शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • बझाङमा बाढीपहिरोले ९ जनाको मृत्यु, २१ जना बेपत्ता

बझाङमा बाढीपहिरोले ९ जनाको मृत्यु, २१ जना बेपत्ता

  • बिहिबार, कार्तिक ४, २०७८
बझाङमा बाढीपहिरोले ९ जनाको मृत्यु, २१ जना बेपत्ता

बझाङ — केही दिनयताको तीव्र वर्षासँगै आएको बाढी–पहिरोमा परी बझाङमा हालसम्म नौ जनाले ज्यान गुमाएका छन् । २१ जना अझै बेपत्ता छन् ।

मंगलबार बिहान थलारा गाउँपालिका–४ डिक्लामा गएको पहिरोमा परी गगने सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका पाँच जना बेपत्ता थिए । तीमध्ये दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

अहिले बझाङको मौसम सुधार हुँदै गएकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा बेपत्ताको खोजीमा जुटेका छन् । ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका १ सय ४८ घरपरिवार विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका बासिन्दा त्रिभुवन मावि महेन्द्रधारमा आश्रय लिइरहेका छन् ।

पूरा गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्तको घर र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए । उनका अनुसार विद्यालयमा बसिरहेका विस्थापितमध्ये बालबालिका र वृद्धवृद्धालाई बढी समस्या छ ।

यस्तै खप्तडछान्ना गाँउपालिकामा बाढीपहिरोमा परी ६ जनाको मृत्यु भएको छ । डाँडाबाट पहिरो खसेर घर पुरिँदा खप्तडछान्ना, माझीगाँउका ४५ वर्षीय भर्मराज रोकाया र उनकी ४१ वर्षीया पत्नी जैसरा रोकाया, कालुखेतीका ४७ वर्षीय बिरु गिरी र उनकी ४५ वर्षीया पत्नी चन्द्रा गिरी तथा पाटादेवलका धनराज जोशीको मृत्यु भएको हो । एक जनाको पहिचान खुलेको छैन ।

छबिसपाथीभेरा गाँउपालिका–२ मुम्लामा खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिकाको कैलासमा ६० र थलारा गाँउपालिकाका दुई सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।

उक्त क्षेत्रमा यति बेला सञ्चारमा समेत समस्या छ । मोबाइलमा नेटवर्क नहुँदा क्षतिको पूरा विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

चर्चामा

सम्बन्धित समाचार