बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • चार महिनामा कैलालीका १० जना कोरोना संक्रमितको मृत्यु

चार महिनामा कैलालीका १० जना कोरोना संक्रमितको मृत्यु

  • शुक्रबार, अशोज १६, २०७७
चार महिनामा कैलालीका १० जना कोरोना संक्रमितको मृत्यु

चार महिनाको अवधिमा कैलालीका १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। जेठ २४ गते कोरोना भाईरसले सुदूरपश्चिममा दोस्रो र कैलालीमा पहिलो मृत्यु भएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो। उनमा मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो। मिर्गौलाकी बिरामी उनको सेती प्रादेशिक अस्पतालमा डायलासिस वार्डमा मृत्यु भएको थियो भने अन्तिम संस्कार गरेपछि मात्रै कोरोना रिपोर्ट आएको थियो।

असार ३ मा कोरोना भाईरसको संक्रमणले कैलालीमा दोस्रो मृत्यु भयो। कैलालीको लम्कीचुवा नगरपालिका वडा नम्वर २ की ४३ वर्षीया महिलाको कोरोना भाईरसका कारण मृत्यु भएको थियो। उनलाई न्यूरोसम्बन्धी समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो। शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएकोमा मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो।

सोही दिन कैलालीका थप एक जनाको कोरोना भाईरसका कारण मृत्यु भयो। जिल्लाको गोदावारी नगरपालिकाका ४६ वर्षीय पुरुषको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार क्रममा मृत्यु भएको थियो। उनमा भने मृत्युअघि नै कोरोना पुष्टि भएको थियो। धनगढीको नवजिवन अस्पतालमा भर्ना हुँदा उनमा संक्रमण पुष्टि भएको थियो भने त्यसपछि मात्रै उनलाई सेती अस्पतालमा लगिएको थियो। उनी बस व्यवसायी थिए।

असार १३ गते कैलालीकै थप एक जनाको कोरोना भाईरसका कारण मृत्यु भयो। क्यान्सर पीडित कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको थियो। मृतक फोक्साको क्यान्सरको उपचार गराइरहेका थिए भने मृत्युअघि नै कोरोना पुष्टि भएको थियो।

साउन ३२ गते मृत्यु भएका कैलालीकै पुरुषमा भदौ ९ गते कोरोना पुष्टि भएको थियो। काम गर्न कैलालीको मोहन्याल गाउँपालिकामा वडा नम्वर ३ मा पुगेका ४९ वर्षीय पुरुष साउन ३२ गते बेहोस भएका थिए। अचेत अवस्थामा रहेका उनलाई त्यहाँबाट उपचारका लागि तराई ल्याउँदै गर्दा मोहन्याल गाउँपालिकामै मृत्यु भयो। भदौ १ गते दाहसंस्कार गर्नुअघि बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य शाखाले स्वाब संकलन गरेकोमा ९ दिनपछि कोरोना पुष्टि भएको थियो।

भदौमा १० गते सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भयो। गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुषको मृत्यु भएको थियो। धनगढीको निसर्ग अस्पतालको आईसियूमा उपचार भईरहेकोमा कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो।

भदौ ३१ गते सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ५७ बर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो। भदौ १७ गते कोरोना पुष्टि भएको थियो भने कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो। संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार भएको थियो भने रेम्डेसिभिर औषधि समेत प्रयोग गरिएको थियो।

असोज १० गते भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका १ का ३० वर्षीय युवकको मृत्यु भएको थियो। उनीमा मृत्युपछि संक्रमण पुष्टि भएको हो। मृतक युवक श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रवार अस्पताल भर्ना भएका थिए। उनको सोहीदिन राति मृत्यु भएको थियो। उनमा मृत्यु पश्चात् शनिवार मात्रै संक्रमण पुष्टि भएको थियो। ती पुरूषलाई सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार गरिएको थियो। मृतक पुरूष मिर्गाैलाको दीर्घरोगी रहेको अस्पतालले जनाएको थियो।

असोज १२ गते धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु भयो। सेती प्रादेशिक अस्पतालमा उपचाररत वडा नम्वर १ की ६३ बर्षीया संक्रमित महिलाको आज मृत्यु भएको हो। ति महिलालाई असोज १० गते कोरोना पुष्टि भएको थियो भने उनको आईसियूमा उपचार भईरहेको थियो। स्वासप्रश्वासमा समस्या भएपछि उनी कोरोना पुष्टि हुन अगाडिदेखि अर्थात ७ गतेदेखि सेतीमा उपचाररत र्थिइन्।

असोज १४ गते सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीकी कोरोना सक्रमितको मृत्यु भएको थियो। गोदावरी नगरपालिका वडा नम्वर १२ की ३० बर्षीया महिलाको मृत्यु भएको हो। निमोनियाकी बिरामी रहेकी उनी बुधवार बिहान ११ बजे अस्पतालमा भर्ना भएकी थिईन्। राति ८ बजे मृत्यु भएकोमा आज कोरोना पुष्टि भएको हो। योसंगै चार महिनाको अवधिमा सुदूरपश्चिमका २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका १०, अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेल्धुराका एक/एक जना संक्रमितको मृत्यु भएको हो।

चर्चामा

सम्बन्धित समाचार