शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गृह सजावट
  • भाइटीकाको मिति विवाद र समाधान

भाइटीकाको मिति विवाद र समाधान

  • बिहिबार, कार्तिक ७, २०७६
भाइटीकाको मिति विवाद र समाधान

भर्खरै हर्ष उल्लासका साथ नेपालको पहिलो ठुलो चाड विजयादशमी अधिकांशले मनाएर नेपाली जनमानसबाट बिदा भइसकेको छ । अब नेपालको दोस्रो ठूलो चाड तिहार भित्रिँदै छ । दशैं मान्नेले जस्तो सबैले एकै साथ एकै दिन यो तिहार नमनाउने स्थिति देखापर्दै छ किनकी यस वर्षको तिहारको तिथि मिति भने द्विविधापूर्ण रहेकोे देखिन्छ ।

पञ्चाङ्ग निर्णायक समितिको आधारमा निकालेको यस वर्षको सजिलो भित्ते पात्रोमा कार्तिक ९ गते काग तिहार, १० गते कुकुर तिहार र लक्ष्मी पूजा, ११ गते औंसी र गाईगोरु पूजा अनि १२ गते ने.सं ११४० प्रारम्भ, गोवद्र्धन पूजा तथा भाइतिहार उल्लेखित छ । यसअनुसार कुकुर तिहार र लक्ष्मी पूजा, औंसी, गाईगोरु पूजा अनि नेपाल सम्वत् प्रारम्भ एकै दिनमा परेको छ । त्यस्तैगरी गोवद्र्धन पूजा, भाइतिहार एकै दिन परेको छ । जुन प्रायः सबै जसोले यसैलाई मानेर सोही अनुसार तिहार मनाउँछन् । पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक १२ गते भाइटीकाको उत्तम साइत बिहान ११ः५५ बजे मानिएको छ ।

हुन त त्यस दिन दिनभरि नै सर्वसाधारणहरूले टीका लागाउन सक्छन् । यस पात्रोमा गहन गर्नुपर्ने तथ्य भनेको नेपाल सम्वत् ११४० प्रारम्भ हुने दिन भनेर कार्तिक १२ गतेलाई तोकिएको छ, जुन सही पनि लाग्छ किनकि यस दिन तिथि अनुसार प्रतिपदा पर्दछ । यो नयाँ वर्षको पहिलो दिन नै पर्दछ साथै गोवद्र्धन पूजाकै दिन नेपाल सम्वत् मनाइन्छ । यस दिन प्रायः सबै नेपालीहरूले विहान नेपाल सम्वत् मनाउँछन् । गोवद्र्धन पूजा पनि गर्दछन् र नेवार समुदायले भने बेलुकी आत्मशुद्धिका लागि ‘म्हः पूजा’ गर्दछन् । भाइटीका ‘म्हः पूजा’ अर्थात् गोवद्र्धन पूजाको भोलिपल्ट मनाइन्छ जुन द्वितीया तिथिमा पर्दछ र यस पटक यो तिथि कार्तिक १३ गते परेको छ ।

यस्तै गरी हरेक वर्ष धरानबाट प्रकाशित हँुदै आएको गोजी पात्रोमा कार्तिक ११ गते सोमबार गाईतिहार र गोवद्र्धन पूजा भनिएको छ । प्रत्येक वर्षको गोवद्र्धन पूजादेखि औंसीसम्मका लागि प्रकाशित हुने यस पात्रोअनुसार नेपाल सम्वत् मनाउने दिन कार्तिक ११ गते र भाइटीका कार्तिक १२ गते परेको सहजै अनुमान गर्न सकिन्छ किनकि गोवद्र्धन पूजाकै दिन नेपाल सम्वत् मनाइन्छ भने गोवद्र्धन पूजापछि भाइटीका पर्ने गरेको छ । यस पात्रोमा भएको कार्तिक ११ गतेको तिथि ‘औंसी‘ तिथिलाई मनन गरेर ‘गोवद्र्धन पूजा’ लाई हटाइदिने हो भने यो असन सेवा समाज, काठमाडौंले प्रकाशित गरेको पात्रोसँग मेल खाएको देखिन्छ । किनकी, औंसीपछि प्रतिपदा हुन्छ र सोही दिन गोवद्र्धन पूजा र नेपाल सम्वत् प्रारम्भ भएको मानिन्छ । त्यसको भोलिपल्ट भने भाइटीका मनाइन्छ ।

