शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश २
  • सरकार विस्तार गर्दै मुख्यमन्त्री राई, आजै सपथको तयारी

सरकार विस्तार गर्दै मुख्यमन्त्री राई, आजै सपथको तयारी

  • शुक्रबार, चैत्र १३, २०७७
सरकार विस्तार गर्दै मुख्यमन्त्री राई, आजै सपथको तयारी

माओवादी छाडेर एमाले प्रवेश गरेका आङ्बुहाङलाई अर्थ मन्त्री विराटनगर : आफ्नो पद जोगिएसँगै प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले शुक्रबार सरकार विस्तार गर्ने भएका छन्। सर्वोच्च अदालतको फैसला पछि पार्टी एमाले र माओवादीमा ब्युतिएपछि राईविरुद्ध परेको अविश्वास प्रस्ताव अगाडि नबड्ने भएपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन्।

नयाँ थपिएका मन्त्रीहरुको आज दिउँसो १ बजे सपथ ग्रहणको समय तोकिएको छ। मुख्यमन्त्री राईले माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिने भएका छन्।

यस अघि सो पदमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोहाङ थिए। उनले पद त्यागेपछि ताप्लेजुङका आङ्बुहाङलाई मन्त्री बनाउन लागिएको हो। विस्तार हुने मन्त्रिमण्डलमा सामाजिक विकास मन्त्रीको जिम्मेवारी खोटाङकी उषाकला राईलाई दिने तयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ। यस अघि सो पदमा जीवन घिमिरे थिए।

उनले पनि पदबाट राजीनामा दिएपछि जसमाया गजमेरलाई सो पदमा लगिने चर्चा थियो। तर उषाकलालाई मुख्यमन्त्री राईले स्पेस दिएका छन्। हाल प्रदेश १ मा चार जना मन्त्री छन्। अब ७ जनासम्म मन्त्री थपिने सम्भावना रहेको जनाइएको छ। थपिने मन्त्रीहरुको शपथग्रहण प्रदेश प्रमुखको कार्यालयमा हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।

आजै अन्य मन्त्रीहरुमा कला घले र राजकुमार ओझा लगायतको नाम पनि चर्चामा छ। हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन्। त्यस्तै उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त हुने भएका छन्। दुवैजना नयाँ अनुहार हुन्।

नेकपा एमालेको आन्तरिक संघर्षको क्रममा माधव नेपाल समूह र माओवादी छाडेर ओली समूहमा आएकाहरु मन्त्री बन्ने सूचीमा अगाडि छन्।

चर्चामा

सम्बन्धित समाचार