शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • सोधेकै भरमा कोरोना नेगेटिभ !

सोधेकै भरमा कोरोना नेगेटिभ !

  • सोमवार, बैशाख २९, २०७७
सोधेकै भरमा कोरोना नेगेटिभ !

काठमाडौँ — नुवाकोट शीतलबेसीकी सुनिता कार्की ८ महिनाकी गर्भवती छिन् । नियमित परीक्षण गराउन शुक्रबार काठमाडौं आइपुगिन् । बाटैबाट चाबहिलस्थित घरबेटीलाई फोन गरिन् । ‘घरमा आउन त आऊ तर, टेकुमा कोरोना परीक्षण गरेर मात्रै आऊ’ भनेपछि कोठामा नगई उनी सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपाल पुगिन् ।

उनको साथमा बहिनी पनि थिइन् । दुवैले लाइन लागेर चिकित्सकलाई भेटे । ‘किन आउनुभएको’ भन्ने चिकित्सकको प्रश्नमा उनले घरबेटीले कोरोना परीक्षण गरेर आउनु भनेकोले आएको बताइन् । चिकित्सकले ‘विदेश, नेपालगन्ज, तराईका जिल्ला, उदयरपुर कहीँ जानुभएको छ, विदेशबाट आउनेको सम्पर्कमा हुनुहुन्छ, ज्वरो, खोकी छ कि छैन’ भनेर सोधे । उनले जवाफमा नाइ र छैन मात्रै फर्काइन् ।

सुनिताले सोचेकी थिइन् अब रगत र र्‍याल पनि परीक्षण हुन्छ होला, त्यही रिपोर्ट लिएर घरबेटीलाई देखाउँछु । अस्पतालले उनको न त रगत परीक्षण गर्‍यो, न त स्वाब नै । सुनिताले दिएको जवाफकै आधारमा चिकित्सकले उनमा कोरोनाको लक्षण नभएको भन्दै लेखेर पठाइदिए । यहाँका चिकित्सकहरुले परीक्षण गर्न आउनेहरुसँग परामर्श गरेर यात्रा विवरण र भेटघाटको आधारमा कोरोनाको लक्षण भए–नभएको लेखेर पठाइदिने गरेका छन् ।

आइतबार अस्पताल पुग्दा स्वाब संकलन गर्ने ठाउँमा दुई चिकित्सक परामर्शका लागि बसेका देखिए । उनीहरुले परीक्षण गर्न आउनको ज्वरो नाप्थे । कहाँबाट आएको, कसलाई भेटेका छन् र कहाँ–कहाँ जानुभएको छ जस्ता प्रश्न सोधेका आधारमा कोराना नभएको प्रमाणित गरिदिन्थे । यतिसम्म कि ज्वरो आएर अन्य अस्पतालले रेफर गरेका बिरामीको समेत परीक्षण गरिएको थिएन । परीक्षण नभएका मध्येका एक हुन् डिल्लीबजारका मुकेशकुमार ठाकुर । ज्वरो आएपछि मुकेशलाई उनका बुबा नन्दलालले शनिबार हिँडाएरै वीर अस्तपाल पुर्‍याए । ओपीडी बन्द भएकाले उनलाई आकस्मिक कक्षमा पठाइयो, त्यहाँबाट ज्वरो क्लिनिक । ९९ डिग्री फरेनहाइट तापक्रम देखिएपछि कोरोना जाँच गर्न टेकु अस्तपाल जान भनियो । नन्दलालले बिरामी छोरालाई हिँडाएरै टेकु पुर्‍याए । टेकुमा पनि आकस्मिकबाहेक अन्य सेवा सञ्चालनमा थिएन । सामान्य सोधपुछ गरेर आइतबार आउन भन्दै चिकित्सकले फिर्ता पठाए । आइतबार १० बजे नै उनीहरु टेकु पुगे । तर, कोभिड परीक्षण भने भएन ।

‘कोभिड परीक्षण नगरी अरू अस्पतालले उपचार गर्दिएन । टेकुमा पनि किट नै छैन भनेर परीक्षण गर्दिएनन्,’ नन्दलालले भने, ‘कोभिडको महामारीको बेला हामीलाई परीक्षण गर्दिनुस् भन्दा पनि किट छैन भनेर फर्काइन्छ । अस्पतालमा जाउँ उपचार गर्दैन । घर जाउँ छोरालाई ज्वरो हनहनी छ, अब कहाँ लैजाऊँ ?’ टेकु अस्पतालले मुकेशलाई कोभिड–१९ को लक्षण नभएको कागज लेखिदिएका छन् तर नन्दलाललाई भने परीक्षण नगरी चित्तै बुझेको छैन । ‘दुई दिन धाउँदा पनि परीक्षण भएन,’ उनले भने ।

