मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • देश
  • गुल्मी पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो

गुल्मी पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो

  • बिहिबार, साउन ९, २०७६
गुल्मी पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो
फाईल तस्वीर

गुल्मी ९ साउन। गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । ३ जनाको बुधवार साँझ र एक जनाको बिहीबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिल कुमारी तरामु मगर र उनका छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो ।

पहिरोमा पुरिएर घाइते भएका ठूलोलुम्पेकका करिष्मा तरामु र धनी तरामुलाई दुई दिनपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडांै पठाइएको छ । उनीहरुको टाउकोमा चोट लागेकाले थप उपचारको लागि काठमाडौं पठाउनु परेको उपचारमा खटिएकी डाक्टर शिला ढकालले बताइन् ।

पहिरोका कारण ६ सय परिवार घरबारविहीन भएका छन् । उनीहरुलाई सामुदायिक विद्यालयमा राखिएको छ । पहिरो प्रभावित परिवारहरुलाई घरडाँडा, अस्लेवा, रामबारी, धर्मपुर मावि, ढुङ्गाचाल्ने, भानु प्रावि, धर्मपुर प्रावि, सरस्वती मावि लगायतका स्थानमा राखिएको छ ।

पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएका कारण हेलिकोप्टरमार्फत राहत सामग्री पुर्‍याइएको छ । बुधबार साँझ हेलिकप्टरबाट २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठूलोलुम्पेकमा पुर्‍याएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । विपत व्यावस्थापन महाशाखा मार्फत हेलिकोप्टरले पोखराबाट ल्याएको राहत प्रभावित क्षेत्रमा पुर्‍याइएको हो ।

प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित छन् ।

चर्चामा

सम्बन्धित समाचार