मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • राजनीति
  • बहुमत छ भन्ने नेताहरुको घमण्ड अदालतले तोडिदियो : लालबाबु पण्डित

बहुमत छ भन्ने नेताहरुको घमण्ड अदालतले तोडिदियो : लालबाबु पण्डित

  • सोमवार, फाल्गुन २४, २०७७
बहुमत छ भन्ने नेताहरुको घमण्ड अदालतले तोडिदियो : लालबाबु पण्डित

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह अलग अलग गतिविधि गर्दा नेता लालबाबु पण्डित कुनै समूहतिर लागेका थिएनन् । उनले आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका थिए ।

तर सर्वोच्च अदालतले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणलाई मान्यता नदिई दुई पार्टीलाई पूर्ववत अवस्थामा नै फर्काइदिएपछि उनले साविकको नेकपा एमालेतिर रहने बताएक छन् । सोमबार उनले आफू सूर्य चुनाव चिह्नतिर रहने बताए । ‘मैले पहिलादेखि नै भन्दै आएको हो– जनताको बहुदलीय जनवाद र सूर्य चिन्ह,’ नेता पण्डितले भने, ‘अब दुईटा पार्टी एक भएर गए सँगै रहन्छु, एक भएन भने जता सूर्य चिह्न उतै म ।’

अब दुवै समूह एक भएर जान सक्ने स्थिति नरहेको पण्डितको बुझाइ छ । र केपी शर्मा ओली नेतृत्वको एमाले ब्युँतिएकाले आफू त्यतै रहने पण्डितले बताए । ‘मैले आइतबारको प्रतिनिधिसभाको बैठक बहिष्कार गरिन नि । साथीहरु उठेर जाँदा म बैठकमै उपस्थित रहेँ । यसले क्लियर भएन र ! म कता छु ?’ पण्डितले भने ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सरकारको तर्फबाट विभिन्न अध्यादेशहरु पेस हुन लाग्दा प्रचण्ड–माधव समूहका सांसदहरुले बैठक बहिष्कार गरेका थिए । कामचलाउ सरकारले अध्यादेश ल्याउन नसक्ने प्रचण्ड–माधव समूहको तर्क थियो । तर, पण्डितले भने बैठक बहिष्कार गरेका थिएनन् ।

नेकपामा समस्याको जड वामदेव गौतम !

पूर्वमन्त्री समेत रहेका नेता पण्डितले नेकपा एकीकरणमा समस्याको जड वामदेव गौतम भएको टिप्पणी गरे । ‘वामदेव कमरेडकै कारणले यत्रो भएको हो । बामदेव कमरेडको मिलाउने कुरा छँदै थिएन । च्याखे थापेर आफूतिर केन्द्रित गर्न खोज्या हो’ पण्डित भन्छन्, ‘सचिवालयको बैठकमा उहाँ जता लाग्दा त्यतै बहुमत पुग्थ्यो नि । तर, उहाँले सुरु देखि प्रधानमन्त्री खोज्नुभयो । संसदमा इन्ट्री खोज्नुभयो । निर्वाचनबाट इन्ट्री नभएपछि मनोनितमा जान्न भन्नुभयो । पछि कहीँ जित्ने आधार तय भएन । त्यसपछि मनोनीतमा तयार हुनुभयो । बेइज्जत गर्नुभयो नि ।’

केपी ओली र प्रचण्डको बीचमा रहेर गौतमले लाभ लिन खोज्दा समस्या आएको उनको भनाइ छ । आफूतिर बहुमत छ भन्ने नेताहरुको घमण्ड सर्वोच्च अदालतको फैसलाले तोडिदिएको नेता पण्डितले टिप्पणी गरे ।‘पार्टी फोड्छु, हामी बहुमत छौं, उहाँ अल्पमत हो, संसदीय दलको नेता म, अविश्वास प्रस्तावको कुरा जुन थियो ती सबै घमण्डहरु तोडियो । ती समस्याको पनि समाधान भयो’ पण्डितले भने ।

‘अब एमाले र माओवादी हुने हो’

अब एमाले र माओवादी भएर जानुपर्ने स्थिति आएको पण्डितले बताए । ‘कि त नयाँ पार्टी दर्ता हुन पर्‍यो । नयाँ पार्टी दर्ता हुने सम्भावना म देख्दिन । हिजो प्रचण्डजीहरुले प्रतिनिधिसभा बहिष्कार गर्नुभएको छ । आज नारी दिवसमा वक्तव्य निकाल्दा आफूलाई एकल अध्यक्षका रुपमा प्रस्तुत गर्नुभएको छ’, उनी भन्छन्, ‘त्यसैले दुइटा पार्टी मिल्ने स्थिति कम देखियो । अब एमाले माओवादी भनेरै जाने स्थिति भयो ।’

देशभरका पार्टी कार्यालयमा साइनबोर्ड फेरिन थालेको भन्दै उनले एमाले ब्युतिँदा एमालेका कार्यकर्ता खुसी भएको आफूले पाएको सुनाए ।

‘सर्वोच्चको फैसलापछि एमालेका कार्यकर्ता उत्साहित भएका छन् । हामी ठूला थियौं, हौं र हामी ठूलामाथि प्रहार भएको थियो । अब एक किसिमले उन्मुक्ति पाएका छौं भन्ने कार्यकर्तामा रहेको पाएको छु’ पण्डितले भने ।

माधव नेपाल र बादल पुरानैमा फर्किनु वेश !

पण्डितले नेता माधवकुमार नेपाललाई नेकपा एमालेमा र रामबहादुर थापा बादललाई नेकपा माओवादी केन्द्रमा फर्किन सुझाव दिए । ‘कि उहाँहरुले घाटा बेहुर्नुपर्यो, कि पुरानैमा फर्किनुपर्यो । कि त नयाँ दर्ता हुन पर्यो । तर, त्यो सम्भावना कम देख्छु’ उनी भन्छन्, ‘हामी चुनाव लड्दा बाममोर्चा मात्रै भएको हो नि । अब त्यसरी नै जान पनि सकिन्छ ।’

अन्यथा गरे कारबाहीमा पर्न सक्ने पण्डितको भनाइ छ । ‘एमालेको चुनाव चिह्नबाट जितेर आएकाहरु अन्त लाग्दा कारबाही हुन्छ । यस्तो दुईतिरै छ । हसिया हथौडाबाट चुनाव जितेर आएकाहरु यता (ओली समूहमा) पनि आउनुभएको छ । उहाँहरुलाई समस्या हो । जो सूर्यमै छन्, जो हसिया हथौडामै छन् । तिनलाई त केही फरक पर्दैन’ पण्डितले भने । #अनलाइनखबर

चर्चामा

सम्बन्धित समाचार