मङ्लबार, जेष्ठ ४, २०७८
  • होमपेज
  • समाज
  • ‘हामीलाई आफ्नै सपनाले तर्साउँछन्’

‘हामीलाई आफ्नै सपनाले तर्साउँछन्’

  • मङ्लबार, पुस २१, २०७७
‘हामीलाई आफ्नै सपनाले तर्साउँछन्’

छेउमै पातुखोला गडगडाउँदै बग्छ । वर्षायाम सुरु भो कि कतिबेला खोलामा परिएला भन्ने पिरलो । स्वर्णिमकुमार बाँठा त्यही खोला किनारमा बसेर विगत सम्झन्छन् र अहिलेको आफ्नै जीवनसँग दाँज्छन् । कुनै बेला छातीमा गोली थाप्न तयार हुने उनको ज्यान अहिले पानी पर्दा डराउँछ ।

सशस्त्र द्वन्द्वमा दुवै आँखाको ज्योति गुमाएका सल्यानका लालबहादुर वली
यसको कारण छ, माओवादीको दशक लामो विद्रोहको भुक्तमान बेहोरेका पात्र हुन् उनी । घर, परिवार छाडेर होमिएका बाँठासँग विद्रोह समाप्तिपछि आफ्नो भन्ने केही बाँकी रहेन । द्वन्द्व सकिँदा नसकिँदै नेताहरू सहर छिरेर ठूलठूला पदमा पुगिसकेका थिए तर उनीसँग साथीभाइ थिए न त आफन्त । शान्ति प्रक्रियाका नाममा ६ वर्ष क्यान्टोनमेन्ट (लडाकु शिविर) मा बसे । त्यहाँबाट बाहिरिँदा बुझेको ५ लाख र त्यसमा श्रीमतीको ५ लाख रुपैयाँसमेत थपेर पातुखोला किनारमा घडेरी किने । ऐलानी जग्गा भएकाले धनीमा उनको नाम हुँदैनथ्यो । त्यहीँ एक तलाको घर बनाए । अहिले पनि जब पातुखोला गडगडाउँछ, उनका मनमा त्यसै त्यसै ढ्यांग्रो ठोक्न थाल्छ ।

बाँठाको खास घर रुकुमको त्रिवेणी–४ खारा–खुम्चेरी हो । सशस्त्र द्वन्द्वताका खारा संसारभर चर्चामा आएको गाउँ । द्वन्द्वकालमा दुईपटक सैनिक ब्यारेकमा आक्रमण भएको, एक जवानको हत्या भएको बदलामा प्रहरीले गाउँ नै जलाइदिएको ठाउँ ।

त्यहीँ हुर्केबढेका बाँठामा देश बदल्ने नारामा होमिए । गाउँमा देखेभोगेको शोषण र थिचोमिचो अन्त्य गर्ने सपना पूरा गर्न उनले बन्दुक बोके र घर छाडे । ‘जिते सिंगो संसार, मरे एउटा प्राणी’ भन्दै माओवादीमा लागेका उनले न संसार जिते, न ज्यान नै गुमाए । एउटा खुट्टा गुमाएर उभिन अर्काको सहारा खोज्नुपर्ने उनीसँग अहिले संसार जित्ने सपना बाँकी छैन । अब त बाँकी जीवन कसरी जिउने भन्ने पिरलो मात्रै छ ।

‘घर फर्कन मन मानेन’

१९ फागुन ०६० मा माओवादीले भोजपुरस्थित नेपाल टेलिकमको रिपिटर टावरमा आक्रमण गरे । उक्त भिडन्तमा बाँठाको बायाँ खुट्टामा गोली लाग्यो । गोलीले यति छियाछिया पारेको थियो कि खुट्टा नै काट्नुपर्‍यो । ‘त्यतिबेला मर्न रहर गर्थ्यौं, अग्रमोर्चामा लड्न नपाउँदा तड्पिन्थ्यौं,’ बाँठाले ०७७ पुसको एउटा चिसो दिनमा मनै चिसो पार्ने गरी भने, ‘नेताहरूलाई सत्ता मिल्यो, हाम्रो चाहिँ बिजोग भयो ।’

