बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • एक नेपालीले एक विदेशी पठाउने समझदारी

एक नेपालीले एक विदेशी पठाउने समझदारी

  • आइतवार, कार्तिक ३, २०७६
एक नेपालीले एक विदेशी पठाउने समझदारी

आगामी वर्षलाई भ्रमण वर्ष मनाउने सरकारले अन्तिम तयारी गरिरहँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अघि सारेको ‘एक एनआरएन एक विदेशी’ प्रस्तावमा गैरआवासीय नेपाली संघले सहमति गरेका छन्।

यससम्बन्धी समझदारी पत्रमा मन्त्री भट्टराईकाे उपस्थितिमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमाार पन्त र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले हस्ताक्षर गरेका हुन्।

उक्त समझदारीपत्रको पहिलो बुँदामै मन्त्री भट्टराईले अघि सारेको एक एनआरएनले एक विदेशीलाई नेपाल घुम्न पठाउने अभियान सञ्चालन गर्ने उल्लेख छ। उक्त कुराको अभिलेखीकरण सचिवालय र संघले गर्ने व्यवस्था मिलाउने भएका छन्।

त्यसरी विदेशी साथी नेपाल पठाउने व्यक्ति/संघ वा संस्थालाई सम्मानको लागि सरकारसमक्ष सिफारिस गरिने समझदारीमा उल्लेख गरिएको छ। त्यसबाहेक भ्रमणवर्षभर संघले विदेशमा आयोजना गर्ने गोष्ठी, सेमिनारलगायतका कार्यक्रम नेपालमा गर्ने भएका छन्।

२० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन जनवरी १ मा हुँदै छ । भ्रमण वर्ष नजिकिरहेका बेला सचिवालयले त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिन एनआरएनएसँग पनि सम्झौता गरेको हो। कार्यक्रममा बोल्दै ‘नेपाल भ्रमण वर्ष–२०२०’ का सचिवालयका राष्ट्रिय कार्यक्रम संयोजक बैद्यले सो भ्रमण वर्षमा २० लाख पर्यटक भित्रयाउने नेपाल सरकारको लक्ष्य पूरा गर्न गैर आवासीय नेपालीहरुलाई आवश्यक सहयोग गर्न आग्रह गरे।

विश्वमा नेपालबारे नकारात्मक प्रचार हुन नदिन पनि उनले गैरआवासीय नेपालीहरुलाई पटक–पटक आग्रह गरे। राष्ट्रिय कार्यक्रम संयोजक बैद्यले नेपाल भ्रमण वर्ष २०२० को प्रचार अभियानलाई विश्वभर संचालन गर्ने उल्लेख गर्दै त्यसमा विशेष सहयोग गरिदिन पनि एनआरएनएको ध्यानाकर्षण गराए।

एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तले नेपालको समृद्धिका लागि पुँजी र प्रविधि भित्रयाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। उनले नेपालको समृद्धिको मुख्य आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि आरआरएनएको नयाँ नेतृत्वले प्रविधि र त्यसका लागि आवश्यक ज्ञानको आपूर्ति गर्न विशेष जोड दिने प्रतिवद्धता पनि व्यक्त गरे।

एनआरएनएले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेशस्थित नेपाली नियोग र दुतावासहरुमा ‘भ्रमण वर्ष प्रवद्र्धन कक्ष’ स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता पनि जनाएको छ ।

यस्तो छ समझदारीः 

याे लिकंमा किलिक गर्नुहाेला MOU between VNY & NRNA001
१. संघले नेपाल भ्रमण वर्ष, २०२० का सन्दर्भमा विश्‍वभरबाट एक नेपालीले एक बिदेशी साथी नेपाल पठाउ अभियान सन्चालन गर्ने छ ।उक्त कुराको अभिलेखिकरण सचिवालय र संघले गर्ने व्यवस्था मिलाउने छ । सचिवालयले सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने ब्यक्ति वा संघ संस्थालाई सम्मान गर्नको लागि नेपाल सरकार समक्ष सिफारिस गर्नेछ ।

२. संघले नेपाल भ्रमण वर्ष, २०२० अवधिभर संघका विश्वभरि गरिने औपचारिक सेमिनार, गोष्ठी लगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउने छ l संघको आयोजनामा नेपालमा हुने विभिन्‍न गोष्ठी तथा सेमिनारहरुमा समन्वयात्मक भुमिका सचिवालयले निर्वाह गर्नेछ ।

