बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • साउनयता चितवनमा मरे १६ गैंडा

साउनयता चितवनमा मरे १६ गैंडा

  • आइतवार, मंसिर १४, २०७७
साउनयता चितवनमा मरे १६ गैंडा
चितवन निकुञ्जको मरुठ खोलामा घाइते भेटिएपछि उपचार गर्ने क्रममा मरेको गैंडा । तस्बिर सौजन्य : चितवन निकुञ्ज कार्यालय ।

चुरे पहाड उक्लने क्रममा लडेर घाइते भएको एउटा भाले गैंडा मरेको छ । योसँगै चितवन निकुञ्ज र यस आसपासको मध्यवर्ती क्षेत्रमा साउनयता १६ वटा गैंडा मृत फेला परेका छन् । यीमध्ये चार गैंडा खाग तस्करीका लागि चोरी सिकारीले मारेका हुन् । शुक्रबार घाइते भेटिएको अन्दाजी २०/२५ वर्षको भाले गैंडा शनिबार बिहान साढे चार बजे मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।

निकुञ्जको मध्यक्षेत्र माडी नजिक पर्ने मरुठ खोलामा गैंडा घाइते फेला परेको थियो । ‘घाइते भेटिएको गैंडालाई १२ घण्टा प्रयास गरेर उद्धार गरेका थियौं । पशु स्वास्थ्य प्राविधिकहरुले उपचार पनि सुरु गरेका थिए । तर जोगाउन सकिएन,’ सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले भने । चुरेको डाँडा उक्लन लाग्दा घाँच (साँघुरो, अफ्ठ्यारो र भिरालो परेको ठाउँ)बाट खसेर गैंडा खोलाको भाँसमा परेको उनले बताए।

गैंडालाई हात्तीसहित गएका निकुञ्जका अधिकारीहरु, पशु प्राविधिकहरु र स्थानीयले उद्धार गरेका थिए । भाँसबाट निकालेर हेर्दा गर्दन र खुट्टा भाँचिएको र पछाडिको भाग पूर्णरुपमा अचेत अवस्थामा भेटिएको सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी गराए । पछिल्ला वर्षहरुमा बुढो भएर मात्रै नभइ प्राकृति विपत्ति तथा अनेक खाले दुर्घटनामा परेर गैंडा मर्ने क्रम बढ्दो छ । यो वर्ष पनि अवस्था चिन्ताजनक नै छ ।

तस्करहरुले गैंडाको खागका लागि गैंडा मार्ने गर्दछन् । पछिल्ला वर्षहरुमा चोरी सिकारीले गैंडा मार्ने क्रम लगभग शून्य भएको थियो । तर यो वर्ष चोरी सिकारी पनि सुरु भएका कारण गैंडा संरक्षण चुनौतीपूर्ण बनेको छ । एकसिंगे गैंडा विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । यो गैंडा प्राकृतिक बासस्थलमा नेपाल र भारतका केही सीमित संरक्षित क्षेत्रमा ३५ सयको हाराहारीमा छ ।

पाँच वर्षअघि भएको गणनामा नेपालमा ६४५ वटा गैंडा थिए । त्यसमध्ये चितवन निकुञ्ज र यस आसपासको वन क्षेत्रमा सर्वाधिक ६०५ वटा गैंडा थिए । पछिल्ला वर्षहरुमा चोरी सिकारी केही सुस्त भए पनि प्राकृतिक कारण वा दुर्घटनाले एकै वर्षमा ४३ वटासम्म गैंडा मरेका छन् । गैंडा मारेमा र यसको अंगको ओसार पसार वा कारोबार गरे १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

चर्चामा

सम्बन्धित समाचार