शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • निजगढमा गुञ्जियो पोखरेली साहित्य

निजगढमा गुञ्जियो पोखरेली साहित्य

  • आइतवार, कार्तिक १०, २०७६
निजगढमा गुञ्जियो पोखरेली साहित्य

निजगढ : प्रणय गजलका लागि चर्चित छन्, प्रकट पंगेनी अर्थात् शिवराज। देशका विभिन्न स्थानमा पुगेर प्रेमका शृंगारिक गजल प्रस्तुत गर्ने प्रकट निजगढ आइपुगे। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको छेकोमा राखिएको साहित्यिक जमघटमा उनको उपस्थितिले निजगढ साहित्यमय बन्यो।

प्रकटसँगै पोखराका २० भन्दा बढी साहित्यिक स्रष्टा निजगढ आइपुगेका थिए। साहित्य परिषद्को निम्तोमा आइपुगेका स्रष्टाको साहित्यिक सिर्जना सुन्न स्थानीयवासीको बाक्लो उपस्थिति थियो। निजगढ–पोखरा साहित्यिक यात्रा नाम दिइएको गोष्ठीमा साहित्यमा रुचि राख्ने स्थानीयवासी पनि सहभागी थिए।

निजगढ घर भई पोखरामा व्यवसाय गर्दै आएका माधव खतिवडाको संयोजनमा आइपुगेका स्रष्टामा गजलकार आवाज शर्मा, शिव त्रिपाठी सहभागी थिए। स्थानीय स्तरमा पोखरा–निजगढ साहित्यिक यात्राको संयोजन रमेश रसिकले गरेका थिए। साहित्यको माध्यमबाट आपसी सद्भाव, सामाजिक रूपान्तरण र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशासहित यात्रा आयोजना गरिएको रसिकको भनाइ थियो।

कार्यक्रममा पोखरा र निजगढका ४० भन्दा बढी स्रष्टाले आआफ्ना सिर्जना प्रस्तुत गरे। गजलकार पंगेनीले निजगढमा देखिएको साहित्यप्रतिको रुचिले आफूलाई खुसी तुल्याएको बताए। साहित्यमा रुचि राख्ने युवाको उपस्थिति कार्यक्रममा बढी थियो। युवाको उपस्थितिले उत्साहित प्रकटले गजल यसरी सुनाए।

जस्तो साइनो लाउन मन छ

त्यस्तै लगाऊ तिम्रो खुसी

पिउने आखिर म छँदै छु

जे जे मगाऊ तिम्रो खुसी

आउँदा आउँदै अबेर भयो

साँझ पर्‍यो म के गरूँ

अँध्यारोमै राख या त

सन्ध्या जगाऊ तिम्रो खुसी

प्रकटको गजलले शान्त बनेको हल एकाएक गुञ्जायमान बन्यो। उनको हरेक प्रस्तुतिमा दर्शक र श्रोताले ‘वान्स मोर’ भन्दै चिच्याए। समय अभावका कारण छोटो प्रस्तुति दिएका प्रकटले उपस्थित दर्शकको मन जिते। उनले आफ्नो प्रणयसँग सम्बन्धित गजललाई सहज रूपमा बुझिदिन आग्रह गरे। निराशभन्दा पनि प्रणयका गजल दर्शक, श्रोतालाई मन पर्ने र आफूलाई पनि यस्तै गजल लेख्न बढी रुचि लाग्ने प्रकटको भनाइ थियो। प्रकटअघि आवाज शर्मा, शिव त्रिपाठीले आफ्ना सिर्जना सुनाए।

कार्यक्रममा सहभागी पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल पनि आफ्नो सिर्जना प्रस्तुत नगरी बस्न सकेनन्। भ्रष्टाचारका कारण मुलुकले विकास गर्न नसकेको भन्दै पूर्वमन्त्री पौडेलले ‘म भ्रष्टाचार गर्दिनँ’ शीर्षकमा गजल प्रस्तुत गरे।

कार्यक्रममा साहित्यिक यात्राका सहभागी दुर्गाकिरण तिवारी, मनु शर्मा, मैनाली उल्लास, लक्ष्मी शाही ठकुरी, अञ्जु सापकोटा, सर्वशिखा, सिर्जना ढकाल, सबिता बराल, साहित्यिक चौतारी नेपालकी महासचिव गीता देवकोटालगायतले रचना प्रस्तुत गरे। स्थानीय अशोक कुँवर नेत्र, अविनाश थापा, अविनाश सापकोटा, पवित्रा बजगार्इं, मुकेशकुमार साह, अभिशेक ओझा, पवित्रा रुन्ची, प्रभाकर तिमिल्सिना, अजयकुमार उप्रेती, नारायण गौतमलगायतले आआफ्ना सिर्जना सुनाए।

चर्चामा

सम्बन्धित समाचार