बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा संसदीय दलमा कसको बहुमत ?

नेकपा संसदीय दलमा कसको बहुमत ?

  • आइतवार, फाल्गुन २३, २०७७
नेकपा संसदीय दलमा कसको बहुमत ?

 काठमाडाै–सत्तारूढ दल नेकपाका ओली र प्रचण्ड-नेपाल समूहले पछिल्ला दुई दिनमा छुट्टाछुट्टै रूपमा संसदीय दलको बैठक बोलाए। शुक्रबार र शनिबार सम्पन्न ती दुई बैठकपछि दुबै पक्षले आफू बहुमतमा रहेको दाबी गरे। यहाँसम्मकी दुबैले आफूसँग ११५ सांसद रहेको बताए। जबकी नेकपाको संसदीय दलमा जम्मा २२१ सांसदमात्र छन्।

त्यसो भए बहुमत कुन समूहसँग छ? कुन समूहमा कति सांसद छन् ? २२१ सांसदमध्ये प्रतिनिधिसभामा १७२ छन् भने राष्ट्रिय सभामा ४९ जना छन्। राष्ट्रिय सभाका वामदेव गौतमसहित प्रतिनिधि सभाका तुलसा थापा र लालबाबु पण्डित कुनै पनि पक्षमा लागेका छैनन्। उनीहरूले आफूहरूलाई पार्टी एकताको पक्षधर बताउदै आएका छन्। थापा गौतमकी श्रीमती पनि हुन्।

शुक्रबार सम्पन्न प्रचण्ड-नेपाल समूह र शनिबार भएको प्रधानमन्त्री ओलीको समूहमा सहभागी सांसद र दुबै पक्षले सुरूदेखि नै तयार पारेका सूचीलाई हेर्दा अहिलेसम्म पनि प्रचण्ड-नेपाल समूह नै बहुमतमा देखिएको छ। तर कुनै पनि समूहको पक्षमा ११५ सांसद भने पुगेका छैनन्।

प्रचण्ड नेपाल समूहमा प्रतिनिधि सभाका ८७ र राष्ट्रिय सभाका २४ जना सांसद समेत गरी १११ सांसद छन्। यो भनेको नेकपा संसदीय दलमा झिनो बहुमत हो। ओली समूह प्रतिनिधि सभाका ८३ र राष्ट्रिय सभाका २४ गरी १ सय ७ सांसदसहित संसदीय दलमा अल्पमतमा परेको छ।

शुक्रबारको बैठक पछि प्रचण्ड-नेपाल समूहमा थप एक जना सांसद थपिएको दाबी उनीहरुले गरेका छन्। यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ। नेकपाको विधानअनुसार संसदीय दलमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैका सांसद रहन्छन्। नेपाली कांग्रेसको विधानमा भने प्रतिनिधि सभाका सांसदमात्र रहने व्यवस्था छ।

ओली समूहनजिक कतिपय नेताले प्रचण्ड-नेपाल समूह छोडेर आफूतिर आएको भनेर दाबी गरेका केही सांसद प्रचण्ड-नेपाल समूहमै रहेको देखिएको छ। उनीहरूले गंगा चौधरी, माया न्यौपाने (ज्ञवाली) र गोपाल बमलगायत सांसदहरू आफ्नो समूहमा आएको दाबी गरेका थिए। उनीहरूले साथ दिएपछि आफ्नो समूहको बहुमत पुगेको उनीहरूको दाबी थियो।

चौधरी र ज्ञवाली शुक्रबार बसेको प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकमा सहभागी थिए भने बमले आफू प्रचण्ड-नेपाल समूहमै रहेको सार्वजनिक प्रतिक्रिया दिइसकेका छन्। शनिबार भएको ओली समूहको संसदीय दलको बैठकमा वामदेव गौतम, लालबाबु पण्डित पनि आउने उनीहरूको दाबी थियो। गौतमलाई फकाउन प्रधानमन्त्री ओली शुक्रबार साँझ उनको निवास भैंसेपाटी पुगेका थिए। ओली समूहको बैठकमा उनीहरू गएनन्।

प्रचण्ड-नेपालले पुस ५ गते संसदमा अविश्वासको प्रस्ताव लैजादा ९१ जना सांसदको हस्ताक्षर रहेको दाबी गरेका थिए। अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकामध्ये गौरीशंकर चौधरी र प्रभु शाह ओली सरकारका मन्त्री छन्। अर्का सांसद शेरबहादुर तामाङ पनि ओली समूहमै लागेका छन्। यी तीन जनाबाहेक प्रचण्ड-नेपाल समूह छाडेर हरू कोही ओली समूहतिर गएको देखिएको छैन। स्वतन्त्र सांसद छक्कबहादुर लामाले पनि प्रचण्ड-नेपाल पक्षलाई नै समर्थन गरेका छन्। प्रचण्ड-नेपाल पक्षले राखेको शुक्रबारको संसदीय दल बैठक पारदर्शी देखिन्थ्यो। बैठक सकिनासाथै बैठक कक्षमा पत्रकारहरूले फोटो, भिडिओ खिच्न पाए। त्यसले पनि प्रचण्ड-नेपाल समूहमा को-को सांसद छन् भनेर ठम्याउन सजिलो भयो।

शनिबार बालुवाटारमा भएको ओली समूहको बैठकमा भने सञ्चारकर्मीलाई अन्तिममा पनि प्रवेश दिइएन। उनीहरूलाई बाहिर सडकमै राखिएको थियो। बालुवाटारका सुरक्षाकर्मीले बालुवाटारको गेट वरपरसमेत बस्न दिएका थिएनन्। बाहिर निस्किएर कतिपय सांसदहरूले बैठकमा १ सय १५ को उपस्थिति रहेको दाबी गरेका थिए। बैठकमा प्रधानमन्त्री ओलीले आफूतिर आउने सांसदको संख्या १२० हुँदै १२५ सम्म पुग्ने दाबी गरेका थिए।

ओली समूहका नेताहरूले प्रचण्ड-नेपाल समूहका कुन-कुन सांसद उनीहरूतिर गएर ११५ पुगे भन्ने जवाफ दिन सकेका छैनन्। ओली समूहले सुरूमा बैठक बानेश्वरस्थित संसद भवनमा बस्ने भनेर सांसदहरूलाई एसएमएस पठाएको थियो तर अन्तिम समयमा बैठक बालुवाटारमा राखिएको थियो। बालुवाटारमा भएका सामान्य औपचारिक भेटघाटको समेत फोटो सार्वजनिक हुन्छ। तर शनिबारको बैठकको कुनै फोटो सार्वजनिक भएको छैन। #साभार सेताेपाटि

चर्चामा

सम्बन्धित समाचार