१५ वर्षको उमेरमै सशस्त्र द्वन्द्वमा होमिएकी रुकुम स्यालापाखाकी चेतना बाँठा स्वर्णिमकुमारकी जीवनसंगिनी हुन् । उनीहरूको बिहे द्वन्द्वकालमै भयो । चेतनाको चेत आज पनि तीखो छ तर शरीर सद्दे छैन । १३ जेठ ०५९ मा खाराको सैनिक ब्यारेक आक्रमणबाट बचेर सल्यानको गुराँसे पुग्दा २९ जेठमा उनी सेनासँगको भिडन्तमा परिन् । पूरै रातभर र भोलिपल्ट दिउँसोसम्म चलेको भिडन्तमा खुट्टामा गोली लाग्यो । अहिले पनि शरीरमा गोलीका छर्रा छन् । ‘छर्रा फाल्दा खुट्टा नै काट्नुपर्ने हुन्छ रे, बेलाबेला खुट्टा सुन्निएर साह्रै सताउँछ’, चेतनाले भनिन्, ‘ज्यानको पर्वाह नगरी लड्यौं, आखिरमा चाहिने गृहस्थी नै रहेछ ।’

एउटा खुट्टा गुमाएका रुकुम खाराका स्वर्णिमकुमार बाँठा

चेतनाको दिनचर्या अहिले अपांग श्रीमान्को स्याहारमा बित्छ । दाङको संक्रामस्थित तत्कालीन माओवादी लडाकुको शिविरबाट ५/५ लाख रुपैयाँ बुझेर निस्कँदा उनीहरूलाई ‘संसार जित्न निस्केका मान्छे, खुट्टा गुमाएर घर कसरी फर्कनू ?’ भन्ने आत्मग्लानि भयो । त्यसपछि बाँठा दम्पतीले रुकुम नफर्कने र तुलसीपुर–५ प्रगतिशील टोलस्थित पातुखोला किनारमा ऐलानी जग्गा किनेर बस्ने निधो गरे । ‘शिविरबाट बुझेको पैसा सकियो, अरू कमाउने उपाय भएन,’ चेतनाले भनिन्, ‘श्रीमान्को यो हालत छ, म मजदुरी गर्न जान्छु । छोराछोरीले मीठोमसिनो खान खोज्दा दिन सक्दिनँ ।’

चेतनालाई अहिले लाग्छ, दुःख जति सबै नेताकै लागि गरिएछ । ‘हामीले ज्यान फालेर नेतालाई सत्तामा पुग्न सजिलो बनाएछौं,’ उनले भनिन्, ‘मेरा लागि जनयुद्धको उपहार भनेको छर्रा बोकेको आफ्नो शरीर र एउटा खुट्टा नभएका श्रीमान् हुन् ।’ चेतना अहिले गहिरो चिन्तनमा छिन् । ‘लडाइँले बलियाहरूकै सेवा गर्दोरहेछ । नत्र हामी यतिबिघ्न बेसहारा हुनुपर्ने थिएन,’ उनले भनिन् । उनका श्रीमान् अहिले कृत्रिम खुट्टाका भरमा हिँड्छन् । फेरि कृत्रिम खुट्टा किन्नुपर्‍यो भने ५ लाख रुपैयाँसम्म खर्च गर्नुपर्छ । अब कसरी जुटाउने त्यत्रो पैसा भन्ने चिन्ता छ उनलाई ।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले तयार पारेको ‘द्वन्द्व पार्श्वचित्र’ अनुसार १७ हजार ८ सय २८ जनाको ज्यान गएको सशस्त्र द्वन्द्वमा ५ हजार ९ सय १२ जना अंगभंग छन् । स्वर्णिमकुमार र चेतना तिनैमध्ये हुन् । त्यसैले यो अरू धेरैको कथा हो ।

