शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • डाक्टर भन्छन्, केसीलाई आइसियू राख्नुपर्छ, केसीको अडान- म आइसियू जान्नँ

डाक्टर भन्छन्, केसीलाई आइसियू राख्नुपर्छ, केसीको अडान- म आइसियू जान्नँ

  • आइतवार, अशोज ४, २०७७
डाक्टर भन्छन्, केसीलाई आइसियू राख्नुपर्छ, केसीको अडान- म आइसियू जान्नँ

जुम्लामा अनसनरत् चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्यमा दिनानुदिन समस्या आइरहेको छ।

जुम्लाको सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा अनसनरत् केसीको स्वास्थ्यमा समस्या आइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताए।

डा. केसीको शरीरमा क्रमिक रुपमा कमजोरीहरू आइरहेको उनले बताए। ‘उहाँलाई चक्कर लाग्ने, मांसपेशी बाउँडिने, मुटुको चाल घटबढ हुने जस्ता समस्या भएको छ,’ डा. रावलले भने, ‘शुक्रबार राति छाती अत्यधिक दुखेको थियो, स्वास फेर्न पनि गाह्रो भएको छ।’

रावलका अनुसार डा. केसीको पिसाबको मात्रामा पनि कमी आएको छ।

रक्तचाप कम, रगतमा चिनीको मात्रा कम देखिएको छ। नशाबाट सलाइन लिन डा. केसील नमानेको उनले बताए। दिनमा कम्तीमा पनि तीन पटक स्वास्थ्य जाँच गर्न डा. केसीलाई परामर्श दिइएको डा. रावलले बताए।

डा. रावलका अनुसार केसीको उपचारमा चार जना स्वास्थ्यकर्मी खटाइएको छ। डा. अनुप मंगल सुमाल, डा. प्रवीनकुमार गिरी, नर्स सविना थापा उनको उपचारका लागि खटिएका छन्। उनको स्वास्थ्य अवस्थाबारे बुझ्न र उपचार गर्न अर्का एक डाक्टर खटाउन लागिएको उनले बताए।

‘मैले यहाँबाट आफैं एउटा टिम बनाएको छु, टिमले केसी सरलाई अस्पताल जान सम्झाइरहनुभएको छ,’ रावलले भने, ‘तर, उहाँले अस्पताल जान मान्नुभएको छैन।’

डा. रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केसीलाई राख्न आइसियू कक्ष समेत तयार पारिएको बताए।

‘उहाँ अनसन बसेको ठाउँमा गाह्रो भइरहेको छ, अस्पतालमा ल्याउन हामीले खोजिरहेका छौं,’ उनले भने, ‘यहाँ आइसियू कोठा तयार पारेका छौं, पुरोना आइसियू कक्ष अन्त सार्‍यौं, उहाँलाई हामीले राख्न खोजेको आइसियू कोठा राम्रो छ।’

तर, केसीले आफ्नो माग पूरा नभएसम्म कतै पनि नजाने अडान लिइरहेका छन्। उनले माग पूरा नभए जुम्लामै प्राण त्याग्ने घोषणा गरेका छन्।

केसी सोमबारदेखि जुम्लामा अनसनरत् छन्। माग पूरा नभएसम्म सत्याग्रह अन्त्य नगर्ने उनको अडान छ।

उनले विभिन्न माग राखेर सरकारलाई अल्टिमेटम दिइरहेका थिए। तर, आफूले राखेका माग पूरा नभएको भन्दै केसी सत्याग्रहमा बसेका हुन्।

उनले यसपल्टको सत्याग्रहमा विभिन्न ६ बुँदे माग अघि सारेका छन्। केसी लकडाउन अघिदेखि नै जुम्लामा छन्। कर्णालीका विकट जिल्लामा उनी औषधि/उपचार गर्दै हिँडिरहेका थिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबिबिएसलगायतका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनको पहिलो माग छ।

गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन सुरू गर्न उनले माग गरेका छन्। प्रदेश नम्बर दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन उनले माग गरेका छन्।

मागको दोस्रो बुँदामा मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने उल्लेख छ।

कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने केसीको माग छ। २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने केसीको अर्को माग छ।

यस्तै, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न माग गरेका छन्।

बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो नि:शुल्क सेवा सुनिश्चित गर्न र राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद, वाइडबडी, सेक्युरिटी प्रेस खरिद, दरबारमार्गको जग्गा, ओम्नी समूहको औषधि खरीदलगायत सबै ठूला भ्रष्टाचारका दोषीलाई छानवि गरी कानुन बमोजिम कारबाही गर्न केसीले माग गरेका छन्।

उनले बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानबिन र कारबाही चलाउन माग गरेका छन्।

यी सबै प्रकरणका दोषीलाई कारबाही नगरी उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरूमाथि पनि छानविन र महाभियोगलगायतका कारबाही गर्न उनले माग गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार