• होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोनाको कहरबीच दक्षिण कोरियामा चुनाव, यसरी हुँदैछ मतदान

कोरोनाको कहरबीच दक्षिण कोरियामा चुनाव, यसरी हुँदैछ मतदान

  • बुधबार, बैशाख ३, २०७७
कोरोनाको कहरबीच दक्षिण कोरियामा चुनाव, यसरी हुँदैछ मतदान

कोरोनाभाइरसको महामारीले विश्वका अधिकांश मुलुकमा ‘लकडाउन’ जारी रहेकै अवस्थामा दक्षिण कोरियामा भने मतदान हुन गइरहेको छ ।

कोरोनाभाइरस नियन्त्रणका लागि अहिलेसम्म सबैजसो मुलुकले सामाजिक दूरीलाई नै कडाइका साथ पालना गर्दै आएको भए पनि दक्षिण कोरियाले विश्वव्यापी महामारीका बाबजुद मतदानको कार्यक्रमलाई यथावत राखेको हो ।

त्यसो त, दक्षिण कोरियाले कोरोनाभाइरस नियन्त्रणका लागि अन्य मुलुकको जस्तो ‘लकडाउन’ पनि गरेन । महामारी नियन्त्रण तथा रोकथामका लागि दक्षिण कोरिया सरकारले गरेको पहलको प्रशंसा भइरहेको छ ।

दक्षिण कोरियामा १० हजार ५ सयभन्दा बढी संक्रमित पाइएका छन् भने तीमध्ये ७ हजार ४ सय मानिस संक्रमणबाट मुक्त भइसकेको बताइएको छ ।

दक्षिण कोरियामा विधायिकाका लागि बुधबार मतदान हुन लागेको हो । मतदानका लागि ४४ मिलियन नागरिक सूचीकृत गरिएका छन् । उनीहरुले नेशनल एसेम्बलीका ३०० सदस्यका लागि मतदान गर्दैछन् ।

मतदान केन्द्रमा मतदाताको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ । उनीहरुलाई मतकेन्द्रको ढोकामै तापक्रम जाँच्ने व्यवस्था गरिएको अधिकारीहरुको भनाइ छ । ३७.५ डिग्री सेल्सियसभन्दा बढी तामक्रम भएको व्यक्तिले विशेष केन्द्रमा गएर मतदान गर्नुपर्नेछ ।

मतदानका लागि लाइन लाग्दा पनि एक अर्काबीच कम्तीमा एक मिटर दुरीमा रहने गरी व्यवस्था मिलाइएको बताइन्छ ।

मतदान केन्द्रलाई किटाणुरहित तुल्याइएको छ । संक्रमणसम्बन्धी अतिरिक्त व्यवस्थाका लागि २० हजारभन्दा बढी कर्मचारीलाई विशेष रुपमा परिचालन गरिएको अधिकारीहरुको भनाइ छ ।

सरकारद्वारा सञ्चालित आइसोलेसनमा विशेष मतकेन्द्र स्थापित गरिएको छ । ‘सेल्फ क्वारेन्टाइन’ मा बसेकाहरुलाई पनि विशेष व्यवस्थाका साथ मतकेन्द्रसम्म गएर मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ । आम मतदाताका लागि बेलुका ६ बजेसम्म मतदानको समयावधि तोकिएको छ, त्यसपछि सेल्फ क्वारेन्टाइनमा बसेकाहरुले मतदान गर्न पाउनेछन् ।

कोरोनाको कहरका बीच यसपटक दक्षिण कोरियामा चुनावी अभियान पनि प्रभावित भएको थियो । उम्मेदवारहरुले पञ्जा, मास्क जस्ता सुरक्षा सामग्री लगाएर चुनावी अभियान सञ्चालन गरेका थिए ।

स्रोत : सीएनएन

चर्चामा

सम्बन्धित समाचार