मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रवास
  • नेपाल पत्रकार महासंघ यूकेद्वारा कोरोना पीडित पत्रकारका लागि २३ लाख सहयोग

नेपाल पत्रकार महासंघ यूकेद्वारा कोरोना पीडित पत्रकारका लागि २३ लाख सहयोग

  • शुक्रबार, पुस ३, २०७७
नेपाल पत्रकार महासंघ यूकेद्वारा कोरोना पीडित पत्रकारका लागि २३ लाख सहयोग

नेपाल पत्रकार महासंघ युके शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित ‘पत्रकार आपत्कालीन राहत कोष’ मा २३ लाख रुपियाँ जम्मा गरेको छ । उक्त सहयोग रकममध्ये २० लाख रुपियाँ महासंघको अक्षय कोषमा राखिने र बाँकी ३ लाख रुपैयाँ कोरोना महामारीका कारण समस्यामा परेका श्रमजीवी पत्रकारहरुका लागि तत्काल खर्च गरिने गत साउनमा बसेको बैठकमा शाखाका अध्यक्ष नरेश खपांगीमगरले बताएका थिए ।

पत्रकार महासंघ यूकेले सन् २०१७ आयोजना गरेको एक च्यारिटी कार्यक्रममा संकलन गरेको रकममध्येबाट २३ लाख रुपैयाँको सहयोग गर्ने निर्णय गरेको थियो । महासंघको केन्द्रीय कार्यालयमा स्थापित आपतकालिन कल्याण कोषमा शाखाका तर्फबाट २३ लाख ५ हजार ५७७ रुपियाँ जम्मा गरिसकिएको छ ।

संघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सो कोषको अवधारणामा युके शाखाको उल्लेखनीय भूमिका रहेको बताउँदै सहयोगका लागि धन्यवाद दिएका छन् । कोरोना महामारीजस्ता समस्याबाट विश्वभर रहेका नेपाली पत्रकारहरुलाई अहिले परिरहेको र भविष्यमा पर्नसक्ने प्रभावबाट राहत दिन १ करोड रुपैयाँका अक्षयकोष बनाउने उद्देश्यले महासंघले सो कोष स्थापना गरेको हो ।

कोभिड–१९ बाट उत्पन्न समस्याका कारण नेपालमा हजारौं पत्रकारहरुले रोजगारी गुमाएका तथा देशभरि सैयौंको संख्यामा पत्रपत्रिका लगायत थुप्रै एफएम रेडियो स्टेशनहरु बन्द भएका छन् । रोजगार गुमाएका पत्रकारहरुलाई मानवीय सहयोग गर्न आपत्कालीन कोष खडा गरिएको सो कोषमा हालसम्म करिब ७० लाख रुपियाँ जम्मा भइसकेको बताइएको छ ।

यसअघि पनि तत्कालिन अध्यक्ष चिरन शर्माको कार्यकालमा भूकम्प पीडित पत्रकारको लागि नेपाल पत्रकार महासंघको आपतकालिन कोषमा बेलायत शाखाको तर्फबाट १३ लाख रुपैयाँ सहयोग गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार