मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रवास
  • टुङ्गियो नेकपाको प्रवास कमिटीको एकता, कसलाई कुन देश पर्यो ?

टुङ्गियो नेकपाको प्रवास कमिटीको एकता, कसलाई कुन देश पर्यो ?

  • बिहिबार, चैत्र २१, २०७५
टुङ्गियो नेकपाको प्रवास कमिटीको एकता, कसलाई कुन देश पर्यो ?

काठमाडौँ । पार्टी एकताका दस महिनापछि सत्तारुढ नेकपाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रवासमा बनाएका भ्रातृ सङ्गठनको एकताको प्रस्ताव तयार पारेको छ । सचिवालय वा स्थायी कमिटीले अनुमोदन गरेपछि एकता प्रक्रिया टुङ्गिनेछ ।  ३६ देशमा रहेका प्रवासी सङ्गठनमध्ये ३४ देशमा नेतृत्वको भागबन्डासहित एकता प्रस्ताव तयार भएको छ । तत्कालीन एमाले र माओवादीले पूर्वी एसिया, युरोप, अमेरिका, खाडी राष्ट्र, अस्ट्रेलिया र भारतलगायतका ३६ देशमा प्रवासी सङ्गठन बनाएका थिए ।

तत्कालीन एमालेको प्रवासी नेपाली मञ्च र माओवादीको नेपाली जनप्रगतिशील मञ्च एकीकरणबाट प्रवासी नेपाली एकता मञ्च बनाउने कार्यदलको प्रस्ताव छ । ३६ देशमा संयोजक र सचिवसहित ३५ सदस्यीय कमिटी राख्न प्रस्ताव गरिएको छ । कार्यदलले काम सुरु गर्नुलगत्तै २० देशबाट अध्यक्ष र सचिवका लागि सर्वसम्मत एकता प्रस्ताव आएको थियो ।

प्रवास कमिटी एकीकरण कार्यदलका सदस्य युवराज चौलागाईं भन्छन्, ‘२० देशको नेतृत्वबारे सहमति आइसकेको छ । त्यसबाहेक १६ देशको निर्णय हुन बाँकी छ । नारायणकाजी श्रेष्ठ संयोजक रहेको कार्यदलले निर्णय गरेर नेतृत्व टुङ्गिन बाँकी, केही देशमा कार्यदल बनेका छन् । ती कार्यदलले काम गरिरहेका छन्,’ कार्यदल सदस्य चौलागाईंले भने, ‘टुङ्गिन बाँकी रहेका देशमा सकेसम्म उहाँहरूले नै सहमति गरेर पठाउनुभयो भने हामीलाई आपत्ति छैन । उहाँहरूले काम गरिरहनुभएको छ । त्यहाँबाट सिफारिस भएर आएपछि हाम्रो कार्यदलले एकमुष्ट रूपमा प्रतिवेदन सचिवालयलाई बुझाउँछ र सचिवालयले त्यसलाई अन्तिम निर्णय गर्छ ।’

प्रवास कमिटीको एकीकरणका लागि नेकपाले नारायणकाजी श्रेष्ठको संयोजकत्वमा पूर्वएमालेबाट डा. विन्दा पाण्डे र युवराज कार्की तथा तत्कालीन माओवादीबाट युवराज चौलागाईं सदस्य रहेको कार्यदल बनाएको थियो । गत साउन २४ गते बनेको कार्यदलले सबै प्रवास कमिटीको एकीकरण प्रस्ताव तयार गरेको हो । तत्कालीन एमाले र माओवादीका प्रवासी मञ्चहरूमा करिब २५ सय सदस्य सङ्गठित छन् ।

स्रोतका अनुसार बाँकी १६ देशको पनि कसले नेतृत्व लिने भन्नेबारे मोटामोटी सहमति भइसकेको छ । भागवन्डा गर्दा पूर्वी एसियाका पाँच देशमा ३ तत्कालीन माओवादी र दुई एमालेले नेतृत्व लिने सहमति भएको छ । जसमा मलेसिया, जापान र मकाउ तत्कालीन माओवादीले नेतृत्व लिने छ भने हङ्कङ र दक्षिणकोरिया तत्कालीन एमालेले नेतृत्व लिने मोटामोटी सहमति भएको छ । त्यस्तै खाडी क्षेत्रका ७ देशमा पनि ३ र ४ मा नेतृत्व लिने सहमति भएको छ । ठूला देशमा कसले नेतृत्व लिने भन्ने विषयमा अलि बढी विवाद भएको थियो ।