शनिबार कोरोना परीक्षण गर्न ५४ जना टेकु अस्पताल पुगेका थिए । ‘पछिल्लो समय घरधनी, कार्यालयको दबाबमा कोरोना परीक्षण गर्न आउनेको संख्या बढेको छ,’ अस्पतालका निर्देशक सागरकुमार भण्डारीले भने, ‘परीक्षण गर्ने किट नभएकोले एक सातादेखि परामर्श गरेर कोरोना परीक्षण गर्न आउनेको यात्रा विवरण र भेटेका आधारमा कोरोनाको लक्षण नभएको भनेर पठाउने गरेका छौं ।’ एक सातामा कोरोना परीक्षणका लागि ६ सय ३६ जना आइसकेका छन् । आइतबार पनि १ सय ४९ जना आएका थिए । ‘कोरोनाको लक्षण भएका र यात्रा विवरणका आधारमा मात्रै पीसीआर गर्ने गरेका छौं,’ उनले भने ।

कैदीलाई पनि प्रश्नकै भर

कोठामा छिर्न मात्रै होइन, अदालतमा पेस गर्नुपर्ने कैदीको पनि कोराना भए नभएको प्रमाणित गर्न प्रहरीले टेकुमै ल्याउने गरेको छ । किट नभएपछि उनीहरुको पनि लक्षण र यात्रा विवरण सुनाएकै आधारमा कोरोना नभएको प्रमाणित गरिदिने गरिएको छ । आइतबार बिहान महानगरीय प्रहरी वृत्त स्वयम्भूले एक कैदीलाई अदालतमा पेस गर्नुअघि कोरोना परीक्षण गर्न टेकु लग्यो । हतकडी लगाएकै अवस्थामा उनलाई अस्पतालले सञ्चालन गरेको परामर्श क्लिनिकमा लगिएको थियो । चिकित्सकले उनको ज्वरो नापे । अरूलाई जस्तै उनलाई पनि उपत्यकाबाहिर गएको छ, ज्वरो आएको छ जस्ता प्रश्न सोधे । शंकास्पद नलागेपछि कोभिडको लक्षण देखा नपरेको लेखेर फिर्ता पठादिए ।

बानेश्वरमा कोठा भएकी एक महिलालाई घरधनीले कोरोना परीक्षण नगर्ने हो भने कोठा सर्न दबाब दिएपछि उनी आइतबार टेकु पुगिन् । ‘हिँडेरै अस्पताल आएँ तर परीक्षण भएन,’ उनले भनिन्, ‘कोरोनाको लक्षण नभएको भनेर लेखिदिएका छन् । यही देखाउँछु, मान्छन् कि मान्दैनन् ।’ नेपाली सेनाले पनि ब्यारेक बाहिर रहेकालाई भित्र्याउन परीक्षण गर्न टेकुमै पठाउने गरेको छ । उनीहरुको पनि यात्रा विवरणको आधारमा प्रमाणित गरिदिने गरिएको छ । यसैका आधारमा मात्रै उनीहरु ब्यारेक पस्ने गरेका छन् ।

उपत्यकाबाहिरबाट आएकालाई घरधनीले छिर्न नदिएका, पसल, कार्यालयमा काम गर्न नपाएका, वडा कार्यालयले आफ्नो वडामा बस्न नदिएका, अदालतमा लैजानुपर्ने कैदीसमेतलाई कोरोना भए–नभएको परीक्षण गर्न टेकु अस्पताल पुग्ने गरेका छन् । अस्पतालमा एक साताअघिसम्म आउने सबैको आरडीटीबाट परीक्षण गरेर पठाइए पनि किट सकिएपछि त्यसयता परामर्श मात्रै गरेर पठाउने गरेको अस्पतालका निर्देशक राजभण्डारीले बताए । ‘कोरोनाको लक्षण भएका, संक्रमित क्षेत्रबाट आएकालाई मात्रै स्वाब लिएर पीसीआरबाट परीक्षण गर्ने गरेका छौँ,’ उनले भने, ‘किट नभएकोले उपत्यकाबाहिरबाट आएको भए पनि परामर्श गरेर पठाउनुको विकल्प छैन ।’ दैनिक सरदर ८–१० जनाको मात्रै पीसीआर हुने गरेको उनले जानकारी दिए । ‘कुनै व्यक्तिलाई ज्वरो, खोकी आएको छ । सास फेर्न गाह्रो भएको छ भने पीसीआरबाट परीक्षण गर्छौं,’ उनले भने, ‘अरूलाई कुनै लक्षण छैन भने हामीले लेखिदिने मात्रै गरेका छौं ।’

