• होमपेज
  • समाचार
  • आतंकवादी भनिएका व्यक्ति ‘सुन चोर’ भएको खुलासा, बित्थामा १ घण्टा विमान होल्ड

आतंकवादी भनिएका व्यक्ति ‘सुन चोर’ भएको खुलासा, बित्थामा १ घण्टा विमान होल्ड

  • बुधबार, साउन १८, २०७९
आतंकवादी भनिएका व्यक्ति ‘सुन चोर’ भएको खुलासा, बित्थामा  १ घण्टा विमान होल्ड

काठमाडौंबाट भारतको मुम्बई उड्न लागेको नेपाल वायुसेवा निगमको जहाज रोकेर प्रहरीको विशेष ब्यूरोले सुन चोरीमा संलग्न आरोपीलाई पक्राउ गरेको छ । आतंकवादमा संलग्न व्यक्ति मुम्बई उड्न लागेको भन्दै विशेष ब्यूरोको सूचनाको आधारमा विमानस्थल प्रहरीले जहाज रोकेको थियो । तर, उनी आतंकवादी नभएर सुन चोरीमा संलग्न व्यक्ति भएको खुलासा भएको हो ।

विमानस्थलबाट कैलाली घर भएका सन्तोष लामिछानेलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता टेक प्रसाद राईले रातोपाटीलाई बताए । लामिछाने आतंकवादमा संलग्न व्यक्ति होइनन् । उनीमाथि पंजाबमा एकजना साहुको घरबाट सुन चोरेको आरोप छ ।

बित्थामा ‘सुन चोर’ समात्न प्रहरीले १ घण्टा जहाज होल्ड गरेको छ । भारतको मुम्बई जान लागेको वायुसेवाको विमान चेकजाँचका कारण एक घण्टा रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए ।

विशेष ब्यूरोको एउटा टोली कैलालीमा सुन चोरीको अनुसन्धानका लागि गएको छ । सो टोलीले भारतमा सुन चोरेर आएका लामिछाने मुम्बई उड्न लागेको सूचना दिएको एकजना उच्च प्रहरी अधिकारीले बताए । विशेष ब्यूरोले आतंकवाद सम्बन्धी गतिविधि र नक्कली नोटबारे अनुसन्धान गर्दै आएको छ । तर, पछिल्लो समय ‘सुन चोरी’ पनि अनुसन्धान गर्न थालेपछि प्रहरी अधिकारीहरु नै आश्चर्यमा परेका छन् ।

विशेष ब्यूरोका प्रमुख डीआईजी अशोक सिंह हुन् । सुन चोरीमा संलग्न आरोपीलाई पक्राउ गर्न उनी आफैं विमानस्थल पुगेका थिए ।

चर्चामा

सम्बन्धित समाचार