३. संघले विश्वभरी रहेका गैर आवासीय नेपालीहरुलाई सन् २०२० मा “विदामा परिवार र साथीसँगै नेपालमा” अभियान संचालन गर्नेछ ।

४. संघले विदेश स्थित नेपाली दूतावास र नियोगहरुमा “भ्रमण वर्ष प्रवर्द्धन कक्ष” स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने छ ।

५. नेपाल भ्रमण वर्ष, २०२०को प्रचार प्रसार गर्नका लागि सचिवालयको समन्वयमा संघले बर्षभरी विश्वका प्रमुख सहरहरुमा कार तथा साईकल र्र्याली गर्नेछ ।

६. संघका विश्वभरी रहेका सदस्य तथा विभिन्न नेपाली संघ संस्थामा आबद्ध रहेका नेपालीहरुको माध्यमबाट संघले उनीहरुको रोजगारदाता अर्थात व्यवसायिक साझेदार संघ संस्था तथा व्यक्तिहरुलाई नेपाल भ्रमणका निम्ति निमन्त्रणा गर्नेछ ।

७. संघले गैर आवासीय नेपालीका विश्वभरिमा रहेका व्यवसायिक फर्महरु तथा होटेल रेस्टुरेन्टमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामाग्रीहरु राखी प्रचार प्रसार गर्ने तथा प्रचार प्रसारका सामाग्रीहरु वितरण गर्नेछ ।

८. संघले विश्वभरी छरिएर रहेको सम्पूर्ण सदस्य लगायतका नेपाली तथा बिदेशी मित्रहरुका सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष, २०२० लोगो सहितको स्टिकर टास्ने व्यवस्था मिलाउने छ ।

९. संघले विश्वभरिमा कम्तिमा ५० देशमा “मिस एनआरएन इन्टरनेशनल” आयोजना गर्ने र उक्त प्रतियोगिताको “फाइनल” २०२०, जुन महिनाभित्र नेपालमा गर्नेछ।

१०. सचिवालय र संघको समन्वयमा आगामी जनवरीको पहिलो हप्तामा हुने नेपाल भ्रमण वर्षको शुभारम्भ समारोहलाई सफल बनाउनका निम्ति सम्बन्धित देशका कुटनीतिक नियोगहरुसँग समन्वय गरी कार्यक्रम संचालन गरिनेछ ।

११. संघले सम्बन्धित देशका सञ्चार माध्यमहरुमा डिजिटल मार्केटिङको व्यवस्था गर्ने छ ।

१२. सचिवालय र संघको समन्वयमा विश्‍वभर रहेका नेपाली तथा विभिन्‍न संघसंस्थाहरुको सामाजिक सञ्जाल तथा वेवसाइटमार्फत भ्रमण वर्षसँग सम्बन्धित सकारात्मक सन्देश दिने सामाग्रीको प्रवाह गरिनेछ ।

१३. संघले विश्‍वभरीका विभिन्‍न देशहरुका सार्वजनिक स्थलहरु जस्तै बस स्टेशन, रेल्वे स्टेशन तथा प्रमुख पर्यटकीय क्षेत्रहरुमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामाग्री वितरण गर्ने, प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने छ ।

१४. सचिवालयले सम्बन्धित देशका कुटनीतिक नियोगहरुको समन्वयमा ट्राभल एजेन्सी, टूर अपरेटर, मिडिया लगायतका कम्पनीहरु समक्ष आवश्यक छलफल गरी नेपालको प्रवर्द्धन गर्ने छ ।

१५. सचिवालयले कुटनीतिक नियोगसँग समन्वय गरी सम्बन्धित देशमा वितरण गरिने प्रचारात्मक सामाग्री उत्पादन गरी वितरण गर्ने छ ।

१६. सचिवालयले एक नेपालीले कम्तिमा एक विदेशी साथी नेपाल पठाउ अभियान अन्तर्गत संघसँग समन्वय गरी नेपाल भ्रमण वर्षमा आउने पाहुनाहरुका लागि विभिन्न किसिमको छुटको व्यवस्था मिलाउने छ।

१७. उल्लेखित कार्यहरुमा लाग्ने आर्थिक श्रोतको प्रबन्ध संघले गर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार