शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रवास
  • एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

  • शुक्रबार, कार्तिक १, २०७६
एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट अध्यक्षमा कुमार पन्त विजयी भएका छन्।

अध्यक्षका अर्का प्रतिस्पर्धी कुल आचार्यलाई हराउँदै पन्त विजयी भएका हुन्। पन्तले एक हजार ९४ मत ल्याए भने आचार्यले नौ सय ५९ मत ल्याएका हुन्। पन्त जर्मनी र आचार्य बेलायतमा रहेर व्यवसाय गर्छन्। शुक्रबार सकिएको मतगणनाको निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ।

उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, बद्री केसी, रविना थापा र मन केसी निर्वाचित भए। महासचिवमा हेमराज शर्मा निर्वाचित भए भने सचिव गौरी जोशी र आरके शर्मा निर्वाचित भएका छन्। कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन्।

निर्वाचनमा दुई हजार तीन सय ४४ मत खसेको थियो। ८१ देशबाट सम्मेलनमा भाग लिन एनआरएनएका प्रतिनिधि नेपाल आएका थिए।

को हुन् पन्त?

पन्त गोरखा फुजेलका हुन्। उनी पढ्न सन् १९९७ मा ग्रीस पुगे। तर लामो समय त्यहाँ बसेनन्, केही महिनापछि जर्मनी पुगे। उनले जर्मनीबाटै राजनीतिशास्त्रमा स्नातक गरेका छन्।

जर्मन पुगेको केही समयमा उनले होटलमा काम सुरू गरे। कोरियनले सञ्चालन गरेको होटलमा उनी चार वर्षसम्म म्यानेजर भए। त्यसपछि आफैंले होटल किनेर सञ्चालन गर्न थाले।

३६ कोठाको एउटा होटलबाट व्यवसाय सुरू गरेका पन्तको अहिले जर्मनी, बेल्जियम, स्वीट्जरल्याण्डमा गरी २९ वटा होटल छन्।

व्यवसायसँगै पन्त एनआरएनएमा पनि निरन्तर लागिरहे। सन् २००४ सालमा एनआरएनए जर्मनी राष्ट्रिय परिषद् गठन गरी क्षेत्रीय सदस्य बने। केही महिनापछि उनी संयोजक पनि भए।

सन् २००९ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्, २०११ मा युरोप क्षेत्रको संयोजक निर्वाचित उनी २०१३ देखि १५ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव थिए। त्यसबेला शेष घले पहिलोपटक अध्यक्ष भएका थिए।

सन् २०१५ देखि दुई कार्यकाल पन्त उपाध्यक्ष नै रहेका थिए।

साभार सेताेपाटि

चर्चामा

सम्बन्धित समाचार