सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • स्टक
  • विदेशी विनिमय सञ्चिती ४२ अर्बले घट्यो, राष्ट्र बैंकको ढुकुटीमा ९ खर्ब

विदेशी विनिमय सञ्चिती ४२ अर्बले घट्यो, राष्ट्र बैंकको ढुकुटीमा ९ खर्ब

  • बिहिबार, असार ५, २०७६
विदेशी विनिमय सञ्चिती ४२ अर्बले घट्यो, राष्ट्र बैंकको ढुकुटीमा ९ खर्ब

काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिती चालु आर्थिक वर्षको १० महिनामा करिब ४२ अर्ब रुपैयाँले घटेको छ । २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा गत वैशास मसान्तसम्म आइपुग्दा १० खर्ब ६० अर्ब ७० करोड रुपैयाँमा झरेको हो ।

कुल विदेशी विनिमय सञ्चितीमध्ये राष्ट्र बैंकको ढुकुटीमा २०७५ असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रुपैयाँ थियो । २०७६ वैशाख मसान्तमा आइपुग्दा ९ खर्ब १५ अर्ब ३९ करोड राष्ट्र बैंकमा छ । अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग २०७५ असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रहेको थियो । यो भने बढेको छ । उनीहरुको सञ्चिती बढेर २०७६ वैशाख मसान्तमा १ खर्ब ४५ अर्ब ३१ करोड पुगेको छ । २०७६ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।
दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितीले ९.१ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दावी छ । २०७५ साउनदेखि २०७६ जेठसम्मको अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३०.६ प्रतिशत, ६६.६ प्रतिशत र ३१.१ प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३६.४ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए ।

कच्चा पेट्रोलियम र सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको छ । कच्चा पेट्रोलियमको मूल्य २०७५ वैशाख मसान्तमा प्रतिब्यारल अमेरिकी डलर ७८.१७ रहेको थियो । २०७६ वैशाख मसान्तमा आइपुग्दा भने ७.२ प्रतिशतले कमी आई प्रतिब्यारल अमेरिकी डलर ७२.५३ कायम भएको राष्ट्र बैंकले बताएको छ ।

सुनको मूल्य २०७५ वैशाख मसान्तमा प्रति औंस अमेरिकी डलर १३१९.८५ रहेकोमा २०७६ वैशाख मसान्तमा १.६ प्रतिशतले कमी आई प्रति औंन्स अमेरिकी डलर १२९८.४० कायम भएको छ ।

डलर महंगियो

२०७५ असार मसान्तको तुलनामा २०७६ वैशाख मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग २.९ प्रतिशतले अवमूल्यन भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ४.३ प्रतिशतले अवमूल्यन भएको थियो । २०७६ वैशाख मसान्तमा अमेरिकी डलर १ को खरिद विनिमय दर रु. ११२.५६ पुगेको छ । २०७५ असार मसान्तमा उक्त विनिमय दर रु.१०९.३४ रहेको थियो याे समाचार अनलाइन खवरमा छापीएकाे छ ।

यो पनि पढ्नुहोस् :  १० महिनामा भित्रियो ७ खर्ब २५ अर्ब रेमिट्यान्स  

चर्चामा

सम्बन्धित समाचार