शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • साइबर अपराधमा पुरुषभन्दा महिलाको संलग्नता बढी

साइबर अपराधमा पुरुषभन्दा महिलाको संलग्नता बढी

  • मङ्लबार, फाल्गुन १३, २०७६
साइबर अपराधमा पुरुषभन्दा महिलाको संलग्नता बढी

काठमाडौं । साइबर अपराधसँग जोडिएका अपराधजन्य विषयमा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै दुरुपयोग पनि बढ्दै गएको र पुरुषभन्दा महिला संलग्नता बढी रहेको पाइएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोमा चालू आर्थिक वर्षको सात महिना (गत साउनदेखि माघ अन्तिमसम्म)मा साइबर अपराधसँग सम्बन्धित दर्ता भएका १ हजार ९६ उजुरीमा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिएको हो ।

सो अवधिमा १८ वर्षमुनिका ४४ र १८ वर्षमाथिका १ हजार ५२ जना साइबर अपराधसँग सम्बन्धित कसुरमा संलग्न रहेको पाइएको छ । उनीहरूमध्ये ६ सय ३० जना महिला, ४ सय ३६ पुरुष तथा अन्य ३० जना संलग्न रहेको तथ्यांकले देखाएको छ, जसमध्ये सो अवधिमा फेसबुक म्यासेन्जरमार्फत १ हजार ५७ साइबर अपराधसँग सम्बन्धित कसुर भएका छन् ।

यस्तै, भाइबरमार्फत ५, इमोमार्फत २, युट्युबमार्फत ४ र ट्वीटरसँग सम्बन्धित ३, इन्सटाग्रामसँग सम्बन्धित ७ र अन्य माध्यममार्फत १८ कसुर भएको ब्युरोको तथ्यांकले देखाएको छ ।

साइबर ब्युरोका उपनिर्देशक एसपी अजय केसीले सामाजिक सञ्जाल प्रयोग गर्दै जाँदा रिस तथा आवेशमा व्यक्ति अपराधजन्य गतिविधिमा संलग्न हुने क्रम बढेको बताए । ‘कतिपय घटनामा चिनजानका व्यक्तिसमेत संलग्न छन्, कतिपयमा नचिनेका व्यक्तिले पनि सामाजिक सञ्जाल प्रयोग गरेर अपराधजन्य गतिविधि गरिरहेको पाइएको छ,’ एसपी केसीले भने ।

उनले गलत विवरण (प्रोफाइल) राखेर सामाजिक सञ्जाल खोल्ने र त्यसको प्रयोगबाट अपराधजन्य गतिविधि बढ्दो क्रममा रहेको बताए । ब्युरोबाट प्राप्त तथ्यांकअनुसार सामाजिक सञ्जालको प्रयोगबाट चिनजान गर्ने, नजिकिने र यसपछि अश्लील क्रियाकलापमा संलग्न हुने, त्यस्ता तस्बिर एकअर्कालाई पठाउने, त्यसबाटै आर्थिक बार्गेनिङ सुरु गर्ने, त्यस्ता अश्लील तस्बिर परिवार तथा आफन्तलाई पठाइदिने धम्की दिनेलगायत क्रियाकलाप हुँदै आएका छन् । यसैगरी, सामाजिक सञ्जालबाटै अन्जान व्यक्तिलाई रिक्वेस्ट पठाउने, विभिन्न प्रलोभन देखाउने र नगद कारोबारमा संलग्न हुन आग्रह गर्ने तथा कारोबार गरिसकेपछि दोहोरो संवाद बन्द हुने अवस्थासमेत बढ्दै गएको छ ।

यस्ता क्रियाकलापमा पुरुषभन्दा बढी महिला संलग्न रहेको ब्युरोको तथ्यांकमा उल्लेख छ । महिला संलग्नतामार्फत पुरुषलाई सहजै आकर्षित गर्न सकिने भएकाले केही पुरुषले महिलालाई माध्यम बनाएर यस्ता गतिविधि गर्दै आएको पाइएको छ ।

आजको राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन्।

चर्चामा

सम्बन्धित समाचार