लोकबहादुर बीसीको घर पनि रुकुमकै त्रिवेणी–२, डाँडा हो । २९ साउन ०५९ मा युनिफाइड कमान्डको फौजसँग रुकुम, झुलखेतमा भिडन्त हुँदा उनलाई गोली लाग्यो । साथीहरूले मर्‍यो भनेर छाडिदिएका थिए तर भारत पुगेर सातपटक शल्यक्रिया गरिसकेका उनी मुस्किलले बाँचे । अहिले पनि उनको मुखमा फलामका दुई पाता र २३ वटा क्लिप जोडिएका छन् ।

मासिक रूपमा पाउँदै आएको ६ हजार २ सय रुपैयाँ निर्वाह भत्ता अहिले आउन छाडेको छ । शिविरबाट बाहिरिँदा बुझेको ६ लाख रुपैयाँ र मासिक भत्ताबाट कसो जीविका नचल्ला भन्ने सोचेका उनी अहिले हरेस खान थालेका छन् । समाज र देश बदल्ने सपना बोकेर हिँडेका लोकबहादुर यतिखेर आफ्नो ज्यान पाल्ने पिरलोमा छन् । शिविरबाट निस्केपछि घाइते शरीर लिएर घर (रुकुम) फर्कन आँट नआएपछि दाङमै बसेर केही व्यवसाय गर्ने योजना बनाए उनले । त्यो सफल भएन । गुजाराका लागि अहिले साथीहरूसँग मिलेर, ऋण गरेर एउटा मालवाहक ट्रक किनेका छन् । उनी त्यसैमा सामान लोडअनलोड गर्दै हिँड्छन् । ‘सँगै हिँडेका धेरै साथी सांसद र मन्त्री भए,’ ट्रकबाट इँटा अनलोड गरेपछिको धूलो सफा गर्दै गरेको अवस्थामा भेटिएका लोकबहादुरले भने, अब त हाम्राबारे सोधखोज गरिदिने पनि कोही छैन ।’

संसारै अँध्यारो

सल्यानको कुमाख–२ खारखोलाका लालबहादुर वली दुवै आँखा देख्दैनन् । २५ असोज ०६० मा दाङको भालुबाङस्थित सशस्त्र प्रहरी क्याम्प आक्रमण र ११ मंसिर ०६० मा अर्घाखाँचीको सिद्धधारामा भएको भिडन्तका क्रममा उनका आँखामा गहिरो चोट लागेको थियो । उपचारका लागि भारत जाने क्रममा उनी भारतको बलरामपुरबाट पक्राउ परे । उनलाई त्यहाँबाट कपिलवस्तु ल्याइयो । हिरासतमा यातना दिने क्रममा करेन्ट लगाइयो । ०६० मंसिरपछि उनका दुवै आँखाको ज्योति गुम्यो ।

लालबहादुरको संसार अन्धकार छ । त्यसभन्दा बढी उनमा निराशा छ । ‘क्रान्तिका नाममा हामीले घरबार भत्कायौं, आफ्नै संसार अन्धकार बनायौं,’ उनले भने, ‘अहिले सत्ता र शक्तिमा पुगेका नेताले बिर्से । आपत् परेर फोन गर्दा पनि उठाउँदैनन् ।’ लामो कुराकानीका क्रममा लालबहादुरले विगत सम्झे । ‘बाआमा रुँदै नजा भन्थे, हामी संसार जितेर आउँछौं भन्दै हिँडेका थियौं,’ उनले भने, ‘हामी अहिले बाआमालाई पनि मुख देखाउन नसक्ने भयौं ।’ उनले ०६२ असोजमा माओवादी घाइते लडाकु, सल्यान दमाचौरकी सीता केसीसँग बिहे गरे । शरीरमा बमका छर्रा बोकेकी सीतालाई हड्डीमा क्यान्सर भएपछि ४ लाख खर्च गरेर चितवनमा उपचार गर्नुपर्‍यो । त्यो रकम जुटाउने अनेक प्रयत्न सफल नभएपछि ऋण लाग्यो । एकातिर आँखा नदेख्ने श्रीमान्, अर्कातिर आफ्नो घाइते र रोगी शरीर । सोच्दासोच्दै सीता डिप्रेसनको सिकार भइन् । अहिले नियमित औषधि खानुपर्छ ।

