शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • ओली सरकारविरुद्ध भोलि नेपाल बन्द घोषणा

ओली सरकारविरुद्ध भोलि नेपाल बन्द घोषणा

  • बुधबार, फाल्गुन २९, २०७५
ओली सरकारविरुद्ध भोलि नेपाल बन्द घोषणा

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामाथि प्रतिबन्ध लगाएपछि एकाएक राजनीतिक हलचल मच्चिएको छ ।

पछिल्लो समय सरकारले स्वतन्त्र मधेशका अभियन्ता सिके राउतलाई मुलधारको राजनीतिमा ल्याएको भन्दै आलोचना खेपिरहेकै बेलामा विप्लव समूहमाथि वार्ता गरी समाधान खोज्नुको सट्टा प्रतिबन्ध नै लगाएपछि थप आलोचित भएको छ ।

सरकारको तर्क छ – सर्वसाधारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागेर त्रास सिर्जना गरेर राजनीति गरिँदैन । यही आधारलाई टेकेर मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारले वार्तामा समेत बोलाउँदा नआएपछि सरकारले प्रतिबन्ध लगाउन परेको जानकारी गराएका थिए ।

ओलीले बैठकमा विप्लव समूहको गलत क्रियाकलाप बन्द गर्न कठोर कदम चाल्नुपर्ने अवस्था सिर्जना भएकाले सरकार चुप लागेर बस्न नहुने बताएका थिए ।

मंगलबार दिउँसोमात्र उनले हिंसाबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँगको भेटघाटमा उनले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका थिए ।

गृहमन्त्री रामबहादुर थापा बादलको ठाडो प्रस्तावमा मन्त्रिपरिषद्मा गएको उक्त प्रस्तावमा लाहा छाप लगाइएपछि अब विप्लवले खुलेआम कुनै पनि गतिविधि गर्न पाउने छैनन् ।

विप्लवका नेताहरू भूमिगत

सरकारले प्रतिबन्ध लगाएपछि विप्लव समूहका नेताहरू एकाएक भूमिगत भएका छन् । हुन त विप्लव समूह लामो समयदेखि अर्धभूमिगत अवस्थामा छ । विप्लव लामो समयदेखि बाहिर निस्केकै छैनन् । नेताहरू सुरक्षित तरिकाले छरिएर रहेको बुझिएको छ ।

एक विप्लव नेकपाका नेताले भने, ‘हामीहरू भूमिगत नै हुनुपरेको त छैन तर सचेत भने छौं ।’ उनले फागुन ३० गते बिहीबार सरकारको कदमको विरोधमा नेपाल बन्द आह्वान गरेको र यसलाई सफल पारेर नयाँ रणनीति बनाएर अगाडि बढ्ने बताए ।

प्रतिबन्ध लगाउँदैमा विचार मर्दैन

आफूहरू निकै दुःखकष्ट सहेर अगाडि बढिरहेकाले यस्ता प्रतिबन्धले कुनै फरक नपर्ने उनले बताएका छन् । उनले भने, ‘जनयुद्ध सफल भएको नारा पिटिएपनि पीडितहरू अझै पनि उस्तै छन् अवसरवादीहरूले महल खडा गरे ।’

दुखेसो गर्दै उनले भने, ‘हामी जहिले पनि पीडित भयौं । गरीब र समाजबाट उपेक्षितका मुद्दा बोकेर हिँड्यौं अवसरवादीहरुले खाइदिए । अहिले पनि हामी जनयुद्धका एजेन्डा लिएर हिँडेका छौं । तर हाम्रै साथीहरु सत्तामा बसेर हामीमाथि राजनीति गरिरहेका छन् ।’

विप्लव सशस्त्र द्वन्द्वका समयमा पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन् । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टीभित्र बढेको विवादको कारण मोहन वैद्यसहितका नेताहरु माओवादीसँग अगल भएर नयाँ पार्टी गठन गरेका थिए ।

पछि वैद्यसँग पनि सम्बन्ध नमिलेपछि विप्लवले छुट्टै संगठन चलाइरहेका छन् । प्रचण्डले सशस्त्र द्वन्द्वको नक्कल गरेर प्रचण्ड बन्न नसकिने बताउँदै आएका छन् ।

गतिविधि भने हिंसात्मक

विप्लव नेकपाका गतिविधि भने हिंसात्मक हुँदै आएका छन् । ललितपुरको एनसेलको कार्यालयमा बम विष्फोट गराइँदा एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका छन् ।

हिंसात्मक गतिविधिबारे ती नेताले भने, ‘पहिले मान्छे मारिँदा हिँसा भएको थिएन ?’ त्यो घटनामा सर्वसाधारण मार्ने कुनै उद्देश्य थिएन । त्यो घटनाप्रति हामी दुःखी छौं । एनसेलले राज्यलाई ठगेकाले हामीले कार्वाही गरेका हौं ।’

उनले आफूहरू सही भएको भन्दै स्पष्ट पारे, ‘हामीले त सरकारले गर्न नसकेको काम गरिरहेका छौं, भ्रष्टाचारीलाई कार्वाही गरेर सरकारलाई नै सघाइरहेका छौं ।’

चर्चामा

सम्बन्धित समाचार