शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • राजनीति
  • पूर्व सभासद् साह र उनका पति महतो थुनामुक्त

पूर्व सभासद् साह र उनका पति महतो थुनामुक्त

  • बिहिबार, जेष्ठ २, २०७६
पूर्व सभासद् साह र उनका पति महतो थुनामुक्त

काठमाडौं : आफ्नै शिशुलाई अस्पतालमा बेवारिसे छोडेको अभियोगमा मुद्दा दायर गरिएका पूर्व सभासद गायत्री साह र उनका श्रीमान् राजेश महतो थुनामुक्त भएका छन्।

ललितपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले साहलाई साधारण तारेखमा रिहा गरेको छ। त्यस्तै महतोलाई २० हजार धरौटी माग गरिएकोमा सो बुझाएर उनी पनि थुनामुक्त भएका छन्।

गत बैशाख २२ गते साह र महतोद्वयलाई ललितपुरस्थित मेडिसिटि अस्पताल परिसरबाट प्रहरीले पक्राउ गरेको थियो। बेवारिसे ढंगले शिशु छोडेको किटानी जाहेरी मेडिसिटि अस्पतालले दिएपछि प्रहरीले उनीहरूलाई अस्पतालबाटै पक्राउ गरेको थियो।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ को उपदफा (१) अनुसार मुद्दा दायर गरिएको थियो। उक्त उपदफा अनुसार नवजात शिशु, बालबालिकालाई आफुले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तव्य भएको व्यक्तिले परित्याग गर्न वा वेवास्ता गरि छोड्न नहुने उल्लेख छ। त्याग वा वेवास्ता गरेको पाइएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ जरिवाना हुने संहितामा उल्लेख छ।

अस्पतालको हेलचेक्रयाईंका कारण डाउन सिन्ड्रोम भएको शिशु जन्मिएको दाबी महतो दम्पत्तिको छ। शिशुलाई बेवास्ता गरेको नभई थप उपचारका लागि अस्पतालमा राखिएको महतोले बताउँदै आएका छन्।

अदालतको आदेशपछि खुशी व्यक्ति गर्दै महतोले न्याय पाएको बताए। उनले भने, ‘प्रहरीले जर्बजस्ती पक्राउ गरेपनि न्यायालयले न्याय दिएको छ।’

भएको के हो ?

गायत्री साहले मेडिसिटी अस्पतालमा गत वर्ष फागुन २८ गते बच्चा जन्माएकी थिइन्। बच्चा जन्मिएपछिको रिपोर्टमा अस्पतालले शिशुको स्वास्थ्य अवस्था ठिक रहेको जनाएको थियो। तर, केही दिनपछि अस्पतालले नै भारतमा पठाएको नमुना परीक्षणबाट शिशुमा डाउन सिन्ड्रोम रहेको खुलेको थियो।

त्यसपछि साह दम्पत्तिले डा. निरासिंह श्रेष्ठ र उनी कार्यरत मेडिसिटी अस्पतालको गम्भीर लापरबाहीको सिकार आफूहरु भएको भन्दै शिशुको डिस्चार्ज लेटर लिन अस्वीकार गरेका थिए। उनीहरुले अझैसम्म पनि डिस्चार्ज लेटर लिएका छैनन्। यही विषयलाई लिएर अस्पतालले उनीहरुविरुद्ध उजुरी दिएको थियो। सोही उजुरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

मेडिसिटी अस्पतालकै डा. श्रेष्ठको सल्लाह अनुसार साह दम्पत्ति उनको निजी क्लिनिकमा नियमित गर्भ परीक्षण गर्दै आएका थिए। तीन महिनामा गरिने परीक्षण नगरिदिँदा शिशुमा रहेको क्रिटिकल डाउन सिन्ड्रोम पत्ता नलागेको दाबी उनीहरुको छ। अस्पतालले गल्ती ढाकछोप गर्न आफूहरूलाई सिकार बनाएको साह दम्पत्तिको दाबी छ। अस्पतालले भने यसमा आफ्नो लापरबाही नरहेको दाबी गरेको छ।

अन्नपूर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार