शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • दुर्घटनाको रहस्यः दुर्घटनाअघि पनि झन्डै खसेको थियो गाडी

दुर्घटनाको रहस्यः दुर्घटनाअघि पनि झन्डै खसेको थियो गाडी

  • शुक्रबार, कार्तिक २८, २०७७
दुर्घटनाको रहस्यः दुर्घटनाअघि पनि झन्डै खसेको थियो गाडी

विहिबार दार्चुलाको गन्नाबाट पवनदूत यातायातको ना५ख ५१४१ नम्बरको बस मध्यान्न १२ बजे महेन्द्रनगरका लागि छुटेको थियो । सोही बसमा अछामका अमृत कुमाल सवार थिए । दार्चुलामा स्काभेटर चलाउने उनी तिहार मनाउन अछाम घर जादै थिए ।

दुर्घटना भएको बसमा यात्रुको संख्या धेरै नभएको बताउने उनले बस थोत्रो रहेको बताएका छन् । ‘६ जना बस्न मिल्ने पछाडी सिटमा हामी ३ जना मात्रै थियौं । बस पाटन बजारबाट माथि चड्दा बिस्तारै गुडिरहेको थियो । बस बीच–बीचमा रोक्किरहेको थियो’ उनी भन्छन् , ‘गाडीमा केही न केही समस्या छ भनेर उत्रिन खोजेको चै हुँ तर बिस्तारै लगिहाल्छ होला भन्ने लागेको थियो ।’

उनले दुर्घटनाअघि पनि एक पटक बस पल्टिन खोजेको बताए । ‘दुर्घटना भन्दा अगाडी पनि चालकले बस फाल्न खोजेका थिए । तर त्यसको केहीपछि बस पल्टिहाल्यो’ कुमालले भने ।

बस सडकबाट ३/४ पटक फनफनि घुमेर पल्टेको उनले सुनाए । टुक्रा–टुक्रा भएको बसबाट आफै बाहिर निस्केर सडकमा आएको उनी बताउँछन् । कुमाल हाल डडेल्धुरा अस्पतालमा उपचररत छन् । उनको टाउकोमा चोट लागेको छ ।

यस्तै बसमा सवार अर्का यात्रु कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का ५५ वर्षीय हर्कबहादुर धामीले पनि बसमा नै खराबी भएका कारण दुर्घटना भएको बताएका छन् । ‘गाडी बिग्रेको थियो, हामीले चालकलाई बिग्रेको गाडी किन चलाउँदै हुनुहन्छ ? राम्रोसँग बनाउनुस् भन्यौं तर चालकले केही हुँदैन भनेर चलाएर ल्याएका थिए । पछि त त दुर्घटना भइहाल्यो’ उनले भने । उनी पनि डडेल्धुरा अस्पतालमा उपचाररत छन् ।

बसबाट खसेका पुरनले प्रहरीलाई गरेको त्यो फोन कल
दार्चुलाको नौगाड गाउँपालिकाका २० वर्षीय पुरन टमटा पनि सोही बसमा सवार थिए । आफु मस्त निन्द्रामा रहेको बताउने उनको खोड्पे पुगेपछि खाना खाने योजना रहेको थियो । म बसको बीचतिरको सिटमा बसेको थिए । मजाले सुतिरहेको मैलै बस खसेपछि मात्रै थाहा पाएको थिए’ उनले भने, ‘म उठ्दा बस म भन्दा अलि तल थियो म भुँईमा लडेको थिए ।’

त्यसपछि उनले नै प्रहरीलाई सर्वप्रथम दुर्घटनाका बारेमा जानकारी गराएका थिए । उनी भन्छन्, ‘झ्यालबाट निस्केको मेरो छेउमै झोला थियो, त्यसमै भएको मोबाइलबाट बैतडी प्रहरीलाई जानकारी गराएर म रोडतिर उक्लिए । बीच बाटोमै माथिबाट आएका स्थानीयलाई भेटे र म सडकमा पुगे ।’ हाल पुरन धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत छन् ।

दार्चुलाबाट महेन्द्रनगरतर्फ जादै गरेको पवनदुत यातायातको बस राति साढे १० बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बसका चालक बैतडीको दोगडाकेदार ७ खोचलेकका विरेन्द्र कार्की समेत घाइते रहेका छन् ।

सानो घुम्तीबाट बस ६ सय मिटर जति तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण प्रसाद अधिकारीले बताए ।

चर्चामा

सम्बन्धित समाचार