शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • तीन एआइजीको सरुवा, अपराध अनुसन्धान विभागमा कार्की, एकेडेमीमा राई

तीन एआइजीको सरुवा, अपराध अनुसन्धान विभागमा कार्की, एकेडेमीमा राई

  • बिहिबार, अशोज ९, २०७६
तीन एआइजीको सरुवा, अपराध अनुसन्धान विभागमा कार्की, एकेडेमीमा राई

सरकारले नेपाल प्रहरीका तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को आकस्मिक सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकहरू पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातको सरुवा गरेको हो।

स्रोतका अनुसार मन्त्रिपरिषदले एआइजी पुष्कर कार्कीलाई अपराध अनुसन्धान तथा कार्यविभागमा सरुवा गरेको छ। उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए।

प्रशासन विभागमा रहेका एआइजी ठूले राईको प्रतिष्ठानमा सरुवा गरिएको छ। अर्का एआइजी धीरु बस्न्यातलाई भने मानव स्रोत तथा प्रशासन विभागमा सरुवा गर्दै तत्कालका लागि सुरक्षा परिषदमा काज सरुवा गरिएको छ।

बस्न्यात यसअघिको सरुवामा पनि सोही विभागमा पठाएर काजस्वरुप सुरक्षा परिषदमा तानिएका थिए। त्यसअघि प्रतिष्ठानमा रहेका बस्न्यातलाई आर्थिक अनियमितता गरेको आरोपमा सरकारले दरबन्दी मानवस्रोत तथा प्रशासन विभागमा राखेर काजमा सुरक्षा परिषद खटाएको थियो।

गत वैशाखमा मात्र सरकारले एआइजीहरूको हेरफेर गरेको थियो। साधारणतया एक वर्ष पुगेपछि मात्र विशिष्ट श्रेणीको अधिकारीको सरुवा गर्ने परम्परा छ। तर, यसपटक छ महिना नपुग्दै सरकारले एआइजी सरुवा निकालेको छ। अपराध अनुसन्धान तथा कार्यविभागमा रहेका कार्की सरुवा भएसँगै सो विभाग प्रमुखविहीन बनेको थियो।

नेपाल प्रहरीमा प्रशासनतर्फ अहिले तीन जना एआइजी र प्राविधिकतर्फ एक गरी चार एआइजीको दरबन्दी कायम गरिएको छ। कार्कीले पहिलेको एकेडेमी सरुवामा चित्त दुखाउँदै आएका थिए। उनी अपराध अनुसन्धान विभागबाट सरुवा भएपछि सो विभाग नेतृत्वविहीन बनेको थियो।

मंगलबारको आकस्मिक सरुवाबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि अनभिज्ञ छन्। विशिष्ट श्रेणीको अधिकारी सरुवा गर्दा सरकारले प्रहरी महानिरीक्षकको राय लिने परम्परा भए पनि यसपालिको सरुवामा सरकारले प्रहरी नेतृत्वलाई जानकारी नै नदिएको स्रोतले बतायो।

प्रहरीमा तीस वर्षे सेवाअवधि छ। यो कायमै रहे प्रहरी महानिरीक्षक खनालसहित एआइजीहरू तिनै जना माघ महिनामा सेवानिवृत्त हुनेछन्। उनीहरूकै ब्याचका डिआइजीहरू पनि सँगै घर फर्किने भएकाले खनालपछि सिधै डिआइजीबाट नयाँ प्रहरी प्रमुख नियुक्त हुनसक्छन्। खनालको वैकल्पिक ब्याचका डिआइजीद्वय ठाकुर ज्ञवाली र तारिणी लम्साल भावी प्रहरी महानिरीक्षकका दाबेदार हुन्।

चर्चामा

सम्बन्धित समाचार