शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • नेपाललाई हिटलरको अनुपम चिनो !

नेपाललाई हिटलरको अनुपम चिनो !

जर्मन तानाशाह हिटलरले राजा त्रिभूवनलाई दिएको मर्सिडिज बेन्ज अब नारायणहिटी संग्रहालयमा हेर्न पाइने

  • सोमवार, मंसिर ८, २०७७
नेपाललाई हिटलरको अनुपम चिनो !

जर्मन तानाशाह हिटलरको नाम नसुन्ने को होला र ! क्रूरता र यहुदीविरुद्धको कदम तथा धेरथोर विश्वयुद्धको इतिहास जान्नेले उनीबारे राम्रै ज्ञान राख्छन् । नजान्नेले पनि नामै मात्र भए पनि सुनेका छन् ।

क्रूर शासक हिट्लरले दोस्रो विश्वयुद्ध जितेको भए के हुन्थ्यो ? भन्ने विषयमा बनाइएका भिडियोहरूले इन्टरनेटमा करोडौं भ्युज पाएका छन् । हिटलरबारे बनाइएका चलचित्र र पुस्तकले बजार पिटेका छन् । चाहे ‘द ब्वाई इन स्ट्रिप्ड पजामा’ होस् वा ‘द पियानिस्ट’ वा अरू कुनै ।

ad
ad
ad
विश्वभरि क्रूरताको पर्यायका रूपमा चिनिएका उनै हिटलरको नेपालसँग राम्रो सम्बन्ध थियो भन्दा तपाईंलाई कस्तो लाग्छ ? हिटलर र तत्कालीन नेपाली शासकहरू (राजा) को भेटघाट भएको थियो ? तिनका बीच के-कस्ता कुरा भएका थिए होलान् ? यो चासोलाई नारायणहिटी राजदरबारमा राखिएको उपहारले उजागर गरिदिएको छ ।

अहिले तिनै जर्मन तानाशाह हिटलरले तत्कालीन नेपाली डिफ्याक्टो शासक राजा त्रिभूवनलाई दिएको गाडी नारायणहिटी राजदरबारको संग्रहालयमा खिया परेर बसेको छ । १२ वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको श्री सदनको मोटर ग्यारेजमा राखिएको यो कार हिटलरसँग नेपालको सम्बन्ध उजागर गर्ने अनुपम चिनो मान्‍न सकिन्छ ।

जर्मनीका तत्कालीन शासक हिटलरले नेपालका राजा त्रिभूवनलाई उपहार दिएको मर्सिडिज बेन्ज कार बिग्रिएर पत्रु बनिसकेको थियो । अहिले त्यसको संरक्षण गरिएको छ । यतिबेला एउटा इतिहास बोकेको यो कारलाई सर्वसाधरणले पनि अवलोकन गर्न पाउने भएका छन् ।

उतिबेला सारा विश्‍व जित्‍न चाहने हिटलरले नेपाललाई मित्र बनाउन चाहेका थिए । सोही क्रममा उनले त्यसबखतको सबैभन्दा राम्रो मोटर नेपाललाई उपहार दिएका थिए ।

मर्सिडिज बेन्ज उत्पादन गर्ने डायम्लरले सन् १९३८ मा बनाएको मोटर (तत्कालीन डायम्लर बेन्ज) भारतसम्म समुद्री मार्ग प्रयोग गरेर ल्याइयो । त्यसपछि भारतको सडकमार्ग हुँदै ल्याइयो । काठमाडौंसम्म बाटो नभएका कारण भीमफेदी हुँदै बोकाएर ल्याइएको गाडी सोही थियो ।

पुरानो भएपछि सो मोटर प्रयोगमा आएन । उप्रान्त पुल्चोक इन्जिनियरिङ क्याम्पसमा राखियो । पछि मोटरको भग्‍नावशेष तत्कालीन राजा ज्ञानेन्द्र शाहले नारायणहिटी ल्याउन लगाए । संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार नेपालमा इतिहासलाई वैज्ञानिक रूपमा राख्ने परम्परा नभएका कारण उक्त गाडी राजा त्रिभुवनबाट कति समय प्रयोग भयो भन्ने जानकारी छैन ।

“लामो समय पुल्चोक इन्जिनियरिङ कलेजमा थन्किएको गाडी नारायणहिटी ल्याइएको थियो,” उनले बाह्रखरीसँग भने, “दरबारलाई संग्रहालय बनाइएपछि उक्त गाडीलाई नेपालकै मेकानिकले मर्मत गरे । रङरोगनपछि मोटर हेर्नलायक बनाइएको हो ।”

मोटर सन् १९३९ मा देखिने झैं बनाइयो । नबुझिने पुरानो नम्बर प्लेट राखियो, बा.अ. ९३८ ।

शनिबारदेखि नै तत्कालीन युवराजधिराज दीपेन्द्र, अधिराजकुमार नीराजन र अधिराजकुमारी श्रुतीले चढ्ने खेलौना गाडीलगायत विदेशी पाहुना आउँदा सवारी गराउने गाडी पनि सर्वसाधारणहरूले हेर्न पाउने गरी खुला गरिएको छ ।

सार्वजनिक प्रदर्शनमा राखिएको उक्त गाडी अहिले इन्जिन स्टार्ट गरेर चल्ने अवस्थामा भने छैन । दाहालका अनुसार अहिले पनि इन्जिन बनाउन त सकिने तर धेरै पैसा लाग्‍ने भएकाले नबनाइएको हो ।

८२ वर्षअघि बनेको गाडीका पार्टपुर्जाहरू पाउन असम्भवप्रायः छ । मर्सिडिज लामो समयसम्म थन्किएर रहेका कारण रङ खुइलिएको थियो । जसलाई पुरानो रङ कायम हुने गरी मेसिनबाट स्प्रे गरिएको हो । दाहाल भन्छन्, “गाडी नेपाल आउँदा जस्तो थियो त्यस्तै देखिने गरी संग्रहालयमा राखिएको छ ।”

नारायणहिटी राजदरबारका तत्कालीन सचिव शम्भु अधिकारीका अनुसार उक्त गाडीलाई बन्दरगाहबाट ट्रेनमा वीरगन्जसम्म ल्याइएको हो । त्यहाँबाट लरीमा मकवानपुरको भीमफेदीसम्म ल्याइयो । त्यहाँबाट चाहीँ नोलनालामा बोकेर काठमाडौं ल्याइएको हो ।

अधिकारी भन्छन्, “भीमफेदीबाट काठमाडौं ल्याउन हप्तौं दिन लागेको हुनसक्छ । सम्भवतः यो गाडी काठमाडौंले देखेको पहिलो मोटरगाडी हो ।” काठमाडौंलाई बग्गीको आयामबाट गाडीको अनुभवमा रुपान्तरण गर्न यो मोटरले आधुनिक नेपालको इतिहासमा ठूलो भूमिका खेलेको उनको भनाइ छ ।

इतिहासकारहरूका अनुसार चन्द्रशमशेरको समयपछि मात्र काठमाडौंले मोटर देखेको हो । बग्गीभन्दा फरक र घोडाबिना चल्न सक्ने भएकाले गाडीको चर्चा त्यसबेला निकै हुन्थ्यो । त्यसताका नेपाल भित्रिएका नयाँ मोडलका गाडीहरूको पाटपुर्जा छुट्याएर ल्याइन्थ्यो र यहीँ एसेम्बल गरिन्थ्यो । यो परम्परा विसं. २०२६ सालसम्म चलिरह्यो ।

अहिले हिटलरको त्यो सौगात बग्गीकै स्वरूपमा छ । जसलाई मोटरले तान्दैन । आधुनिक नेपालका लागि यस गाडीले महत्त्व राख्नुको कारण पनि छ । यो सौगातले हिटलरको कूटनीतिक कलालाई झल्को दिन्छ । गोर्खालीहरूको वीरताका कारण नेपाललाई रणनीतिक रूपमा नजिक बनाउन हो वा नेपालमा जर्मन साम्राज्य विस्तार गर्न, यो उपहारको छुट्टै महत्त्व छ ।

कार्यकारी निर्देशक दाहाल भन्छन्, “नेपालीका लागि यो सौगातले रोमाञ्‍चक प्रदान गर्छ नै, आधुनिक जर्मनका लागि पनि यो गाडी चाखको विषय हुन सक्छ ।” बाह्रखरीबाट

चर्चामा

सम्बन्धित समाचार