• होमपेज
  • शिक्षा
  • एसइई र कक्षा १२ का विद्यार्थीलाई घरपायक हुने गरी उपकेन्द्र बनाउन परीक्षा बोर्डको परिपत्र

एसइई र कक्षा १२ का विद्यार्थीलाई घरपायक हुने गरी उपकेन्द्र बनाउन परीक्षा बोर्डको परिपत्र

अहिले कायम केन्द्रबाट गाडी वा पैदलमार्फत एक घन्टामा पुगिने स्थानमा उपकेन्द्र राख्न अनुमति

  • शनिबार, बैशाख २०, २०७७
एसइई र कक्षा १२ का  विद्यार्थीलाई घरपायक हुने गरी उपकेन्द्र बनाउन परीक्षा बोर्डको परिपत्र
फाइल तस्विर

राष्ट्रिय परीक्षा बोर्ड बैठकले एसइई र कक्षा १२ का विद्यार्थीलाई घरपायक पर्ने गरी उपकेन्द्र कायम गर्न जिल्ला परीक्षा समन्वय केन्द्रलाई परिपत्र गरेको छ । लकडाउन खुलेर सामान्य परिस्थिति भएपछि लिइने परीक्षामा विद्यार्थीबीचको दूरी कम्तीमा एक मिटर फरक हुनुपर्ने र एउटा उपकेन्द्रमा ५० विद्यार्थी रहने गरी परीक्षा उपकेन्द्र कायम गर्न बोर्डले परिपत्र गरेको हो ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बोर्डको निर्णयअनुसार परीक्षा केन्द्रमार्फत बिहीबार सबै जिल्ला परीक्षा समन्वय समितिलाई परिपत्र गरिसकेको बताए । सामाजिक दूरी कायम राख्न र विद्यार्थीलाई घरपायक बनाउन परीक्षाको उपकेन्द्र कायम गर्न परिपत्र गरेको उनको भनाइ छ ।

बोर्डको निर्णयअनुसार परीक्षा नियन्त्रण कार्यालयले गरेको परिपत्रमा अहिले कायम भएका केन्द्रबाट गाडी वा पैदलमार्फत बढीमा एक घन्टा टाढासम्म पुग्ने विद्यालयमा उपकेन्द्र कायम गर्न सक्ने गरी जिल्ला परीक्षा समन्वय समितिलाई परिपत्र गरेको छ । उपकेन्द्रमा विद्यार्थीबीचको दूरी एक मिटर र सुरक्षाको प्रत्याभूति हुनुपर्ने उल्लेख छ । उपकेन्द्र कायम गर्दा ८५ प्रतिशतभन्दा बढी विद्यार्थीलाई सहज हुने अध्यक्ष पौडेलले बताए । उनका अनुसार बाँकी विद्यार्थीका लागि अरू उत्तम विकल्प आएमा समेटिनेछ । सहरी क्षेत्र र तराईमा सहज हुने भए पनि हिमाली क्षेत्रमा थोरै विद्यार्थी हुने भएकाले समस्या हुने बोर्डका कर्मचारीको भनाइ छ ।

केन्द्र थप्दा पुनः प्रश्नपत्र छाप्नुपर्ने भएपछि उपकेन्द्र
एसइईका लागि देशभर एक हजार नौ सय ९५ र कक्षा ११ र १२ का लागि एक हजार एक सय ४६ केन्द्र कायम भएका थिए । एसइईको प्रश्नपत्र कतिपय इलाका र अधिकांश जिल्ला प्रहरी कार्यालयमा पुगिसकेका छन् । कक्षा ११ र १२ का प्रश्नपत्र छपाइ भइसकेर जनक शिक्षा केन्द्रमै राखिएका छन् । केन्द्र थप गर्दा अहिलेको प्याकिङ फुटाएर नपुग्ने भएकाले थप छपाइ गर्नुपर्ने बोर्डका कर्मचारीको भनाइ छ । परीक्षा केन्द्र कायम गर्दा पुनः प्रश्नपत्र छपाइ गर्नुपर्ने, समय र खर्च पनि धेरै लाग्ने भएकाले उपकेन्द्र कायम गर्ने बोर्डले निर्णय गरेको हो ।

कक्षा ११ को विषयमा भने बोर्डले कुनै निर्णय गरेको छैन । परीक्षा सञ्चालन हुने दिनमा सुरक्षाकर्मीको रोहवरमा प्रश्नपत्र बाँडफाँड गरेर लैजान सक्ने भएकाले बोर्डले कुनै निर्णय नगरेको हो । अहिले एसइईका प्रश्नपत्र परीक्षा केन्द्रका नजिकैका प्रहरी कार्यालय र केही जिल्ला प्रहरी कार्यालयमा राखिएका छन् । ‘कि त महामारीले परीक्षा लिनै नसक्ने अवस्था भएमा फरक हुन सक्छ, नभए अहिलेको बोर्डको सर्कुलर कार्यान्वयनमा आउँछ,’ बोर्ड अध्यक्ष पौडेलले भने ।

एकैदिन दुई सिफ्टमा परीक्षा गर्न सिफारिस
लकडाउन खुलेर परिस्थिति सामान्य भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को परीक्षा एकैदिन फरक सिफ्टमा सञ्चालन गर्न विज्ञसहितको समितिले सिफारिस गरेको छ । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेलको संयोजकत्वमा गठन गरेको परीक्षा समितिले बिहान एसइई र दिउँसो कक्षा १२ को परीक्षा लिनुपर्ने सिफारिस गरेको हो ।

समितिले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बिहीबार प्रतिवेदन बुझाएको छ । समितिले विद्यार्थीको घरपायक हुने गरी परीक्षा उपकेन्द्र कायम गर्न र एसइई तथा १२ को परीक्षा एकैदिन दुई सिफ्टमा लिन सकिने प्रतिवेदनमा उल्लेख गरेको छ । बोर्ड अध्यक्ष पौडेलले शैक्षिक सत्रलाई असर पर्न नदिन एसइई र कक्षा १२ को परीक्षा पहिलोपटक एकैदिनमा सञ्चालन गर्न सिफारिस गरेको बताए ।

कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समिति, प्रदेश सरकारले अनुमति दिएपछि मात्र परीक्षा सञ्चालन हुने उनको भनाइ छ । उनले परिस्थिति आफूहरूको हातमा नरहेकाले समय नतोकिएको बताए । शिक्षामन्त्रीलाई ब्रिफिङ गर्दा लकडाउन खुलेर सामान्य परिस्थिति भएपछिको तेस्रो साता परीक्षा सञ्चालन गर्न सकिने मोटामोटी सहमति भएको छ । समितिले हिमाली भेगमा अहिले कायम भएका केन्द्रबाट एक घन्टाको दूरीमा उपकेन्द्र कायम गर्दा पनि विद्यार्थीलाई सहज नहुने भएकाले सामाजिक दूरी कायम गरी खान र बस्ने व्यवस्थापन गर्दा राम्रो हुने सुझाब दिएको एक सदस्यले बताए । शिक्षामन्त्री पोखरेलका स्वकीय सचिव पूरण केसीका अनुसार एसइई र कक्षा १२ को परीक्षासम्बन्धी प्रतिवेदन कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र मन्त्रिपरिषद्मा लैजाने तयारी भएको छ ।

एसइईमा चार लाख ८२ हजार, कक्षा १२ मा चार लाख ३१ हजार परीक्षार्थी
विद्यालय तहमा परीक्षा हुन बाँकी रहेका कक्षा १०, ११ र १२ मा गरी करिब साढे १४ लाख विद्यार्थी छन् । यस वर्ष एसइईमा कुल चार लाख ८२ हजार दुई सय १९ सहभागी हुने भएका छन् । कक्षा ११ र १२ मा करिब नौ लाख ६४ हजार परीक्षार्थी छन् । कक्षा ११ मा पाँच लाख ३२ हजारभन्दा बढी र कक्षा १२ मा चार लाख ३१ हजारभन्दा बढी परीक्षार्थी छन् । कक्षा ११ र १२ का लागि एक हजार एक सय ४६ परीक्षा केन्द्र कायम गरिएका छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल भन्छन्–२५ वैशाखपछि विद्यालय तहमा भर्ना प्रक्रिया सुरु गर्न सकिन्छ

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आगामी २५ वैशाखपछि विद्यालय तहमा भर्ना प्रक्रिया सुरु गर्न आग्रह गरेका छन् । शिक्षा मन्त्रालयले गठन गरेको परीक्षा समितिको प्रतिवेदन बुझेपछि मन्त्री पोखरेलले कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा २५ गतेभित्र सार्वजनिक गर्न र त्यसपछि भर्ना प्रक्रिया सुरुको तयारी गर्न आग्रह गरेको स्वकीय सचिव पूरण केसीले बताए ।

२५ वैशाखपछि सामाजिक दूरी कायम गरी प्रक्रिया सुरु गर्न सकिने मन्त्री पोखरेलको सुझाब छ । गत ५ चैतसम्म कक्षा नौसम्मको वार्षिक परीक्षा सकिए पनि कोरोनाको जोखिम बढेपछि शैक्षिक संस्था बन्द भएकाले नतिजा सार्वजनिक भएको छैन । नयाँ पत्रिकाबाट  #एसइई # परीक्षा बोर्ड

चर्चामा

सम्बन्धित समाचार