परीक्षण गरेकालाई पनि सास्ती

लकडाउनलगत्तै चन्द्रिका भण्डारी र दुई छोरी काभ्रेको कोसीपारिस्थित घर गए । उपचार गर्नुपर्ने भएकोले १८ दिनअघि वैशाख ११ मा काठमाडौं फर्किए । टेकुनजिकैको चल्खु टोलको कोठामा सिधै गए । तर, टोलबासीले उनीहरुलाई घरमा छिर्नै दिएनन् । घरबाट ल्याएको झोला बोकेर टेकु अस्पतालमा परीक्षण गर्न पुगे । ज्वरो नापेर कोरोनाको लक्षण नभएको भन्दै चिकित्सकले फिर्ता गरे । फेरि त्यही कागज लिएर उनीहरु कोठामा पुगे । तर, टोलबासीले डाक्टरको सिफारिसलाई वास्ता गरेनन् । ‘रगत जाँचेको रिपोर्ट ल्याउन भनियो,’ चन्द्रिकाले भनिन्, ‘त्यो दिन हाम्रो कोरोना परीक्षण भएन । कोठामा छिर्नै नदिने भएपछि हिँडेर ललितपुरको ग्वार्कोस्थित छोरीको घरमा गयौं ।’

अपांगता भएकी चन्द्रिका बैशाखीको सहारामा १४ गते बिहानै फेरि टेकु अस्पताल आइपुगिन् । आफ्नो समस्या सुनाइन् । चिकित्सकले आरडीटी गरिदिए । नतिजामा कोराना नेगेटिभ देखियो । त्यही रिपोर्टका साथमा छोरीहरुसँगै कोठामा गइन् । ‘हाम्रो रिपोर्ट हेर्न टोलभरिका मान्छे जम्मा भए । यो रोग भनेको १४ दिनपछि पनि देखा पर्छ । फेरि १४ दिनपछिको रिपोर्ट लिएर आउनू, अनि मात्रै छिर्न दिन्छौं भनेर फर्काए । यो रिपोर्टले पनि कोठामा पस्न दिएनन्,’ चन्द्रिकाले भनिन्, ‘कोठामा छिर्न नदिएपछि हिँडेरै छोरीको कोठामा घिस्रिँदै पुगें ।’

१४ दिन बितेको भन्दै उनी आइतबार फेरि अस्पताल पुगिन् । साढे ५ किलोमिटर बाटो तीन घण्टा लगाएर अस्पताल आउँदा उनीजस्तै परीक्षण गराउनेको लामो लाइन थियो । छोरीलाई लाइनमा राखेर उनी थकाइ मार्न बसिन् । परीक्षण गर्न दुई जना चिकित्सक पीपीई लगाएर बसेका थिए । उनीहरुले १४ दिन अघिको रिपोर्ट देखाए । अनि चिकित्सकले सोधे, ‘फेरि किन आउनुभएको ?’ टोलका मान्छेले १४ दिनपछिको रिपोर्ट ल्याएपछि मात्रै कोठामा छिर्न दिन्छौं भनेकाले आएको उनले ती चिकित्सकलाई सुनाइन् । ‘तपाईंहरु विदेशबाट आएको पनि होइन । यस्तो मान्छेलाई किन यसरी दु:ख दिएको ? लक्षण देखा पर्‍यो भने आउनु नत्र बिनाकाममा नआउनू भन्नुभयो । परीक्षण पनि गर्दिनुभएन,’ उनले भनिन्, ‘डाक्टरले त यही कागज लिएर घर जानू भन्नुभयो । तर, कोठा वरिपरिका मान्छेले बुझ्दिँदैनन् ।’

चिकित्सकले कोरोनाको लक्षण नभएको भन्दै लेखेको कागज लिएर उनीहरु कोठामा तर विवाद सुल्झिएन । काठमाडौं–१२ का पदाधिकारी आए । चिकित्सकले लेखिदिएको रिपोर्ट हेरेपछि मात्रै उनीहरुलाई घर छिर्न दिइयो ।

कोरोना परीक्षण गर्न कुन दिन कति आए ?

सोमबार : ५६ जना

मंगलबार : १०० जना

बुधबार : ९१ जना

बिहीबार : ६२ जना

शुक्रबार : १२४ जना

शनिबार : ५४ जना

आइतबार : १४९ जना

साभार कान्तिपुर

चर्चामा

सम्बन्धित समाचार