असन सेवा समिति, काठमाडौंले निकालेको भित्रे पात्रोअनुसार क्रमशः कात्तिक ९ गतेदेखि कात्तिक १३ गतेसम्म तिहार परेको उल्लेख गरेको छ । यसअनुसार कार्तिक ९ गते काग तिहार, १० गते कुकुर तिहार, ११ गते गाई तिहार, १२ गते नेपाल सम्वत् प्रारम्भ, गोवद्र्धन पूजा र म्हः पूजा तथा १३ गते भाइटीका उल्लेख गरेका छन् । यम पञ्चक भनेकै पाँच दिनसम्म तिहार मनाउने हो । अझ त्यसमा पनि नेवार समुदायहरूको स्वन्ति नखः भन्नाले लक्ष्मीपूजा, गोवद्र्धन पूजा र भाइ टीका क्रमशः तीन दिनसम्म मनाउने हो । संस्कृतिविद् हरिराम जोशीका अनुसार तिथि मितिभन्दा व्यावहारिक पक्षलाई ध्यान दिनुपर्दछ । तिहार भनेको पाँच दिनसम्म मनाउनुपर्ने पर्व हो । नेपाल भाषा मङ्का खलः, काठमाडौंका सचिव नरेशवीर शाक्यले कार्तिक १२ गते म्हः पूजा तथा कार्तिक १३ गते भाइटीका मनाउन नेवार समुदायहरूलाई अनुरोध गरेका छन् । यस दिन सार्वजनिक विदाको माग गरिएको छ जुन विचाराधीन अवस्थामा रहेको छ । तसर्थ यस पटक भाइटीका कात्र्तिक १२ गते र १३ गते मनाए अनौठौ मान्नुपर्ने अवस्था रहने छैन ।

“नबिर्सौं है कार्तिक ९ गते काग तिहार, १० गते कुकुर तिहार, ११ गते लक्ष्मी पूजा, १२ गते गोरु तिहार र नयाँ वर्ष, १३ गते भाइ तिहार” यस्तै सन्देश सामाजिक सञ्जालमा दशैं अघिदेखि व्यापक रूपमा प्रचार गरिएको छ तर स्थानीय लोकप्रिय पत्रपत्रिकामा भने यस विषयमा व्यापक रूपमा उल्लेख भएको विरलै पाइन्छ । सबै नेपालीहरूमा सामाजिक सञ्जालको शत प्रतिशत रूपमा पहुँच पुगेको छैन । तर, अधिकांश मानिसहरूले पत्रपत्रिका पनि हेर्ने पढ्ने गरेको पाइन्छ ।

केही अपवाद बाहेक धेरै जना मानिसहरू आफ्नो विहानीको शुरुवात चियाको चुस्कीसँगै आफूलाई मन परेका विभिन्न पत्रपत्रिकाबाट शुरु गर्दछन् जुन अति नै प्रशंनीय कार्य हो । हिजोका घटना, गतिविधि के भए, सूचना के छ ? इत्यादि कुराहरू हेर्ने गर्दछन् । तसर्थ यस्ता विषयहरू व्यापक रूपमा पत्रपत्रिकामा दिइनु वा पत्रकार सम्मेलन गरेर सबैलाई पूर्व जानकारी दिनु पनि राम्रो हुन्छ । तथापि, यस लेखले धेरैको आशङ्का हटेर नेपाल सम्वत् तथा भाइटीका मनाउने सम्बन्धमा द्विविधा हटाई जनमानसमा अगाडि आउन सबैका निम्ति प्रेरक भूमिका निर्वाह गरी सबैलाई पर्व आफ्नो हिसाबले मनाउन पाए मात्र यस लेखको उपादेयता हुनेमा कसैको पनि दुइमत नहोला ।

चर्चामा

सम्बन्धित समाचार