धनगढी–नयाँ वर्षको पूर्व सन्ध्यामा प्रदेशको अस्थायी राजधानी धनगढीमा सातौँ पटक रात्रिकालिन पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ। बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक एसटिएस टेलिभिजन प्रतियोगिता बारे जानकारी दिएको हो।
प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले अघिल्ला वर्ष जस्तै यस वर्षपनि चैत्र ३० गते रात्रिकालिन पेनाल्टी सुटआउट प्रतियोगिता हुने जानकारी दिए। प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, द्वितीय हुने टिमले नगद ७५ हजारसंगै ट्रफी पुरस्कार पाउने संयोजक श्रेष्ठले जानकारी दिए। गत बर्ष विजेतालाई १ लाख पुरस्कार थियो।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट स्कोररले माइक्रोम्याक्स कम्पनीको मोबाइल पाउने छन् भने सबैभन्दा पाको उमेरका खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने छ। त्यस्तै प्रतियोगिता अवलोकनका लागि आउने व्यक्तिहरु मध्येबाट गोलाप्रथाबाट एकजनालाई होण्डा कम्पनीको स्कुटर प्रदान गरिने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा ३२ वर्षभन्दा माथिका उमेर समूहले मात्रै सहभागिता जनाउने छन्।
त्यसका लागि दर्शकले ५० रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था रहेको आयोजक पेनाल्टी सुट आउट प्रतियोगिताका संयोजक श्रेष्ठले बताए। नयाँ वर्षको अवसर पारेर २०६९ सालबाट धनगढीमा रात्रिकालिन पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना हुँदै आएको हो।