शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बझाङ कालंगाको साढे तीन किमी सुरुङ निर्माण सम्पन्न

बझाङ कालंगाको साढे तीन किमी सुरुङ निर्माण सम्पन्न

  • बुधबार, अशोज १४, २०७७
बझाङ कालंगाको साढे तीन किमी सुरुङ निर्माण सम्पन्न

बझाङ : निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको सुदूर पश्चिमकै ठुलो कालंगा गाड जलविद्यूत आयोजनाको करिब साढे तीन किलोमिटर सुरुङ निर्माणको काम सम्पन्न (ब्रेकथ्रू) भएको छ। बुगंल नगरपालिका ५ र वित्थडचिर गाउँपालिकाको वडा नम्बर ६ र ८ मा पर्ने उक्त सुरुङको निर्माण कार्य शुक्रबार दिउँसो सम्पन्न भएको हो।

सुरुङ निर्माणमा संलग्न टोलीले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर अन्तिम विष्फोटन (फाइनल ब्लास्ट) गरेको थियो। ३ हजार ४ सय ६८ मिटर लम्बाईको उक्त सुरुङबाट बुङगल नगरपालिकाको पाउटामा रहेको कालंगा नदीको पानी वित्थड चिर गाउँपालिकाको घोडादाउनामा रहेको विद्युत गृहमा झारिने छ।

तल्लो कालंगा गाड नाम दिइएको यो खण्डबाट १५ दशमलव ३३ मेघावाट विद्युत उत्पादन हुने अनुमान गरिएको छ। ‘सुरुङको ब्रेक थ्रू भएसँगै यो आयोजनाको मुख्य काम सबै सम्पन्न भएको छ,’ आयोजना प्रमुख बखतबहादुर शाहीले भने,‘संरचनाहरुको फिनिसिंङ गर्न केही समय लाग्ने भएकोले पुसबाट मात्रै विद्युत उत्पादन सुरु हुने छ।’

उनले निर्माण सम्पन्न भएको सुरुङ पेनस्टक सुरुङ रहेको बताउँदै सुरुङभित्र पाइप बिछ्याउने काम पनि सम्पन्न भइसकेको बताए। यस्तै, हेड वर्कस, पावरहाउस, प्रसारण लाइन निर्माणको काम पनि अन्तिम चरणमा रहेकाले पुसभित्रै विद्युत उत्पादन हुने कुरामा ढुक्क रहेको शाहीले बताए।

कालंगागाड (१५.३३ मेघावाट), माथिल्लो कालंगागाड (३८ दशमलव ४६ मेघावाट) र माथिल्लो सानीगाड (१० दशमलव ७० मेघावाट) गरि करिब ६५ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको यस आयोजनाको तीन वटै सेक्सनमा लकडाउनको अवधिमा पनि द्रूत गतिमा काम भइरहेको आयोजनाले जानकारी दिएको छ।

आयोजनाले तीनवटै सेक्सनको ८० प्रतिशत काम सम्पन्न भइसकेको र १५ प्रतिशत भन्दा बढी प्रगति लकडाउनको अवधिमा भएको जानकारी दिएको छ। यस आयोजनाको सुरुङ निर्माण कार्य १०० प्रतिशत, इन्टेक, ड्याम साइट र बक्स कल्भर्टलगायत बाहिरी संरचना निमार्णको कार्य ६५ प्रतिशत र विद्युत गृह निमार्णको कार्य ९५ प्रतिशत भन्दा बढी सम्पन्न भैसकेको छ। -कान्तिपुरबाट

चर्चामा

सम्बन्धित समाचार