सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • विदेशमा रहेका १५ सय नेपालीमा कोरोना संक्रमण, ३६ जनाको मृत्यु

विदेशमा रहेका १५ सय नेपालीमा कोरोना संक्रमण, ३६ जनाको मृत्यु

  • आइतवार, बैशाख १४, २०७७
विदेशमा रहेका १५ सय नेपालीमा कोरोना संक्रमण, ३६ जनाको मृत्यु

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा कोरोना संक्रमित नेपालीको संख्या १५ सय पुगेको जनाएको छ। एनआरएनएका अनुसार कोरोनाका कारण ३६ जना नेपालीकाे मृत्यु भएकाे छ।

बेलायतमा २१, अमेरिकामा १०, युएईमा ३, आयरल्याण्डमा १ र टर्कीमा १ जना गरी ३६ जना नेपालीकाे काेराेनाका कारण मृत्यु भएकाे हाे। टर्कीमा ज्यान गुमाएका नेपालीले कोरोना संक्रमण भएपछि आत्महत्या गरेको एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले बताए।

कोरोना संक्रमित हुनेहरुमा सबैभन्दा बढी अमेरिकामा ८ सय, युरोपियन मुलुकहरुमा ४ सयभन्दा बढी र बाँकी मलेसिया र खाडी मुलुकमा गरेर १५ सय नेपालीमा कोरोना संक्रमण भएकाे एनआरएनएले उल्लेख गरेको छ।

एनआरएनएको कोभिड- १९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार युएईमा ७५, कतारमा ५०, बहराइनमा ४९, कुवेतमा ३४, साउदीमा ४ र मलेसियामा ३ जना नेपाली कोरोना संक्रमित भएका छन्।

कोरोना संक्रमित मध्ये युएईमा २, साउदीमा ३, मलेसियामा २ र बेलायतमा १ गरी ८ नेपाली निको भएका छन्।

संघले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुको अवस्था बारे सूचना संकलन गरिरहँदा कतिपय मुलुकहरुले कोरोना संक्रमितहरुको राष्ट्रियता नखुलाएकाले यकिन तथ्यांक अझै आउन नसकेको संघका उपाध्यक्ष बद्री केसीले बताए।

श्रमिकको सुरक्षाका लागि के गर्दैछन् दूतावास?
खाडी तथा मलेसियास्थित नेपाली राजदूतहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई विशेष प्राथमिकतामा राखेको र नेपाली श्रमिकहरुको स्वास्थ्य अवस्थालाई ध्यान दिएको उल्लेख गरेका छन्।

कोरोना जोखिमका कारण विश्व लकडाउनमा रहेको अवस्थामा श्रमिकहरुको रोजगारीलाई भन्दा पनि स्वास्थ्यलाई प्राथमिकतामा राखेर सोहीअनुसार रोजगारदाता मुलुकहरुसँग समन्वय गरिरहेको दूतावासले जनाएको छ।

सचेतनामा जोड : पदम सुन्दास, नेपाली राजदूत बहराइन 
बहराइनस्थि नेपाली दूतावासले सचेतनात्मक कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ। दूतावासले त्यहाँ रहेका नेपालीहरुलाई सामाजिक सञ्जाल र वेभसाइटमार्फत विभिन्न सचेतनात्मक जानकारीहरु अपडेट गराउँदै आएको जनाएको हो।

‘हामी नेपाल सरकार र सम्बन्धित मुलुकको सरकारसँग एकदम नजिकमा रहेर कामदारको सुरक्षाका लागि समन्वय गरिरहेका छौं। अहिले कामदारहरुको रोजगारीमा भन्दा पनि खानपान र स्वास्थ्यमा ध्यान दिन जरुरी छ। दूतावास सोहीअनुसार काम गरिरहेको छ।’ बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास भन्छन्।

बहराइनमा नेपालीहरुको पनि बिनाभेदभाव विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार उपचार भइरहेको उनको भनाइ छ। तत्काल कामदारहरुमाथि पारिश्रमिक, खाने, बस्नेलगायतका समस्या नभएपनि लकडाउन लम्बिँदै गएमा यस्ता खालका समस्या सिर्जना हुन सक्ने उनको आंकलन छ।

अहिलेसम्म नेपालीहरु सुरक्षित छन् : शर्मिला पराजुली ढकाल, राजदूत ओमान
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालीहरुको खबर हालसम्म सुखद रहेको बताइन्। ‘नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको छैन। कोरोनाको आशंकामा कतिपय क्वारेन्टाइन तथा आइसोलेसनमा हुनुहुन्छ। उहाँहरुको पनि रिपोर्ट नेगेटिभ आउने कामना गरौं‚’ राजदूत ढकालले भनिन्। अहिले कतिपय मुलुकमा नेपाली श्रमिकहरुका शव अलपत्र अवस्थमा रहँदा ओमानमा त्यस्तो समस्या पनि रहेको उनको भनाइ छ।

कोरोनाका कारण कसैको ज्यान गएमा सम्बन्धीत मुलुकमा नै अन्तिम संस्कारको व्यवस्था मिलाउन परराष्ट्रबाट पत्र प्राप्त भइसकेको र सोहीअनुसार दूतावासले समन्वय गर्ने राजदूत ढकालले बताइन्।

श्रमिकका समस्या संंकलन गर्दै साउदी दूतावास 
साउदीस्थित नेपाली दूतावासले श्रमिकहरुका समस्या संकलन गर्न सुरु गरेको जनाएको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले रोजगार गुम्ने, खाना र आवासको अभावलगायत समस्या संकलन गरिरहेको उल्लेख गरेको हो।

दूतावासले संकलन गरेका समस्यामाथि समाधानका लागि सक्दो पहल गर्ने दूतावासले जनाएको छ। कतिपय श्रमिकहरुले आफ्नो समस्या टिपाउन हिच्किचाउँदा समस्याको यथार्थता थाहा पाउन कठिन भएको दूतावासले उल्लेख गरेको छ।

अलपत्र परेका श्रमिकहरु राख्दै आएको दूतावासको सेल्टर पनि यो अहिले जोखिमपूर्ण अवस्थामा रहेको र त्यसलाई दूतावासले संवेदनशील रुपमा हेरेको बताएको छ।

कतारमा ६ घण्टामात्रै काम, बाँकी समय स्वास्थ्य सुरक्षामा ध्यान 
कतारमा रोजगारदाता कम्पनीहरुले श्रमिकहरुलाई अर्को सूचना जारी नहुँदासम्म ६ घण्टाभन्दा बढी काममा लगाउन नपाउने भएका छन्। कामको समय र बाँकी समयमा पनि स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ। कतारमा कतिपय नेपाली श्रमिकहरु कार्यस्थलमा खटिएका छन् भने कतिपय क्वारेन्टाइनमा छन्।

क्वारेन्टाइनमा रहेका श्रमिकहरुलाई पनि पारिश्रमिक तथा सेवासुविधा उपलब्ध गराउन रोजगारदातालाई त्यहाँको सरकारले निर्देशन दिएको छ। दूतावासले पनि नेपाली श्रमिकहरुको सहजीकरणका लागि भूमिका खेलिरहेको जनाएको छ।

श्रमिकको स्वास्थ्य सुरक्षामा गम्भीर : मलेसियास्थित नेपाली दूतावास 
मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकहरुको स्वास्थ्य सुरक्षामा गम्भीरताका साथ हेरिरहेको जनाएको छ। सुरक्षा गार्डका रुपमा कार्यरत अधिकांश नेपालीहरु कोरोनाको उच्च जोखिममा रहेर काम गरिरहेका छन्। कतिपय श्रमिकहरु होम क्वारेन्टाइन छन्।

दूतावासले मलेसिया सरकारले लागू गरेको लकडाउन पूर्ण रुपमा पालना गर्न नेपालीहरुलाई आग्रह गरेको छ। त्यस्तै कार्यस्थलमा खटिँदा आधारभूत सुरक्षा सामग्री प्रयोग गर्न र रोजगारदाताले उपलब्ध नगराएमा दूतावासमा खवर गर्न दूतावासले सुझाएको छ।

मलेसियामा कोरोना संक्रमित ३ नेपालीमध्ये दुई निको भइसकेको र बाँकी एक जना उपचाररत रहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए। सम्बन्धित गन्तव्य मुलुकका दूतावासहरुले नेपाली श्रमिकहरुको स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरेका छन्। तर पनि दूतावासले समस्यामा बेवास्ता गरेको श्रमिकहरुको आरोप छ।

समस्या परेर फोन गर्दा फोन नउठ्ने, फोन उठाए पनि श्रमिकहरुका कुरा नसुन्नेजस्ता समस्या रहेको श्रमिकहरुले गुनासो गरेका छन्। मध्यपूर्व तथा खाडीका मुलुकहरुमा रहेका श्रमिकहरुलाई खानाको समस्या देखिन थालिसकेको गैह्रआवासीय नेपाली संघ (एनआरएनए) का सचिव आरके शर्माले बताए।

‘अब कोरोना संक्रमणको अवस्था यसैगरी बढ्दै गएमा विदेशमा लाखौं नेपालीमा खान र बस्नकै लागि समस्या आउँछ। सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषको रकम यस्तो समस्यामा प्रयोगमा ल्याउनुपर्छ’ सचिव शर्माले भने। स्वास्थ्य खबर पत्रिका बाट साभार

चर्चामा

सम्बन्धित समाचार