बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • सीके राउतले गरे सहमति उल्लंघन

सीके राउतले गरे सहमति उल्लंघन

  • सोमवार, फाल्गुन २७, २०७५
सीके राउतले गरे सहमति उल्लंघन

जनकपुरधाम : अखण्ड र स्वाधीन नेपालसहित सरकारसँग ११ बुँदे सहमति गरी विखण्डनको बाटो त्यागेका डा. सीके राउत जनकपुर आउँदा ‘स्वतन्त्र मधेसको’ नारा घन्किएको छ। सरकार र राउतबीच शुक्रबार ११ बुँदे सहमति भएको थियो। राउतको स्वागतका लागि जनकपुर विमानस्थल पुगेका कार्यकर्ताले ‘फ्री मधेस’ लेखिएको झन्डा बोकेर हिन्दी भाषामा विखण्डनको नारा लगाएका थिए।

राउतले पृथक्तावादी आन्दोलनको बाटो छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेको भनिए पनि उनका कार्यकर्ताले पुरानो नारा छाडेका छैनन्। मूलधारको राजनीतिमा प्रवेश गरेपछि आइतबार काठमाडौंबाट जनकपुर आएका राउतलाई स्वागत गर्न जनकपुर विमानस्थल पुगेका समर्थकले स्वतन्त्र मधेसको नारा लगाएका थिए। कार्यकर्ताहरू ‘नेपाली उपनिवेश मुर्दाबाद, मधेस देश लेके रहेंगे, स्वतन्त्र मधेस गठबन्धन जिन्दावाद’ लगायतका नारा लगाएका थिए।

राउतलाई सुरक्षा दिन उनका कार्यकर्ताले दस्ता खटाएका थिए। राउतको निजी सुरक्षा दस्तामा रहेका ८ कार्यकर्ता कालो ज्याकेट, टाउकोमा रातो फेटा, मुखमा कालो मास्क, आँखामा कालो चस्मा र स्वतन्त्र मधेस गठबन्धन लेखिएको झन्डा लिई विमानस्थलमा उभिएका थिए।

राउत विमानस्थलमा आउँदा उनको सुरक्षा गर्न र भीड व्यवस्थापन गर्न सुरक्षा गार्ड खटाइएको उनका समर्थकले बताए।

राउत विमानस्थलमा पुग्नुअगावै जिल्ला प्रहरी कार्यालय धनुषाबाट दुईजना सुरक्षा गार्ड भिआइपी कक्षमा पुगेका थिए। राउतलाई एकजना असई र एकजना प्रहरी जवान सुरक्षाका लागि प्रशासनबाट उपलब्ध गराइएको थियो। उनी विमानस्थलमा पुगेपछि सञ्चारकर्मीसँग कुराकानी गर्न समर्थकहरूले रोक लगाए। उनको तस्बिर खिच्ने प्रयास गर्दा कार्यकर्ताहरू सञ्चारकर्मीमाथि जाइलागेका थिए। राउतसँग प्रश्न गर्ने सञ्चारकर्मीलाई समर्थकले दुव्र्यवहार गरे। भिआइपी कक्षबाट राउतलाई उनको सुरक्षा दस्ताले घेरेर बाहिर निकालेको थियो। राउतले पनि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन्। उनी समर्थकसँगै लागेर विमानस्थलबाट निस्केर नगर परिक्रमा गर्दै घर पुगेका थिए।

चर्चामा

सम्बन्धित समाचार