‘हिजो पो हामी बलिया लडाकु थियौं, पार्टीलाई काम लाग्थ्यौं, आज हामीलाई कसैले खोज्दैन,’ सीताले भनिन्, ‘नसोचौं भन्दा पनि आधा जीवन युद्धमा फालेकाले नेताहरूले चासो दिन्छन् कि भन्ने सोच आइहाल्दोरहेछ तर के गर्नु, अहिले कसैले सम्झिँदैनन् ।’ घाइते, अपांग शरीर बोकेर आफ्नो पुर्ख्यौली घर (सल्यान) फर्कन नसकेको यो जोडी तुलसीपुर–१५, पहेलपारमा कुखुरा र बाख्रापालन गरेर गुजारा चलाइरहेको छ ।

०५७ सालदेखि सशस्त्र द्वन्द्वमा होमिएको यो जोडी आज साँच्चिकै पछुतोमा छ । ‘महिनाको २० हजारभन्दा बढी उपचार खर्च लाग्छ, गणतन्त्रले मात्रै जीवन चल्दोरहेनछ,’ लालबहादुरले भने, ‘गणतन्त्र त आयो तर अपांग जीवन हाम्रा लागि साह्रै पीडादायी भइरहेको छ ।’

घोराही–१७ गैरागाउँका ३७ वर्षीय केशव चौधरीको एउटा आँखो द्वन्द्वकालमै गुम्यो । १३ जेठ ०५९ मा रुकुमको खारास्थित सैनिक ब्यारेक आक्रमणमा ब्रिगेड कमान्डरका रूपमा मोर्चा सम्हालेका चौधरीको बायाँ आँखामा गोली लागेको थियो । शरीरभरि अहिले पनि बमका छर्रा छन् । सद्दे रहन जीवनभर औषधि खानुपर्ने भएको छ । ‘पहिले ज्यान दिन अघि सर्थ्यौं, अहिले कसरी बाँच्ने भन्ने चिन्ता छ,’ उनले भने, ‘जीवनभरलाई औषधि खर्च कसरी जुटाउने, जहान परिवार कसरी पाल्ने चिन्ताले छोपेको छ ।’ श्रीमान्को स्याहारमा खटिएकी लक्ष्मी चौधरीको पीडा पनि त्यस्तै छ । ‘उहाँलाई एक्लै छाड्ने अवस्था छैन । न उहाँले काम गर्न सक्ने, न मैले भ्याउने । छोराछोरी कसरी पाल्ने भन्ने चिन्ता छ,’ उनले भनिन् ।

देशमा सानोतिनो होइन, उथलपुथल हुने गरी परिवर्तन ल्याउने सपना देखेर माओवादीमा लागेकी दाङ बंगलाचुली–२, खाराकी ३१ वर्षीया कुमारी नेपाली द्वन्द्वबाट फर्कंदा एउटा आँखा गुमाएर आइन् । कपिलवस्तु भिडन्तमा गोली लागेको उनको बायाँ आँखो कहिल्यै ठिक भएन । शरीरभरि गोलीका छर्रा छन् । कुमारीका श्रीमान् निमबहादुर नेपाली पनि पूर्वलडाकु हुन् । गुजारा कठिन भएपछि अहिले उनी साउदी अरब पुगेका छन् । कुमारीलाई घरमा दुई छोरा र एक छोरी पाल्न धौधौ छ । उनी बेलाबेला भक्कानिन्छिन् । ‘नेता र कमान्डरहरू पदमा पुगे, बिजोग त हाम्रो पो भो,’ उनले भनिन् ।

‘आफ्नो शरीर आफैंलाई भारी’

पूर्वी रुकुमको हुकाममा व्याप्त जातीय छुवाछुतलाई समातेर तत्कालीन माओवादीले जातीय समानताको नारा लगाएको थियो । त्यही नाराले तानेर भुलबहादुर विकले बन्दुक बोके । थुप्रै लडाइँ लडेका उनलाई २८ कात्तिक ०५९ मा जुम्ला सदरमुकाम खलंगा आक्रमण गर्दा दायाँ खुट्टामा गोली लाग्यो । समयमै उपचार नपाउँदा खुट्टा काट्नुपर्‍यो । अहिले बैसाखीका सहाराले हिँड्छन् ।

‘गरिबको क्रान्ति भनेर लाग्दाको सजाय अहिले भोग्दै छु,’ उनले भने । घर समाजलाई संसार जित्ने सपना बाँडेर हिँडेका भुलबहादुरले द्वन्द्व सकिएपछि घर फर्कने आँट गरेनन् । अहिले उनी दाङको तुलसीपुर–१८, धनखन्नेमा श्रीमती, तीन छोरा र एक छोरीका साथ बस्छन् । ‘एउटा खुट्टाका भरमा रुकुम फर्किन मन लागेन, संक्राम शिविरबाट निस्केपछि यतै सानो घरबास बनाएर बसें,’ उनले भने, ‘अब के खाने, के लाउने भन्ने लडाइँ सुरु भएको छ । जवानी पार्टीका लागि सिध्यायौं, अब आफूसँग के नै बाँकी रह्यो र ?’

एउटा खुट्टा गुमाएका पूर्वी रुकुम हुकामका भुलबहादुर विक वैसाखीको भरमा हिँड्दै

माओवादी ‘क्रान्ति’ ले दिएको चोट सल्यान, कोटमौलाका चक्रपाणि शर्मासँग झन् गहिरो छ । २५ चैत ०६१ मा रुकुमको खारास्थित सैनिक ब्यारेक आक्रमण गर्दा बमको धमाकामा परेपछि उनी हिँडडुल गर्न सक्दैनन् । कम्मरभन्दा मुनिको शरीर चल्दैन । बैसाखीको सहाराले मात्र उभिन सक्ने उनलाई एक जना सहयोगी नभई हुन्न । ‘विशिष्ट श्रेणीका अपांग’ भनेर मासिक १२ हजार ४ सय रुपैयाँ निवृत्तिभरण (निर्वाह भत्ता) पाउँदै आएका थिए तर ०७७ असारयता त्यो भत्ता रोकिएपछि अब औषधि कसरी किन्ने भन्ने पिरलो थपिएको छ ।

त्यतिबेला माओवादीले घाइते, अपांगता भएका र बेपत्ताको खुब गुनगान गाउँथ्यो तर सत्तामा पुगेपछि यो विषयमा बिस्तारै चर्चा कम हुन थाल्यो । शर्मा अहिले आफैँसँग प्रश्न गर्छन्, ‘के यही नियति भोग्न हामीले अंगभंग हुने बाटो रोजेको हो ?’ शर्माजस्ता घाइते र अपांगहरूको माग ठूलो पनि छैन । उपचारको व्यवस्था होस्, गुजारा चलाउने र बालबच्चा पढाउने व्यवस्था होस् । सरकारलाई पैसा दिन गाह्रो भए गर्न सक्ने काममा लगाएर पारिश्रमिक दिए पनि भो ।

घाइते भएर कम्मरदेखि तलको भाग नचल्ने भएका सल्यान कोटमौलाका चक्रपाणि शर्मा वैशाखीसँगै छोरीको सहायताले हिँड्ने प्रयास गर्दै । तस्बिर : दुर्गालाल/कान्तिपुर

श्रीमान् र पाँच छोरी स्याहारिरहेकी चक्रपाणिकी श्रीमती सचित्रालाई अहिले ‘नेता’ भन्ने सुन्दा पनि एलर्जी हुन्छ । ‘सहिद हुनेले बरु यति दुःख पाएनन् होला, हामी त जिउँदै छौं तर पटकपटक मरिरहेका छौं,’ बोल्दा बोल्दै आवेशमा आएकी सचित्राले भनिन्, ‘सरकारलाई बोझ लाग्छ भने घाइते र अपांग पूर्वलडाकुलाई एक ठाउँ जम्मा गरेर गोली हानिदिए हुन्छ ।’

१० कक्षा पढ्दापढ्दै ०५६ सालमा माओवादी लडाकु बनेका पश्चिम रुकुमको रुँघा, बाँदरपानीका चन्द्रबहादुर पुनका साथीहरू कोही सेना समायोजनमा भए, कोही स्वैच्छिक अवकाश रोजेर घर फर्के । स्वैच्छिक अवकाश रोजे पनि एउटा खुट्टाका भरमा उनीचाहिँ घर फर्कन सकेनन् । तुलसीपुरको बिजौरी, थानगाउँमा घर बनाएर बसे । २३ भदौ ०५९ मा अर्घाखाँची सदरमुकाम सन्धिखर्क आक्रमण गर्दा सेनाको ‘ल्यान्डमाइन’ विस्फोटबाट उनको दायाँ खुट्टाको घुँडामुनिको भाग गुमेको थियो ।

पहिलोचोटि बन्दुक बोक्दा १५ वर्षका थिए चन्द्रबहादुर । जोस र उत्साह थियो । अहिले नक्कली खुट्टाका सहाराले मात्र हिँड्न सक्छन् । ‘संविधान आयो, नयाँ व्यवस्था आयो, हाम्रो रगत मिसिएकाले यसको माया लाग्छ,’ उनले भने, ‘तर त्यसकै लागि लडेका हामीलाई आज कसैले सम्झँदैनन् । हामीले अंगभंग हुने गरी लडेर धेरैको उन्नति भयो तर हामी झन् झन् दुर्गति भोगिरहेका छौं ।’ खारालगायत आक्रमणमा सहभागी चन्द्रबहादुरकी श्रीमती हिरामोती पुन पनि पूर्वलडाकु हुन् । अहिले उनी दाङमै घरगृहस्थी सम्हालेर बसेकी छन् । चन्द्रबहादुर रुकुमको सोलाबाङमा केही साथीहरूसँग मिलेर हार्डवेयर पसल चलाइरहेका छन् ।

‘सपनाले तर्साउँछन्’

तुलसीपुर–१०, राइखल्यानका ३६ वर्षीय भूमिलाल चौधरीलाई सिरहाको बन्दीपुर र म्याग्दीको बेनीमा गोली लागेको थियो । बायाँ हात चल्दैन । ‘गुजाराका लागि कामको खोजीमा भौंतारिन्छु, एक हातले गर्ने काम पाइन्न,’ उनले भने, ‘परिवार पाल्न नसक्ने, आफ्नै उपचार गर्न नसक्ने अवस्था आयो । हामीले एकबारको जुनी बर्बाद पार्‍यौं ।’

रुकुम–पश्चिम पुर्तिमकाँडाका ४३ वर्षीय उदय शेर्पाइलीलाई द्वन्द्वकालमा गरेको त्याग र बलिदान खेर गएजस्तो लाग्छ । ०५७ सालमा रुकुमकोट प्रहरीचौकी आक्रमण गर्दा उनको बायाँ कोखाबाट पसेको गोली दायाँ कोखाबाट निस्केको थियो । क्यान्टोनमेन्टबाट स्वैच्छिक अवकाश रोजेर निस्केका उनलाई त्यसपछि घर (रुकुम) फर्कन अप्ठ्यारो लाग्यो । उनी दाङको तुलसीपुर–१८ हेमन्तपुरमा घर बनाएर बसे । ‘गाउँ समाजको सामना गर्न सक्दिनँ होला भन्ने लाग्यो, त्यसैले अशक्त शरीर लिएर गाउँ फर्कने आँट गरिनँ,’ उदयले भने, ‘समाजलाई त छलेँ, जीवन गुजारालाई छल्न सकिने रहेनछ । हिजोआज लाग्छ, बलिदान गर्नु त अपमान भोग्नका लागिरहेछ ।’ घोराही–१२ हापुर–बिजौरीका ४६ वर्षीय खुसीराम चौधरीको शरीर चल्दैन । कुनै बेला आफू ‘जनसेना’ थिएँ भन्ने सम्झँदा उनलाई अहिले ऐंठन हुन्छ । २५ चैत ०६१ मा रुकुम खाराको सैनिक ब्यारेक आक्रमणमा उनलाई टाउको, छाती र घाँटीमा गोली लागेको थियो । ‘त्यसपछि दायाँ हात र खुट्टा चल्न छाड्यो, अहिले केही काम गर्न सक्दिनँ,’ खुसीरामले भने, ‘जीवनभर औषधि खानुपर्ने छ । औषधि किन्ने पैसा छैन ।’

‘क्रान्तिमा लाग्दा देखेका सपना चकनाचुर भए । नेताहरूले सपना मात्रै देखाए,’ खुसीरामले भने, ‘हामी ती सपना पूरा गर्न ज्यानको मतलब नगरी लड्यौं, अहिले हामीलाई तिनै सपनाले तर्साउँछन् ।’ लमही–७, नयाँबस्तीका सुन्दर चौधरी अर्का दृष्टान्त हुन् । दाङको सतबरियास्थित सशस्त्र प्रहरी क्याम्प आक्रमणका क्रममा उनको चिउँडोमा लागेको गोली नाक हुँदै टाउकाबाट निस्क्यो । ‘भाग्यले बाँचेँ तर बाँचेपछिको जीवन झन् पीडादायी भयो,’ सुन्दरले भने, ‘अपमान र बेवास्ता भोग्न पो बाँचेको होला जस्तो लाग्न थाल्यो । हेर्नुहोस् त अहिले कहाँ नेताको जीवन, कहाँ हाम्रो ?’

रुकुम बाँफीकोट–१ लागिमकी डिलकुमारी मल्लले २९ बढी मोर्चामा लडिन् । ६ कक्षा पढ्दापढ्दै ०५८ सालमा माओवादी उक्साहटमा लागेकी मल्लको ०५९ कात्तिकमा रुकुम, जाजरकोटका हिउँले सेताम्मे लेक छिचोल्दै जुम्ला सदरमुकाम खलंगा आक्रमण गर्न जाँदा ‘जनसेना’ मै रहेका बाँफीकोटकै धनबहादुर पुनसँग माया बस्यो । उनैसँग बिहे भयो ।

२५ चैत ०६१ रुकुमको खारास्थित सैनिक ब्यारेक आक्रमण गर्दा श्रीमान् श्रीमती सँगै लडेका थिए । त्यो आक्रमण असफल भएपछि रुकुम–सल्यानको सीमाक्षेत्र, डल्सिङको लेकमा आएर बसेका बेला सेनाले स्थल र हवाई आक्रमण गर्‍यो । सँगै लड्दालड्दै उनले श्रीमान् गुमाइन् । ‘लडाइँमा बलिदानी दिनु नै थियो, उहाँको पालो पहिले आयो भनेर चित्त बुझाएँ । अनि म बाँकी लडाइँमा लडिरहेँ,’ उनले भनिन् ।

शान्ति प्रक्रिया सुरु भएपछि दाङको संक्रामस्थित क्यान्टोनमेन्टमा बसिन् । त्यहाँ ०६६ सालमा सल्यान, काभ्राका घाइते लडाकु सुरजित बुढासँग उनको दोस्रो विवाह भयो । ०६२ सालमा पाल्पाको तानसेन आक्रमणका क्रममा घाइते भएका सुरजितका खुट्टा सुकेका छन् । काम गर्न सक्दैनन् । ठाउँठाउँमा लागेका गोलीका छर्राले डिलकुमारीको पनि शरीर दुखिरहन्छ । घाइते शरीर लिएर शिविरबाट निस्केपछि उनीहरूले नजिकै घरबास बनाए । स्यानी दमार गाउँमा खेतीकिसानी सुरु गरे । त्यसबाटै मुस्किलले

गुजारा चलेको छ । ‘त्यसबेला संसार जित्नुपर्छ भन्ने मात्रै सोचियो,’ डिलकुमारीले भनिन्, ‘आज त उही गृहस्थी, खेतीपाती, गाईबाख्रा गर्नुपर्ने रहेछ । लडेर के भो र ?’

घाइते वर्गीकरणमा झेल

सरकारले सशस्त्र द्वन्द्वका घाइते र अपांगहरूको अपांगता प्रतिशत निर्धारण र पुनरावलोकन गर्न ०७४ सालमा जारी गरेको कार्यविधिमा सहयोगी आवश्यक पर्ने, ७५ प्रतिशतभन्दा धेरै अपांगता भएकालाई ‘विशिष्टखालका घाइते’ मानेर मासिक १२ हजार ४ सय रुपैयाँ निर्वाह भत्ता दिने उल्लेख छ । सहयोगी उपकरण प्रयोग गर्ने ५० देखि ७४ प्रतिशतसम्म (पहिलो श्रेणी) अपांगता भएकालाई मासिक ६ हजार २ सय रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउने व्यवस्था कार्यविधिमा छ । २५ देखि ४९ प्रतिशतसम्म अपांगता भएकालाई दोस्रो र २४ प्रतिशतसम्म अपांगता भएकालाई तेस्रो श्रेणीमा राखिए पनि उनीहरूलाई भत्ताको व्यवस्था छैन ।

कार्यविधिअनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने घाइते अपांगता प्रतिशत निर्धारण एवं पुनरावलोकन सिफारिस समितिले स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुखको संयोजकत्वमा रहने प्राविधिक समितिलाई यसको सिफारिस गर्नुपर्छ । त्यो सिफारिसलाई गृहसचिवको संयोजकत्वमा रहने घाइते अपांगता प्रतिशत अनुमोदन केन्द्रीय समितिले अनुमोदन गरेपछि मात्रै घाइते तथा अपांगहरूले यो सुविधा पाउँछन् ।

यो प्रक्रियामा आफैं जीवन निर्वाह गर्न नसक्ने घाइते, अपांग पूर्वलडाकुहरू छुटिरहेको ‘जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघ’ दाङका संयोजक खगेश्वर घर्तीले बताए । उनका अनुसार दाङमा ७ सय ५० जना घाइते–अपांग पूर्वलडाकु भए पनि भत्ता पाउने २२ जना मात्रै छन् । ‘धेरैले निर्वाह भत्ता पाएकै छैनन्, पाइरहेकालाई पनि कटौती गर्न थालिएको छ,’ घर्तीले भने, ‘यसले गर्दा धेरैको औषधि खाने स्रोत पनि रोकिएको छ ।’ सबै घाइते तथा अपांग पूर्वलडाकुलाई निर्वाह भत्ता, आवास, उपचार, रोजगार र सन्तानको शिक्षाको ग्यारेन्टीका लागि गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाए पनि केही काम नभएको घर्तीको गुनासो छ ।

देशभर अहिले ८ सयभन्दा धेरै आफैं केही गर्न नसक्ने अवस्थाका घाइते तथा अपांग पूर्वलडाकु सुविधाबाट वञ्चित भएको, अहिलेसम्म १६ हजार सूचीकृत भए पनि अझै चार हजारजति घाइते तथा अपांग सूचीकृत हुन बाँकी रहेको घाइते तथा अपांग योद्धा संघका केन्द्रीय अध्यक्ष जीवन बुढाले बताए । ‘कतिपयले फाराम भर्न छुटाए, उनीहरूलाई अब मर्नु न बाँच्नुको अवस्थामा छाडिदिने ?,’ उनले भने । गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढा भने अपांगताको अवस्थामा बर्सेनि सुधार आउने भएकाले सधैं सुविधा दिन नसकिने तर्क गर्छन् । ‘हरेक वर्ष मूल्यांकन गर्दा अपांगता प्रतिशत घटेको हुन्छ, ५० प्रतिशतभन्दा मुनि भएपछि सुविधा पाइँदैन,’ उनले भने, ‘त्यही कारण निर्वाह भत्ता कटौती भएको हो ।’

चिकित्सकीय प्रतिवेदनका आधारमा सुविधा दिइने भएकाले यसमा कुनै पक्षपात नहुने दाबी उनको छ । ‘कोही छुटेमा, चित्त नबुझेमा निवेदन दिन सकिन्छ,’ उनले भने, ‘त्यसपछि मूल्यांकन गर्दा निर्वाह भत्ता पाउनुपर्ने अवस्थाका भए दिन सकिन्छ ।’ कान्तीपुर दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार