बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • वायु प्रदूषण उच्च रहेको धनगढी क्षेत्रमा ध्वनि प्रदूषण पनि अत्यधिक

वायु प्रदूषण उच्च रहेको धनगढी क्षेत्रमा ध्वनि प्रदूषण पनि अत्यधिक

  • आइतवार, चैत्र २९, २०७७
वायु प्रदूषण उच्च रहेको धनगढी क्षेत्रमा ध्वनि प्रदूषण पनि अत्यधिक

धनगढी– तीव्र गतिमा सहरीकरण भइरहेको धनगढी उपमहानगर र आसपासका क्षेत्रमा वायुसँगै ध्वनि प्रदूषणको समस्या पनि विकराल हुँदै गइरहेको पाइएको छ।

ध्वनी प्रदूषणले मानव स्वास्थ्यमा नराम्रो असर पार्ने भएपनि ध्वनी प्रदूषण न्यूनिकरण गर्न कुनै प्रयास नगरिएको पाइएको छ।

कानुन अनुसार अस्पाताल, विद्यालय र आवासीय क्षेत्रमा हर्न बजाउन निषेध गरिनु पर्छ। तर हर्न बजाउन कुनै रोक नहुँदा अस्पताल र विद्यालय क्षेत्रमा समेत सवारी साधनका प्रेसर हर्न बजाउने गरिएको छ।

यो सँगै धनगढीमा चर्को आवाजमा लाउड स्पिकरको प्रयोगमा कुनै छेकबार नहुँदा ध्वनि प्रदूषण अझै बढ्नसक्ने चिन्ता बढेका छ। तैपनि सरोकारवाला निकायले भने ध्वनि प्रदूषण रोक्न कुनै काम गरेको पाइएको छ।

धनगढीमा निर्माणाधिन फराकिलो सडकमा तीव्र गतिमा हुँइकिने ट्रक बस तथा मोटरसाइकलले एकाबिहानै लामो समयसम्म एकोहोरो हर्न बजाउने गर्छन्।

विज्ञापनत्यसरी बिहानैदेखि सुरु हुने ध्वनि प्रदूषणले धेरै नगरवासीलाई अचानक निद्राबाट ब्युँझाइदिने गरेको छ। घाम उदाएपछि त सवारी साधनबाट निस्कने ध्वनि प्रदूषणको क्रम अझै बढ्न थाल्छ। रात परेपछि सुत्ने बेलामा त अझै कुनै समारोहमा चर्को आवाजमा घन्किइने लाउड स्पिकरको ध्वनिले धनगढीको ध्वनि प्रदूषणलाई उच्चतम बिन्दुमा पुर्याइदिन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानिसले कुरा गर्दा ४० डेसिबेलको ध्वनि निस्कन्छ। तर चिच्याउँदा त्यो ६५ डेसिबेल पुग्छ जसलाई ध्वनि प्रदूषणको सुरुवात मानिन्छ। मोटरसाइकलको हर्न १५० डेसिबेलभन्दा माथि हुन्छ।

ध्वनि १२० डेसिबेल पुगेपछि त्यो पीडादायी र मानव स्वास्थयका लागि हानिकारक बन्न थाल्छ। सामान्यभन्दा चर्को ध्वनिले व्यक्तिमा मानसिक र शारीरिक समस्या देखापर्ने बताउँछन् नाक, कान घाटी रोग विशेषज्ञ डक्टर अशोक कुमार श्रीपाइली।

“लामो समयसम्म हल्ला हुने ठाउँमा बस्दा व्यक्तिमा मानसिक र शारीरिक समस्या देखा पर्छन्। चर्को आवाज लाो समयसम्म सुन्नु परेमा मान्छेको सुन्ने क्षमता गुम्न जान्छ। कलकारखाना, व्यस्त सडकमा हर्न बजाउँदा हुने हल्लाले एकाग्रता गुम्ने, निन्द्रा नलाग्ने जस्ता स्वास्थ्य समस्या देखापर्दछन्” डक्टर श्रीपाइलीले भने।

धनगढी उपमहानगरपालिको व्यस्त बजार क्षेत्रमा अहिले पनि जुनसुकै स्थानमा पनि सवारी साधनको चर्को हर्न बजाउन कुनै रोकटोक छैन। चाहे त्यो अस्पताल वा विद्यालय क्षेत्र नै किन नहोस् जहाँ हर्न बजाउन निषेध भनिएपनि गाडी चालकहरुले निर्वाध हर्न बजाएको सुन्न सकिन्छ।

धनगढी नगरमा भने अस्पताल र विद्यालय बाहेक अन्यत्र हर्न निषेधित क्षेत्र घोषणा नगरिएको तर प्रेसर हर्नको भने प्रयोग गर्न नपाइने बताउँछन् प्रदेश ट्राफिक प्रहरी कार्यालय अतरियाका प्रवक्ता प्रहरी निरीक्षक गणेशराज उप्रेती।

धनगढी शहरको व्यस्त सडकमा हरेक दिन अनगिन्ती ठूला साना सवारी साधन गुड्ने गरेका छन्। ती सवारी साधनमा सवार चालकले निर्वाध हर्न बजाएर ध्वनि प्रदूषण गरिरहेका छन्। तर सो कार्य रोक्न धनगढी उपमहानगरपालिकाले समेत कुनै नीति नियम बनाउन नसकेको पाइएको छ।

नगर प्रवक्ता सन्तोष मुडभरीले भने, “अस्पताल र विद्यालयहरु भएको ठाउँमा हर्न नबजाउने नियम नै भएको कारण नगरका अन्य ठाउँमा भने हर्न निषेधित क्षेत्र घोषणा गरिएको छैन। ध्वनि प्रदूषण पनि टडकारो समस्या हो। यो विषयमा अहिलेसम्म कुनै निर्णय नगरेको भएपनि उपमहानगरले चाँडै उपयुक्त योजना भने ल्याउनै पर्छ।”

ध्वनि प्रदूषणको असर
ध्वनि प्रदूषणको असरबाट कान नसुन्ने, टाउको दुख्ने, थकान लाग्ने, एकाग्रतामा बाधा पुग्ने, निद्रा नलाग्ने जस्ता स्वास्थ्य समस्या विकसित हुनेभएपनि यी सबै कुरामा सरोकारवाला निकायको ध्यानाकर्षण नहुँदा धनगढीवासीले दिमाग थर्काउँने वा मुटु हल्लाउने ध्वनिको निरीह भएर सामना गर्नु परिरहेको छ।

ध्वनि प्रदूषण गरेको कसुरमा धनगढी मात्र नभई सुदूरपश्चिममैँ ट्राफिक वा प्रहरीले हालसम्म कुनै ट्रक वा मोटरसाइकल चालक वा लाउड स्पिकर घन्काउने कसुरदारलाई कानुनी कारबाही गरेको सुनिएको छैन। त्यसैले हाम्रो सहज बजार वा गाउँमा ध्वनि प्रदूषणकर्ताले यसरी लगातार उन्मुक्ति कहिलेसम्म पाइरहने हो, त्यो प्रस्ट छैन।

चर्चामा

सम्बन्धित समाचार