शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बालिका हत्या प्रकरण : न्याय माग्ने महिला प्रहरी नियन्त्रणमा, युट्युबर पनि पक्राउ

बालिका हत्या प्रकरण : न्याय माग्ने महिला प्रहरी नियन्त्रणमा, युट्युबर पनि पक्राउ

  • बुधबार, चैत्र २, २०७८
बालिका हत्या प्रकरण : न्याय माग्ने महिला प्रहरी नियन्त्रणमा, युट्युबर पनि पक्राउ

विराटनगर — डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ । मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो ।

राजमार्ग अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । पक्राउ परेकाहरुमा २ जना युट्युबर पनि पक्राउ रहेको प्रहरी स्रोतले बताएको छ ।

यद्यपि प्रहरी उपरीक्षक जिसीले युट्युबरको विषयमा आफूलाई जानकारी नभएको बताए । सडक अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको बताउँदै उनले मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा टुंगो नभएको बताए ।

न्याय माग्दै आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेपछि अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । ‘१८ महिने नानीको बलात्कारपछि हत्या भएको छ, दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय माग्दै प्रदर्शन गर्दा प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको छ,’ महिला अधिकारकर्मी शुशीला उप्रेतीले भनिन्, ‘प्रहरीको व्यवहार पीडितमैत्री भएन ।’ उनले न्याय माग्ने महिलाहरुलाई विनाशर्त रिहा गर्नुपर्ने बताइन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । गत शुक्रबार साँझ घरबाट हराएकी नाबालिकालाई आफन्तले घर नजिकैको झाडीमा फेला पारेका थिए ।

गम्भीर अवस्थामा भेटिएकी बालिकाको राति १२ बजे नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो । बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले आरोपमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको थियो । दुई जना दाजुभाइ हुन् ।

अजय भने सुन्दरहरैंचामा १३ फागुन २०७७ मा दुई वर्षीया बालिकाको अपहरण आरोपमा पक्राउ परेका थिए । आरोप पुष्टि नभएपछि १६ मंसिर २०७८ मा जिल्ला कारागार, मोरङबाट छुटेका थिए । एउटा घटनाबाट उन्मुक्ती पाएको दुई महिनापछि उनकै योजनामा नाबालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले बताएको छ ।अनलाइनखबरबाट ।

चर्चामा

सम्बन्धित समाचार