बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन, गाउँ सिल गरेर कन्ट्याक्ट ट्रेसिङ

कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन, गाउँ सिल गरेर कन्ट्याक्ट ट्रेसिङ

  • बिहिबार, अशोज ८, २०७७
कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन, गाउँ सिल गरेर कन्ट्याक्ट ट्रेसिङ

डडेल्धुरामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ। नवदुर्गा गाउँपालिका–२ का ४८ वर्षीय मृतक पुरुषको शव अमरगढी नगरपालिका–११ स्थित रडुवाखोलामा नेपाली सेनाले व्यवस्थापन गरेको हो।

रणबम गणबाट खटिएको सेनाको टोलीले मृतक पुरुषको शव बिहिबार दिउँसो व्यवस्थापन गरेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले बताए।

मृतकको गाउँ सिल गरेर कन्ट्याक्ट ट्रेसिङ
भारतबाट दुई दिनअघि मात्रै आएका मृतकलाई भारतमै कोरोना संक्रमण पुष्टि भएको खुलेको छ। संक्रमण भएपछि उनी कञ्चनपुरको त्रिनगर नाका भएर सोझै नवदुर्गा गाउँपालिका–२ स्थित आफ्नो घर गएका थिए।

तर २ दिनपछि श्वासप्रश्वासमा समस्या भएको भन्दै उनलाई उपचारको लागि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल पुगेको केहि बेरमै मृत्यु भएका उनीमा डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको थियो।

संक्रमितको मृत्युपश्चात गाउँ सिल गरेर उनको सम्पर्कमा आएकाहरुको खोजी गरिँदैछ। वडा नम्बर २ को कार्यायले सूचना जारी गर्दै आवतजावत नहुनेगरी वडा सिल गरिएको जनाएको छ। पूर्वमा बेडपानी खोला, पश्चिमको बुङडा गाड, उत्तरमा अशिग्राम देवस्थल र दक्षिणमा रडुवा खोला लामाखेत गाडसम्म सिल गरिएको वडाअध्यक्ष रघुनाथ भट्टले बताए।

त्यस्तै उनको सम्पर्कमा आएकाहरुको लगभग खोजी भइसकेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले जानकारी दिए। ‘उनको सम्पर्कमा आएकाहरुको संख्या धेरै छैन। उहाँहरुलाई ५ दिन क्वारेन्टिन बसाएपछि स्वाब लिने प्रक्रिया हुनेछ’ उनले भने।

चर्चामा

सम्बन्धित समाचार