बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • न्यूयोर्कमा कोरोनाले थप २ नेपालीको मृत्यु

न्यूयोर्कमा कोरोनाले थप २ नेपालीको मृत्यु

  • बिहिबार, बैशाख ४, २०७७
न्यूयोर्कमा कोरोनाले थप २ नेपालीको मृत्यु

बोष्टन (अमेरिका) । करिब ८ वर्षदेखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय नेपाली पवन मल्लको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्स बोलाउँदा पनि मल्ललाई एम्बुलेन्सले नलगेको उनीसँगै अपार्टमेन्ट सेयर गरेर बस्ने अर्का नेपाली सरगम भट्टराईले जानकारी दिएका छन् ।

मल्ल दुईमहिना अगाडि मात्रै भट्टराईसँग एउटै अपार्टमेन्टमा बस्न थालेका थिए । “उहाँलाई गाह्रो भएको देखेर मैले मंगलबार अपरान्ह ४ बजे एम्बुलेन्स बोलाएँ,” भट्टराइले भने, “इमर्जेन्सी स्वास्थकर्मीले जाँच गरे तर त्यति बेठिक नभएको जस्तो ठानेर उनीहरुले घरमै छोडेर गए ।”

मल्ललाई तातोपानी र खाना खुवाएपछि भट्टराई पनि बेलुकाको साढे ११ बजे खाना खाएर सुत्न गए ।  “बिहान उठेर हेर्दा त उहाँ अचेत भइसक्नुभएको रहेछ,” भट्टराईले भने ।

त्यसपछि प्रहरीलाई खबर गरेको उनले जानकारी दिए । प्रहरीले उनको मृत शरीरलाई नजिकैको एल्महस्ट अस्पताल लिएर गएको थियो । नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले नेपालस्थित मृतकको परिवारसँग सम्पर्क भइसकेको जानकारी दिए । विष्टका अनुसार न्यूयोर्कमा अहिले कोभिड १९ लागेर मृत्यु हुनेको संख्या धेरै भएको हुनाले दाह सँस्कारको लागि केही समय लाग्ने जानकारी अस्पतालले दिएको बताए ।

भट्टराइले भने, “उहाँको मृत्यु भइसकेको थाहा भइसकेपछि परिवारलाई तुरुन्त जानकारी दिँदा तनाब होला भनेर नजिकको आफन्तसँग सम्पर्क होस् भनेर फेसबुक पोष्ट गरेँ ।” भट्टराईको फेसबुक पोस्टमा लेखिएको थियो, “काठमाडौं स्थायी घर भएका हाल न्यूयोर्क बस्ने पवन मल्ल (प्रकाश) कोभिड १९ को संक्रमण भएर अस्पतालमा हुनुहुन्छ उहाँको अमेरिका वा नेपालस्थित नजिकको कोही आफन्त हुनुहुन्छ भने कृपयाँ मलाइ फोन गर्नुहोला ।”

कोरोनाभाइरसका लक्षण देखिन थालेपछि मल्ल आफैँ अस्पतालसम्म हिँडेर गएको र त्यहाँ उनलाई कोभिड १९ पोजेटिभ देखिएको थियो ।

अति सिकिस्त नभइकन अस्पतालमा भर्ना नगर्ने अस्पतालको नीति अनुसार उनलाई घरमा नै बसेर आइसोलेसनमा बस्ने सल्लाह चिकित्सकहरुले दिएका थिए ।

“उहाँ अपार्टमेन्टमा आउनुभयो र कोरोना भएको थाहा पाएपछि उहाँलाई खाना तातोपानीलगायतका कुरामा मैले सेवा गरें,” भट्टराईले भने, “उहाँलाई कोरोना भएको थाहा पाए पनि म उहाँलाई छोडेर म अन्त गइन ।” भट्टराईका अनुसार अन्तरमुखी स्वभावका मल्ल डेलीभरी ड्राइभरको रुपमा काम गर्दै आएका थिए ।  कोरोनाभाइरस लागेको पुष्टि भएपछि भने उनी अपार्टमेन्टमै क्वारेन्टाइनमा बसेका थिए । मृतक मल्लका श्रीमती र दुई छोरी नेपालमा रहेको बताइएको छ ।

यसैगरी एल्महस्र्ट हस्पिटलमा गत मार्च २७ मा कोभिड १९ बाट मृत्यु भएका अर्का नेपालीको परिचय खुलेको छ ।  अमेरिकामा आफन्त भए नभएको जानकारी नभएका मृतकको नाम विष्णु राई भएको न्यूयोर्कस्थित महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले जनाएका छन् ।  योसहित न्यूयोर्कमा कोभिड १९ बाट ज्यान गुमाउने नेपालीको संख्या ८ पुगेको छ भने कोलोराडोमा अर्का एक नेपालीको पनि मृत्यु भएको खबर छ । मृतक पवन मल्ल : तस्बिर सरगम भट्टराईको फेसबुकबाट

चर्चामा

सम्बन्धित समाचार