोख्या भण्डारीले वताए । प्रसुति सेवा भएको बिच्छयाँ स्वास्थ्य चौकी भने एकदिनको दुरीमा रहेको छ ।
हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ बर्षिय पार्वती बुढाले स्वास्थ्य चौकी आउने बेला बाटोमै बच्चा जन्माईन् । वडा नम्बर १ मा रहेको बिच्छयाँ स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिन जाने बेला बिच बाटोमै पार्वतीले छोराको जन्म दिईन् ।
गाउँबाट स्वास्थ्य चौकी निकै टाढा भएकाले स्वास्थ्य चौकि लिदै गर्दा बाटोमै पार्वतीले छोरा जन्माएको बिच्छयाँ स्वास्थ्य चौकिका ईन्जार्च विमला पाण्डेले वताईन् । संयोगबस स्वास्थ्यकर्मी गाउँमा स्वास्थ्य शिक्षा र उपचार गर्न जान लागेका थियौ, बाटोमै व्यथा लागेर छट्पटाइरहेकि थिईन्, वाटोमै सुत्केरी गराउन सहयोग गरेको अनमि सरिता घिसिङ्गले वताईन् । पार्वतीले पहिलो बच्चा भने घरमै जन्माएकि थिईन्, दोस्रो बच्चा बाटोमा जन्माएकि हुन् ।
त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी ३५ बर्षिय कार्तिका बिकले एक महिना पहिला बाटोमा बच्चा जन्माएकि छन् । सुत्केरी ब्यथा लाग्ने बित्तिकै आफन्तले स्वास्थ्य केन्द्रमा लिदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानिय बल बहादुर बिकले वताए ।
यी त केही उदाहरण हुन्, बाजुराको दुर्गम गाउँका आमाहरु बाटोमा र घरमा बच्चा जन्माउने संख्या निकै रहेको बिच्छयाँ स्वास्थ्य चौकिका ईन्जार्च विमला पाण्डेले वताईन् । अझ बिच्छयाँका गाउँहरु स्वास्थ्य चौकि भन्दा निकै टाढा रहेका छन्, । स्वास्थ्य चौकि पुग्दा सम्म त धेरैले बाटोमै बच्चा जन्माउने गरेको विमलाले थपिन् । हिमाली गाउँपालिका १, २ र ३ वटा वडा साविकको बिच्छयाँ गाबिस हो । बाजुराको ३५ प्रतिशत भुगोले यो क्षेत्रले ओगटेको छ ।
बिच्छयाँका कोट, कोटि गाउँ, नाति खोला, रम्दी, बामु, युना, बौडी गाउँ स्वास्थ्य चौकि बाट २ घण्टा टाढा देखि एक दिनको दुरिमा रहेका छन् । गुम्बा, लाम्पाटा गाउँ भने बिच्छयाँ स्वास्थ्य चौकी बाट दुईदिनको दुरीमा रहेका छन् । बिच्छयाँ स्वास्थ्य चौकी बाट १ घण्टा भित्र पुग्ने टिन र नेटा गाउँ मात्र हो, अरु सबै स्वास्थ्य चौकीको पहुँच भन्दा टाढा रहेको स्वास्थ्य चौकिले जनाएको छ । बाटोमा बच्चा जन्माउने मात्र नभई स्वास्थ्य चौकी ल्याउन पनि निकै समस्या हुने गरेको हिमाली गाउँपालिका ३ का वडा अध्यक्ष मंगल रोकायाले वताएका छन् ।
वडानम्बर ३ गुम्बा र लाम्पाटा गाउँका महिलाले कहिले स्वास्थ्य चौकीमा बच्चा नजन्माएको स्थानिय जगत बहादुर लामाले वताएका छन् । काम गर्दा गर्दै खेतबारी, जंगल, बाटोमै बच्चा जन्माउने गरेका छन्, हाम्रा लागि त भगवान भरोसा रहेको लामाले वताए । स्वास्थ्य चौकी पुग्न २ दिन लाग्छ बाटो पनि निकै अफ्ठयारो रहेको उनले वताएका छन् । नियमित गर्भजाँच निकै टाढाको बिषय बनेको छ ।
बाजुरामा ३ बर्ष यता ८ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले वताए । अर्को सुत्केरी भएको बेला आराकम गर्नुपर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रमले सुत्केरी महिला ज्यान गुमाउने गरेको उनले वताए । बाजुरामा तथ्याङ्क कुनै नभएपनि एक महिना एक देखी दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खडकाले वताए ।
हुनत सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तर पनि सुत्केरी महिला मर्नेक्रम रोकिएको छैन । बाजुराका आमाहरुको प्रजनन स्वास्थ्य निकै बेजोग रहेको छ । कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँच बाट बिमुख जस्ता समस्याले आमाहरुको ज्यान निकै जोखिम बन्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार