बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रवास
  • काठमाडौँमा छापाखाना सञ्चालकको हत्या गरेर १२ वर्ष भारतमा

काठमाडौँमा छापाखाना सञ्चालकको हत्या गरेर १२ वर्ष भारतमा

नक्कली नागरिकता बनाएर स्वदेश फर्केपछि पक्राउ

  • मङ्लबार, कार्तिक १६, २०७८
काठमाडौँमा छापाखाना सञ्चालकको हत्या गरेर १२ वर्ष भारतमा

काठमाडौँको पुतलीसडकमा छापाखाना चलाउँथे दोलखा घर भएका खिमबहादुर सिवाकोटी ‘अर्जुन ।’ २०६१ पुस २२ मा छापाखानामा उनको हत्या भयो । अर्जुनले चलाएको एकता प्रेस अगाडि बुलेट मोटरसाइकल पार्किङ गर्न आएका दुईजना युवासँग विवाद हुँदा उनीहरूले अर्जुनलाई कुटेर हत्या गरे ।

हत्यामा संलग्न आरोपी मध्येका शनी नरसिंह राणालाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । असोज १५ मा पक्राउ परेका राणा प्युठानको मल्लरानी गाउँपालिका–४ का हुन् । हत्यापछि उनी १२ वर्ष भारतमा बसेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

‘भारतस्थित पहाडगञ्जमा उनी ढुवानी सेवाको काम गरेर बसेको देखिन्छ’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) रमेश बस्नेत भन्छन्, ‘भारतमा बस्दा थाइल्याण्ड र मकाओ ओहोर–दोहोर गरेको देखिन्छ ।’

भारतमा बस्दाबस्दै दिलीप केसीको नामबाट नयाँ नागरिकता बनाएर उनी नेपाल फर्किए । १२ वर्षपछि नेपाल आएका शनी नरसिंह राणा काठमाडौँमा करिब ५ वर्ष लुकेर बसेका थिए । केही समयदेखि म्हैपीमा बस्न थालेका उनलाई जिल्ला अदालत काठमाडौँको आदेशले पुर्पक्षका लागी केन्द्रीय कारागारमा थुनामा राखिएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरबाट २०२५ को जन्म मिति राखेर अर्को नागरिकता लिएका उनले आफूलाई पछिल्लो समय ‘दिलीप केसी’ भनेर चिनाउँथे ।

‘चक्रे’ समूहका मोडल

शनी नरसिंह पेशाले मोडल पनि हुन् । धर्मसंकट फिल्मको गीत ‘मलाई नेपाली माया चाहिन्छ’ मा उनले अभिनय गरेका थिए । उनी मिस्टर नेपालको जज पनि भएका थिए । दोलखाको भीमेश्वर नगरपालिका घर भएका खिमबहादुर शिवाकोटीलाई हत्या गर्दाताका उनी गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे’ समूहका सदस्य रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको एसपी रमेश बस्नेत बताउँछन् ।

गुण्डागर्दीको दुनियाँमा शनी नरसिंहको टाइटल नाम थियो ‘शम्भु’ । काठमाडौँमा उनको पुख्र्यौली सम्पति प्रशस्त थियो । भारतबाट आएर उनले काठमाडौँको मध्य बानेश्वरमा घर किनेका थिए । बानेश्वरस्थित एउटा क्लबमा जिममा जान्थे । उनी आफ्ना साथीहरूसँग फोटो खिचाउन मान्दैन थिए । भन्थे, ‘३–४ वर्ष फोटो खिचाउँदिनँ ।’

महानगरीय प्रहरी परिसर र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले खोज्न थालेको थाहा पाएपछि उनी मध्यबानेश्वरबाट सरेर म्हैपीमा बस्न थालेका थिए । प्रहरीले पक्रँदा उनले लगाएको ज्याकेटको देब्रे छातीमा लेखिएको थियो–‘फाइट ।’ घटनाबारे उनले केही बोलेका छैनन् । चुपचाप बसेरै उनी हत्या मुद्दामा कानुनी ‘फाइट’ गर्दैछन् ।

पीडितले पक्राए

महानगरीय प्रहरी परिसर काठमाडौँ र केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरूले करिब डेढ वर्षयता शनी नरसिंहलाई खोजिरहेका थिए । तर, असोज १५ मा काठमाडौँ प्रहरीलाई खबर आयो–‘शनि नरसिंह जस्तै मान्छे म्हैपीमा भेटियो ।’

मध्ये बानेश्वरको घर छाडेर पछिल्लो समय उनी म्हैपीमा डेरा लिएर बस्न थालेका रहेछन् । मृतककी पत्नीले उनलाई देखेर प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीलाई देखेपछि उनी त्यहाँबाट भागे । प्रहरीलाई उनले उल्टो प्रश्न सोधे–‘मलाई किन पक्रेको म रुद्र हुँ ।’ शनी नरसिंहले आफ्ना एक छोरा र छोरीलाई पनि ‘रुद्र ड्याडी’ भन्न अभ्यस्त गराएको अनुसन्धानमा संलग्न डीएसपी हरि बस्नेतले बताए ।

एकता प्रेसअघि पार्किङमा विवाद हुँदा शनी नरसिंह र मोटरसाइकल पछाडि बस्ने धनबहादुर गुरुङउर्फ सानुले रगतपच्छे बनाएर खिमबहादुर सिवाकोटीको हत्या गरे । गोर्खा सिरानचोक घर भएका सानु अहिले अमेरिकाको बाल्टिमोरमा छन् । दरबारमार्गस्थित रोयल क्यासिनोमा राकेस लिम्बुको हत्यामासमेत उनी संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

पार्किङमा विवाद भएपछि हिँडेका उनीहरू दोस्रोपटक फर्केर गएर सिवाकोटीलाई कुटपिट गरेका थिए । हेलमेट, रड र चिया पकाउने भाँडाले कुटेर हत्या गरेको अनुसन्धानमा संलग्न डीएसपी हरि बस्नेतले बताए । पछि वीर अस्पतालमा सिवाकोटीको मृत्यु भयो ।

शनी नरसिंह र सानु चढेको बा.१६ प ८६५४ नम्बरको बुलेट मोटरसाइकल ईश्वरी राणाको नाममा रहेको खुलेको छ । ईश्वरी नरसिंह राणा शनीकी फुपू हुन् । ईश्वरी भारत गएको उनका परिवारका सदस्यहरूले बताएका छन् ।रातोपाटीबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार