शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपाकाे रमिताः शीर्ष सल्लाहमा, नेताका धर्ना, कार्यकर्ता भने सडक र सञ्जालमा 

नेकपाकाे रमिताः शीर्ष सल्लाहमा, नेताका धर्ना, कार्यकर्ता भने सडक र सञ्जालमा 

  • बुधबार, असार २४, २०७७
नेकपाकाे रमिताः शीर्ष सल्लाहमा, नेताका धर्ना, कार्यकर्ता भने सडक र सञ्जालमा 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद चलिरहेको बेला वालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच वार्ता चलिरहेको छ ।

ओली-प्रचण्ड स्थायी कमिटी बैठक स्थगित गरेर सहमतिका लागि निरन्तर प्रयास जारी राख्दै गर्दा धुम्वाराहीमा पार्टी फुटाउन पाइँदैन भन्दै केन्द्रीय सदस्यहरू धर्ना बसिरहेका छन् ।

ओली-प्रचण्ड बालुवाटारमा चरणबद्ध छलफलमा जुट्दै गर्दा केन्द्रीय सदस्य पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा धर्नामा छन् भने ओली निकट कार्यकर्ता भने दिनदिनै सडक तताइरहेका छन् ।

नेकपाको आन्तरिक विवाद चर्किंदै जाँदा एकले अर्कालाई गलाउने रणनीतिसहित कोठे भेला, धर्नादेखि सडकमा आफ्ना समूहको नेताको सुरक्षार्थ सडक तताउनमा व्यस्त छन् ।

३ पक्ष ३ तिर आआफ्नै ढंगले जुटिरहँदा अर्काथरी कार्यकर्ता भने शीर्ष नेताको पक्ष र विपक्षमा सामाजिक सञ्जालको भित्ता रंग्याउनमा व्यस्त छन् ।

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्ने प्रचण्ड-नेपाल समूहले माग गरेपछि ओलीको समर्थनमा एउटा समूह सडक प्रदर्शनमा उत्रिएको छ भने त्यसको विरोधमा सामाजिक सञ्जाल रंग्याउने काम भएको छ ।

‘आई एम विथ केपी ओली’को ह्यासट्यागसहित पछिल्लो समय ‘देशको मुहार फेर्नु छ साथी, पार्टीभन्दा देश माथि’ भन्दै प्रदर्शन भइरहेको छ । यसरी गरिएको प्रदर्शनमा वीरगञ्जलगायत शहरमा भने नगर्न भन्दै पार्टीका इन्चार्ज रहवर अन्सारीलगायतले सार्वजनिक सूचनासमेत जारी गरेका छन् ।

आज मात्र ओलीको समर्थनमा गंगबु, कलङ्की, चाबहिल, कोटेश्वर, लगनखेल, असन ईन्द्रचोकसहित हेटौँडा, पोखरा, विराटनगरलगायतका शहरमा प्रदर्शन गरिएको छ । शीर्ष नेताबीचको टक्कर कार्यकर्ता तहसम्म पुगेर भिडन्तको अवस्थामा आइपुग्दासमेत नेकपाभित्रका कुनै पनि समूहले एकअर्काविरुद्ध नलाग्न सार्वजनिक अपिलसमेत गरेका छैनन् ।

स्थायी कमिटीबाट सुरु भएको नेताहरूबीचको तिक्तता कोठे बैठक, धर्ना, एकअर्काविरुद्ध प्रदर्शन हुँदै सामाजिक सञ्जालमा आरोप प्रत्यारोसम्म पुग्दासमेत नेतृत्व तहबाट हस्तक्षेप नभएपछि कार्यकर्ता भने पार्टी फुटको सङ्घारमा पुगेको भन्दै चिन्तित छन् ।

‘राम्रो काम गर्छन् भनेर भोट दिएर जिताइयो, २ वर्ष नपुग्दै आफैँ जुधेर मर्लान् भन्ने पीर छ’, केपी ओलीको पक्षमा लगनखेलको प्रदर्शन नियालिरहेका एक जना नेकपा कार्यकर्ता भन्छन्, ‘यिनीहरूले जनमतको अपमान त गरे नै, कार्यकर्ता जुधाएर पनि मार्ने भए । नेकपाभित्र ४ प्रकारका रमिता देखिँदासमेत नेतृत्व नबोलेका कारण पार्टी नेतामा मात्र होइन, कार्यकर्ता तहमा समेत भिडन्त हुने भन्दै उनले चिन्ता व्यक्त गरे ।

चर्चामा

सम्बन्धित समाचार