शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश/प्रदेश
  • टीकापुर घटनापीडितले भने : बल्ल न्याय अनुभूति भयो

टीकापुर घटनापीडितले भने : बल्ल न्याय अनुभूति भयो

  • बुधबार, फाल्गुन २२, २०७५
टीकापुर घटनापीडितले भने : बल्ल न्याय अनुभूति भयो

धनगढी – साढे ३ वर्ष पहिले टीकापुरमा भएको नरसंहारका पीडितहरुले अदालतको फैसलापछि न्याय पाएको अनुभूति भएको बताएका छन्। घटनामा ज्यान गुमाउनेका आफन्तले अदालतबाट भएको फैसलाको स्वागत गर्दै ढिलै भए पनि न्यायको अनुभूति गरेको प्रतिक्रिया दिएका हुन्।

घटनामा ज्यान गुमाएका सशस्त्र प्रहरीका वरिष्ठ हवलदार ललित साउदकी पत्नी पवित्रा साउदले अदालतबाट न्याय पाएको अनुभूति गरेको बताइन्। घटनामा दोषी ठहर गर्दै ११ जनालाई जन्मकैदको फैसला भएको उनले न्यायालयलाई धन्यवादसमेत दिइन्। ललितका दाजु गोरख साउदले निर्दोषको ज्यान लिनेहरुले सजाय भोग्नुपर्छ भन्ने आफूहरुको माग रहेको भन्दै अदालतको फैसलाले न्यायको अनुभूति गरेको सुनाए।

घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक बलराम विष्टका भाइ भरत विष्टले पनि अदालतको फैसलाले न्यायको अनुभूति गरेको बताए। उनले भने, ‘दाइको हत्या भएको झन्डै साढे तीन वर्षपछि जुन फैसला भएको छ त्यसले हृयदयदेखि नै खुसी भएको छु’, नेपाल समयसँग टेलिफोनमा विष्टले भने, ‘बितेको मान्छेलाई ज्युँदो बनाउन नसके पनि फैसलाले देशमा कानुन भएको अनुभूति गरेको छु।’

सोही घटनामा ज्यान गुमाएका कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रहरी निरीक्षक केशव बोहोराका बुबा प्रेम बोहोराले पनि फैसलाको स्वागत गरे। निर्दोष कोही पनि नफसोस् र दोषीलाई नछुटोस् भन्ने चहाना रहेको सुनाउँदै उनले अदालतको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

त्यस्तै आक्रमणकारीबाट सशस्त्र प्रहरीका सहायक हबल्दार नेत्रबहादुर साउँदका टीकापुर नगरपालिका वडा नं. ९ स्थित घरमै खेलिरहेका २ वर्षीय छोरा टीकापुर घटनामा मारिएका टेकेन्द्र साउँदको टाउकोमा पेस्तोल प्रहार गरी हत्या गरिएको थियो। अदालतको फैसलापछि न्याय पाएको मृतक बालकका बाजे जंगबहादुर साउँदले बताए। दोषीलाई कारबाही होस आफ्नो माग रहेको भन्दै उनले अदालतले गरेको निर्णय सही भएको बताए। फैसलाले पीडामा थोरै भए पनि मल्हम लगाएको उनले सुनाए।

२०७२ भदौ ७ गतेको टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशव बोहोरा, प्रहरी हबल्दारद्वय श्यामबहादुर खड्का, जनक नेगी र प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार ललित साउँद र सशस्त्र हवल्दार राम विहारी थारूलाई थरूहट थारूवान पक्षधर आन्दोलनकारीहरूले नियन्त्रणमा लिई भाला, खुकुरी र धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार