आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसको शक्ति प्रदर्शन

कांग्रेसको शक्ति प्रदर्शन

  • मङ्लबार, मंसिर ३०, २०७७
कांग्रेसको शक्ति प्रदर्शन

सरकारप्रति नरम भएको आरोप लाग्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ। उसले सरकारको कार्यशैलीविरुद्ध विरोध प्रदर्शनलाई पार्टीको प्रतिष्ठाका रूपमा लिएको थियो।

प्रमुख प्रतिपक्षीका रूपमा कमजोर भूमिका निर्वाह गरेको भन्दै निरन्तर आलोचना खेपिरहेका बेला कांग्रेसले सरकारविरुद्ध सडकबाट शक्ति प्रदर्शन गरेको हो। कोरोना महामारीबीच ‘सांकेतिक’ विरोध प्रदर्शनमा देशभर उल्लेख्य सहभागितापछि कांग्रेस हौसिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले देशव्यापी प्रदर्शनलाई कम्युनिस्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्तिविरुद्धको जनमत भनेका छन्। सभापति देउवाले प्रदर्शनमा व्यापक जनसहभागिता भएको दाबी प्रेस विज्ञप्तिमार्फत गरेका छन्।

‘एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मार्गबाटै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत प्रकट भएको छ’, उनले भनेका छन्।

उनले विरोध प्रदर्शनले कांग्रेसलाई नवीन ऊर्जा प्रदान गरेको उल्लेख गरेका छन्। ‘यो ऊर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष गर्न चाहन्छु’, प्रदर्शनपछि जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु।’ देउवाले मकवानपुरको हेटौंडामा सम्बोधन गरेका थिए।

तनहुँमा मंसिर १७ गते पुल उद्घाटनका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्थानीय प्रशासनले दुव्र्यवहार गर्दै तीन घण्टा हिरासतमा लिएपछि कांग्रेस सरकारसँग चिढिएको थियो। लगत्तै बसेको कांग्रेस शीर्ष नेतासहितको पदाधिकारी बैठकले सरकार ‘अधिनायकवादको बाटो’मा अगाडि बढेको निष्कर्ष निकाल्दै सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो। देशव्यापी विरोध प्रदर्शनलाई पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए।

वरिष्ठ नेता पौडेलले काठमाडौं शान्तिवाटिकामा आयोजित विरोधसभामा यो सरकारले पञ्चायतको झल्को दिएको आरोप लगाए। तनहुँमा पुल उद्घाटनका क्रममा आफूमाथि भएको दुव्र्यवहारलाई नेता पौडेलले पञ्चायतमा रूख रोप्दा तत्कालीन सत्ताले टाउको फुटाउने गरेको स्मरण गर्दै भने, ‘अहिले कम्युनिस्ट शासनमा पुल बनाउँदा करङ भाँचिएको छ। पञ्चायत र कम्युनिस्ट सरकारमा फरक के भयो ?’

पौडेलले सरकारकै कारण लोकतन्त्र, संघीयता, गणतन्त्र र समावेशिता संकटमा परेको दाबी गरे। ‘गाउँ–गाउँमा विशेष अधिकार प्राप्त, कुनै कानुन नलाग्ने नयाँ कम्युनिस्ट वर्ग जन्माउन खोजिएको छ’, उनले भने, ‘सरकारले राज्यको ढुकुटीबाट कार्यकर्ता पोस्ने काम गरिरहेको छ।’

उपसभापति विमलेन्द्र निधिले भक्तपुरमा सम्बोधन गरेका थिए। निधिले यो सरकार शासन गर्न असफल भइसकेको दाबी गरे। सरकार मुलुकका लागि कोरोना महामारीभन्दा पनि खतरनाक भएको उनको जिकिर थियो। ‘नेपालीमा एउटा उखान छ, तस्बिर आफैँ बोल्छ’, निधिले भने, ‘ओली नेतृत्वको कम्युनिस्ट सरकार असफल भइसकेको पुष्टि गर्न उनकै समकक्षी अध्यक्ष प्रचण्डले पेस गरेको १९ पन्ने प्रस्ताव नै पर्याप्त छ। त्यसले पुष्टि गर्दैन र ?’ सरकार असफल भए पनि सरकारविरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव नल्याउने उनको भनाइ थियो।

महामन्त्री डा. शशांक कोइरालाले प्रदेश १ को राजधानी विराटनगरमा आयोजित सभालाई सम्बोधन गरेका थिए। महामन्त्री डा. कोइरालाले नेकपा नेतृत्वको सरकारसँग मुलुकको समृद्धिका लागि कुनै योजना नभएको दाबी गरे।

पोखरामा विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले लोकतन्त्र जोगाउन आन्दोलन गर्नुपर्ने बेला आएको बताए। कांग्रेसले सुरु गरेको विरोध कार्यक्रम कास्टिङ मात्र भएको उनको भनाइ थियो। उनले सरकारको अकर्मण्यताविरुद्ध जनता सडकमा उत्रन बाध्य भएको बताए।

पूर्वसभामुख तारानाथ रानाभाटले यो सरकारले सत्ता टिकाउन सर्वभौमसत्तामाथि नै आँच आउने काम गरेको बताए। पूर्वमन्त्री यज्ञबहादुर थापाले सरकार भ्रष्टाचारमा डुबेको भन्दै जनताको विश्वास गुमाउँदै गएको दाबी गरे।

रुपन्देहीको भैरहवामा आयोजित सभामा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले सम्बोधन गरेका थिए। पाण्डेले भ्रष्टाचारमा लिप्त सरकारले महामारीका बेला जनतालाई सडकमा आउन बाध्य पारेको बताए।

केन्द्रीय सदस्य गगन थापाले मनपरी रूपमा अगाडि बढ्न खोजेको सरकारलाई ठेगान लगाउन आफ्नो पार्टी सडकमा उत्रिएको बताए। सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित विरोधमा सभामा नेता थापाले प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार बढेको आरोप लगाए।

‘सरकार बेलगाम भयो, सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा उत्रिएको छ, सरकार ठेगानमा नआउँदासम्म कांग्रेस सडकबाट फर्किंदैन’ थापाले भने। बझाङमा कांग्रेस कार्यकर्ताको निधनका कारण विरोध कार्यक्रम भएन।

चर्चामा

सम्बन्धित समाचार