शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु

कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु

  • शुक्रबार, साउन ३०, २०७७
कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु

कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

गम्भिर अवस्थामा कोशीमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ देखिएको थियो । बिहीबार राति करिब सवा ८ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

बिहीबार कोशी अस्पताल भर्ना भएका उनमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो । उनको शरीरमा रगतको कमी पनि देखिएको डाक्टर दासले बताए ।

उनको बिहीबार दिउँसो स्वाब संकलन गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि ती पुरुषलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउन खोजिएको थियो । तर धरानले बेड खाली नभएको बताएपछि कोशी अस्पतालको आइसोलेसनमै राखिएको थियो ।

बिहीबार नै कोशी अस्पतालको आइसोलेसनमा विराटनगर महानगरपालिका– १५ का ३३ वर्षीय युवकको मृत्यु भएको थियो । कोरोनाको लक्षण देखिएका विराटनगरका युवकको रिपोर्ट नेगेटिभ आएको डाक्टर दासले जानकारी दिए ।

योसँगै मोरङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । ९ मध्ये ६ जनाको कोशी अस्पतालमै मृत्यु भएको हो ।

प्रदेश १ सरकारको तथ्यांक अनुसार यसअघि विराटनगर– ९ का दुई जना, विराटनगर– ३, ५ र १० का एक–एक जनाको मृत्यु भएको थियो । रंगेली नगरपालिका–८, सुनबर्सी नगरपालिका–८ र बुढीगंगा गाउँपालिका– २ का एक–एक पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार