शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • बैतडीको पाटनमा झडप : १८ राउण्ड हवाईफायर, ४ प्रहरीसहित ७ जना घाइते

बैतडीको पाटनमा झडप : १८ राउण्ड हवाईफायर, ४ प्रहरीसहित ७ जना घाइते

  • आइतवार, फाल्गुन २६, २०७५
बैतडीको पाटनमा झडप : १८ राउण्ड हवाईफायर, ४ प्रहरीसहित ७ जना घाइते

बैतडी, फागुन २६ ।

ग्रेडरले किचेर एक विद्यार्थीको मृत्यु भएपछि दोषीमाथी कारवाही र पीडित परिवारलाई क्षतिपूर्तीको माग गर्दै आफन्त र विद्यार्थीहरुले बैतडीको पाटनमा भइरहेको आन्दोलन उग्र बन्दै गएको छ ।

दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तीको माग गरिरहेका विद्यार्थी र मृतकका आफन्तबिच झडप हुँदा ४ प्रहरीसहित ७ जना घाइते भएका छन् । भने प्रहरीले आन्दोलन उग्र बन्दै गएपछी १८ राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरेको हो ।

आन्दोलनमा उत्रिएका विद्यार्थीले इलाका प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेको र भीडलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर र अश्रग्यास प्रहार गर्नुपरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए । इलाका प्रहरी कार्यालय भित्र घटनाका बिषयमा छलफल भइरहेका बेला एक्कासी इलाका प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ ।

आन्दोलनकर्ताको ढुंगा लागेर प्रहरी सहायक निरीक्षक चन्द्र सामन्त, प्रहरी सहायक मानसिंह पन्त, प्रहरी जवान सुरेन्द्रबहादुर बोहरा र नृपबहादुर साउँद घाइते भएका इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले बताए । घाइतेहरुको पाटनमै उपचार भइरहेको छ ।

तर विद्यार्थीहरुले भने प्रहरीले लाठीचार्ज गरेपछि मात्रै ढुंगामुढा गरेको दाबी गरेका छन् । प्रहरीले लाठीचार्ज गरेपछि आक्रोशित साथीहरुले ढुंगामुढा प्रहार गरेको विद्यार्थी तेजप्रसाद भट्टले बताए । प्रहरीको लाठीचार्जबाट तीन विद्यार्थी घाइते भएका छन् ।

प्रहरीको लाठीबाट घाइते भएका सिद्धबहादुर बोगटी, जयन्ती बिष्ट र तेज नेपालीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पाटनमा स्थिती तनावग्रस्त भएपछि थप प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

शनिवार बेलुका ५ बजेतिर पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका २ का १९ बर्षीय पूर्णानन्द पाण्डेयलाई ग्रेडरले किच्दा मृत्यु भएको थियो ।

बजार क्षेत्रमा तीव्र गतिमा गुडीरहेको ग्रेडरले अनियन्त्रित भई विमानस्थल लाईनमा पैदल हिँडिरहेका पाण्डेयलाई किचेको थियो । ग्रेडरले ठक्करले पाण्डेयको घटनास्थलमै मृत्यु भए लगत्तै चालक रतन बुढा फरार रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए ।

फरार चालकको शनिवार बेलुका देखि नै खोजी कार्य भइरहेको भएपनि हालसम्म पनि फेला नपरेको उनले बताए । उक्त ग्रेडर पाटन विमानस्थल कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनी ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले प्रयोग गरिरहेको बुझिएको छ ।

आक्राशित आफन्त र विद्यार्थीहरुले अहिले पाटन बजार बन्द गराएर दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग सुचारु गर्न तथा पीडितका माग सम्बोधनका बिषयमा इलाका प्रहरी कार्यालयमै अहिले छलफल भइरहेको छ ।

विद्यार्थी मृत्यु प्रकरण : सहमतीपछी राजमार्ग सुचारु

ग्रेडरले किचेर बैतडीको पाटनमा एक विद्यार्थीको मृत्यु भएपछि आइतवार बिहानदेखि बन्द रहेको दशरथचन्द राजमार्ग दिउँसोवाट सुचारु भएको छ । शनिवार बेलुका ५ बजेतिर पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका २ का १९ बर्षीय पूर्णानन्द पाण्डेयलाई ग्रेडरले किच्दा मृत्यु भएको थियो । दोषीलाई कारवाहीको माग गर्दै आफन्त र विद्यार्थीहरुले आइतबार बिहानैदेखि सडक बन्द गराएर आन्दोलन गरिरहेका थिए ।
पीडित पक्ष र निर्माण कम्पनीबीच पीडितलाई क्षतिपूर्ती बापत १० लाख रुपैया दिने सहमति भएपछि राजमार्ग सुचारु भएको हो ।
पीडित परिवारलाई दिने भनिएको १० लाख क्षतिपूर्ती मध्ये दुई लाख तत्कालै उपलब्ध गराउने, मृतकका परिवारलाई पाटन नगरपालिकाले किरिया खर्च उपलब्ध गराउने, घाइते विद्यार्थीहरुको उपचार लाग्ने खर्च नगरपालिकाले व्योहर्ने, ग्रेडरले भत्काएको घर निर्माण कम्पनीले बनाउने सहमति भएको हो । घटनापछि फरार रहेका चालक रतन बुढालाई सातदिन भित्र सम्पर्कमा ल्याउन निर्माण कम्पनीले सहमति भएको छ ।
सहमति पछि पीडित पक्षले मृतकको शव बुझ्ने तयारी गरेका छन् । शवको पोष्टमार्टम पछि आफन्तलाई शव बुझाइने इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिनुभयो ।
आन्दोलनमा उत्रिएका विद्यार्थी र स्थानीय बासिन्दाले अबरुद्ध राजमार्ग सुचारु भएपछि बैतडी तथा दार्चुलाबाट तराईका लागि छुटेका गाडीहरु र तराईबाट आएका गाडीहरु गन्तव्य तर्फ लागेका छन् ।
यसअघि आन्दोलन उग्र बन्दै जाँदा आन्दोलनकारीले प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेको थियो भने स्थिती नियन्त्रणमा लिन प्रहरीले १८ राउण्ड हवाईफायर र १५ सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो । आन्दोलनकारीको ढुंगा लागेर चार जना प्रहरी र प्रहरीको लाठीचार्जबाट तीन जना विद्यार्थी समेत घाइते भएका थिए ।

साभार सुदुर खबर बाट

चर्चामा

सम्बन्धित समाचार