शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • मुलरको प्रतिवेदनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पद धरापमा पार्ने खतरा

मुलरको प्रतिवेदनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पद धरापमा पार्ने खतरा

  • सोमवार, चैत्र ११, २०७५
मुलरको प्रतिवेदनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पद धरापमा पार्ने खतरा

अमेरिकी सांसदहरु सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुससँगकाे साँठगाँठ बारे अनुसन्धान गर्न गठित छानबिन समितिको गोप्य प्रतिवेदनको पर्खाइमा छन् । प्रतिवेदनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पद नै धरापमा पार्ने खतरा रहेको अनुमान गरिएकाे छ ।

महान्यायाधीवक्ता विलियम बारले अमेरिकी कंग्रेस र आमजनतालाई प्रतिवेदनको मुख्य अंश उपलब्ध गराउने अपेक्षा गरिएको छ । साे प्रतिवेदन २२ महिना लगाएर विशेष अनुसन्धाता रोबर्ट मुलरले अनुसन्धान गरेका हुन् । उनले शनिबार प्रतिवेदन अध्ययन गर्न नौ घण्टा बिताएका थिए । त्यसबेला उनले प्रतिवेदनको मुख्य सार हप्ता दिनपछि सार्वजनिक गर्ने बताएका थिए । ट्रम्प र उनको भित्री घेरामा रहेर काम गर्नेहरुले प्रतिवेदन हस्तान्तरण गर्नुअघि मुख्य अनुसन्धानकर्ता मुलरले दोषारोपण नगरेकामा खुसी भएका थिए ।

अमेरिकी संविधानमा राष्ट्रपतिमाथिको छानबिन प्रतिवेदन महान्यायाधीवक्ताले अध्ययन गरेपछि मात्र सार्वजनिक गर्ने प्रावधान रहेकाे छ । महान्यायाधीवक्ता बारले प्रतिवेदनलाई जतिसक्दो चाँडो र पारदर्शिताका साथ सार्वजनिक गर्ने बताउँदै आएका छन् ।

मुलर स्वयंले भने प्रतिवेदनका बारेमा केही बताएका छैनन् । अमेरिकी समाजमा मुलरको प्रतिवेदनलाई लिएर विभिन्न अडकलबाजी सुरू हुन थालिएकाे छ । केहीले मुलरको रहस्यमयी प्रतिवेदनले राष्ट्रपति ट्रम्पलाई सफाइ दिएको अनुमान गरेका छन् । तर कतिपयले संघीय जाँच ब्यूरोका तत्कालीन निर्देशक जेम्स कोमेलाई सन् २०१७ मा बर्खास्त गरी राष्ट्रपतिले सबैतिर हस्तक्षेप गरेको र न्यायमा अवरोध गरेको दाबी गरेका छन् । उनीहरुको विश्वास छ, छानबिन कार्य मुलरको प्रतिवेदनमा मात्र सीमित हुने छैन, थप अनुसन्धानको ढोका यस प्रतिवेदनले खोल्नेछ ।

मुलरले यसअघि ट्रम्पको चुनावी अभियानमा संलग्न ३४ जना र तीन वटा कम्पनीमाथि फौजदारी अभियोग दर्ता गरिसकेका छन् । ट्रम्पका पूर्व चुनाव प्रचार प्रमुख पल म्यानाफोर्ट र पूर्व निजी वकील माइकल कोहेनलाई जेल सजाय गरिएको छ । तर ट्रम्पको चुनावी अभियान र मस्कोबीच प्रत्यक्ष सहकार्य भए नभएको प्रश्नका बारेमा हालसम्म कसैलाई दोषी ठहर्याइएको छैन । संघीय जाँच ब्यूरो (एफबीआई)का पूर्व निर्देशक मुलरले अनुसन्धानका सिलसिलामा राष्ट्रपति ट्रम्पसँग अन्तरवार्ता लिएका थिएन । बरु, रुससँगको सम्बन्धका बारेमा ट्रम्पले केही प्रश्नको लिखित जवाफ दिएका थिए ।

जनवरी २०१७ मा राष्ट्रपति ट्रम्पले पद सम्हाले लगत्तै अमेरिकी गुप्तचर निकायहरुले चुनावी अभियानका क्रममा इमेल ह्याकिङको कार्यमा रुसको संलग्नता रहेको निष्कर्ष निकालेका थिए । रुसीहरुले अनलाइन प्रचारबाजी गरी अमेरिकी समाजमा घृणा र द्वन्द्व फैल्याउन भूमिका खेलेको पनि दाबी गरिएको थियो । रुसीहरुको यस्तो कार्यले राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार भएकी हिलारी क्लिन्टनलाई ठूलो क्षति पुगको थियो ।

चर्चामा

सम्बन्धित समाचार