कसलाई कुन देश पर्यो ?
तत्कालीन एमालेलाई १९ देश 

तत्कालीन एमालेले अमेरिका, क्यानडा, फिनल्यान्ड, पोर्चुगल, रसिया, चेक गणतन्त्र, इटली, फ्रान्स, पोल्यान्ड, जर्मनी, नर्वे, न्युजिल्यान्ड, कतार, बहराइन, कुवेत, इजरायल, दक्षिण कोरिया, हङ्कङ र भारतसहित १९ देशको नेतृत्व लिने सहमति जुटेको छ । यी देशमा तत्कालीन एमालेले नेतृत्व लिने सहमति भए पनि व्यक्तिबारे सहमति जुटेको छैन ।

तत्कालीन माओवादीलाई १५ देश 
तत्कालीन माओवादीले स्विजरल्यान्ड, आयरल्यान्ड, बेल्जियम, नेदरल्यान्ड, अस्ट्रिया, स्विडेन, डेनमार्क, जापान, संयुक्त अरब इमिरेट्स, साउदी अरब, ओमन, साइप्रस, मलेसिया, मकाउ सहित १५ देशको नेतृत्व गर्ने सहमति जुटेको छ ।

२ देशको टुङ्गिन बाँकी 
३४ देशको नेतृत्व टुङ्गिए पनि अझै २ देशको नेतृत्व कसले लिने भन्नेबारे विवाद कायम छ । अस्ट्रेलिया र स्पेनका सङ्गठनको नेृत्वलाई दुवै पार्टीको दाबी कायम छ । जसले गर्दा यी दुई देशमा कसले नेतृत्व लिने भन्नेबारे सहमति हुन सकेको छैन । तर स्रोतका अनुसार अन्य ठूला देशमा तत्कालीन एमालेले नेतृत्व लिने यसअघि सहमति भइसकेका कारण अस्ट्रेलिया तत्कालीन माओवादीले पाउन सक्ने स्रोतले बतायो । त्यसो हुँदा स्पेन तत्कालीन एमालेको भागमा पर्ने देखिन्छ । मुख्य विवाद अस्टे«लियाको नेतृत्व कसले लिने भन्नेबारेमा भएको कार्यदलका एक सदस्यले बताए ।

एकताको १० महिना
नेकपा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको आज १० महिना पुगेको छ । तर, यो १० महिनामा पार्टी एकताका आधाभन्दा बढी काम टुङ्गिन सकेका छैनन् । यसअघि गठित कार्यदलका अनुसार विधान परिमार्जन, पोलिटब्युरो गठन, केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन, केन्द्रीय आयोगहरूको गठन, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको गठन, राष्ट्रिय परिषद्मा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जिल्लासहित मातहत कमिटीहरूको एकीकरण, जनवर्गीय सङ्गठनहरूको एकीकरण, प्रवासका सङ्गठन र सम्पर्क कमिटी एवम् मञ्चहरूको एकीकरण र केन्द्रीय विभागहरूको गठन हुन सकेको छैन । यसबाहेक राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिने काम पनि सकिएको छैन ।

पार्टी एकताको पछिल्लो १० महिनामा दुई अध्यक्ष तय, ४४१ सदस्यीय केन्द्रीय समिति गठन, नौ सदस्यीय सचिवालय, महासचिवमा विष्णु पौडेल र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारीबाहेक ४५ सदस्यीय स्थायी कमिटी गठन र प्रदेश कमिटी गठनको काम सकिएको छ । तर प्रदेश कमिटीको स्थायी कमिटीबाट अनुमोदन हुन बाँकी छ ।

नेकपाले पछिल्लो पटक पुस १३ गते स्थायी कमिटीबाट बनाइएको कार्यदलले पनि काम गर्न सकको थिएन । यहाँ पनि विवाद भएपछि मूल र असन्तुष्ट समूहले अलग अलग प्रतिवेदन पार्टी अध्यक्षलाई बुझाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार