बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • प्रशासनको निर्देशन : सिट क्षमताभन्दा बढी यात्रु नराख्नू, मास्क नलगाउनेलाई प्रवेश नदिनू

प्रशासनको निर्देशन : सिट क्षमताभन्दा बढी यात्रु नराख्नू, मास्क नलगाउनेलाई प्रवेश नदिनू

  • बुधबार, पुस २८, २०७८
प्रशासनको निर्देशन : सिट क्षमताभन्दा बढी यात्रु नराख्नू, मास्क नलगाउनेलाई प्रवेश नदिनू

काठमाडौं  — काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ। कोरोना भाइरस जोखिम बढेको भन्दै प्रशासनले आदेश जारी गर्दै सिट क्षमताभन्दा बढी यात्रु नराख्न सवारी धनी तथा चालकलाई आग्रह गरेको हो।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि बुधबारबाट कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिस अनुसार स्मार्ट लकडाउन गरेको हो। हाल काठमाडौंमा ३५२१, ललितपुरमा १०९० र भक्तपुरमा ६९९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। तीनवटै जिल्लाका प्रशासनले यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिन निर्देशन दिएको छ।

जारी आदेशमा भनिएको छ, ‘सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नु पर्ने।’

बैठकले उपत्यकामा सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। प्रशासनले सार्वजनिक स्थानमा प्रवेश गर्दा माघ ७ गतेदेखि कोभिड-१९ विरुद्धको खोप लगाएको कार्डसाथमा राख्नुपर्ने र खोप कार्ड हेरेर मात्र प्रवेश दिने निर्णय गरेको छ। माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भएपनि हुने) अनिवार्य गर्ने निर्णय भएको छ।

अनुगमनका क्रममा आदेशको अवज्ञा भएको पाइएमा संक्रमक रोग ऐन, २०२० अनुसार कारवाही हुने प्रशासनले चेतावनी दिएको छ। जारी आदेशमा भनिएको छ, ‘कोभिड-१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसिसि) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, संक्रामक रोग ऐन,२०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी बुधबारदेखि अर्को सूचना नभएसम्म लागू हुने आदेश जारी गरिएको छ।’

चर्चामा

सम्बन्धित समाचार