शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बैतडीको पाटनमा सडक निर्माणमा प्रहरीे हस्तक्षेप,‘जेसीबी अपरेटर नियन्त्रणमा’

बैतडीको पाटनमा सडक निर्माणमा प्रहरीे हस्तक्षेप,‘जेसीबी अपरेटर नियन्त्रणमा’

  • सोमवार, फाल्गुन २४, २०७७
बैतडीको पाटनमा सडक निर्माणमा प्रहरीे हस्तक्षेप,‘जेसीबी अपरेटर नियन्त्रणमा’

धनगढी– बैतडीको पाटनमा सडक चौडा पार्ने कार्यमा प्रहरीले हस्तक्षेप गरेको आरोप लागेको छ। दशरथ चन्द राजमार्ग अन्तरगत पाटन बजारस्थित इलाका प्रहरी कार्यालय अगाडि झण्डै डेढ सय मिटर सडक चौडा पार्ने कार्यमा प्रहरीले हस्तक्षेप गरेको आरोप निर्माण व्यवसायीले लगाएका छन्।

सडक डिभिजन कार्यालय पाटनबाट ठेक्का पाएको एसके निर्माण सेवा प्रालिका सञ्चालक मदनमोहन बिष्टले सडक चौडा पार्ने क्रममा इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव सावदले अवरोध सिर्जना गरि लोडर अपरेटर र सहायक अपरेटरलाई पनि नियन्त्रणमा लिएको बताए।

सडकको क्षेत्राधिकार भित्र नै पर्ने इलाका प्रहरी कार्यालय अगाडी काम गरिरहेको अवस्थामा प्रहरी निरीक्षक सावदले लोडर अपरेटर प्रेम कार्की र सहअपरेटरलाई नियन्त्रणमा लिएको बताए।

उनले खोड्पे–पाटन–सतबाँझ सडकखण्ड मर्मत सम्भारको ठेक्का आफूले पाएको बताउँदै पटक–पटक आग्रह गर्दा समेत यसअघि पनि प्रहरीले अवरोध गर्दै आएको बताए।

डिभिजन सडक कार्यालय पाटनका प्रमुख डिभिजन इन्जिनीयर बर्ख कठायतले आफू फिल्डकै कामको सिलिसिलामा बझाङमा रहेको बताउँदै निर्माण कार्यमा अवरोध सिर्जना गरेको सुन्नमा आएको बताए।

उनले सडकको १५/१५ मिटर चौडा गर्ने विषयमा यसअघि नै प्रहरीलाई जानकारी गराइसकेको अवस्थामा पुनः अवरोध सिर्जना भएको बताएका छन्।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धनदेव सावदले भने सडकको काममा अवरोध गरेको आरोपमा सत्यता नभएको बताए। उनले त्यहाँ सडक विस्तारको काम हुने विषयमा हेड क्वाटरलाई जानकारी गराएपनि कुनै निर्देशन प्राप्त नभइसकेकाले केही दिन काम रोकिदिन अनुरोध मात्र गरेको बताए।

सोही क्रममा सोधपुछका लागि अपरेटर र सहअपरेटरलाई कार्यालयमा बोलाएकाले नियन्त्रण भने नलिइएको बताए। उनकाअनुसार सडक चौडा पार्ने क्रममा त्यहाँ निर्माण भएको प्रहरी कार्यालयको सेफ्टी ट्याकी, पोस्ट र खेल मैदान भत्किने अवस्था भएकाले अर्को व्यवस्था नहुदा सम्म मात्रै काम रोक्न निर्माण व्यवसयीलाई अनुरोध गरिएको हो।

यद्यपी अहिले सो विवाद हल भइसकेकाले अब काम सहज रुपमा अगाडि बढ्ने उनले जानकारी दिए। उनका अनुसार इलाका प्रहरी कार्यालय अगाडि निर्माण गरिएका खोकाछाप्रा पनि हटाउने सहमती भएको छ। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार